२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

किरणको एकल साँझ

काठमाडौँ — लगभग ५ सय गीतमा संगीत भरिसकेका र ५ हजार जति गीतमा संगीत संयोजन गरिसकेका संगीतकार किरण कँडेल ‘किरण एकल साँझ’ मा प्रस्तुत भए ।

सधैं संगीतको ताल र सुरमा रमाउने कँडेलले दीपक कौडिण्यको रचनामा रहेको गीत ‘जति नै दु:ख परे पनि...’, डा.चिन्तामणि योगीको रचनामा राष्ट्रिय गीत ‘जय जय हे आमा...’ सामूहिक गीतजस्ता गीतहरू प्रस्तुत गरेर हललाई संगीतमय बनाए । समाजसेवी पुष्पा बस्नेतको जीवनमा आधारित गीत ‘कालो कोइलाबाटै निस्किन्छ सुन्दर हीरा हाली पंख सपनाको पुतली बन्छ झुसिलकिरा’ कँडेलले गाइरहँदा दर्शकको एकोहोरो नजर उनीमाथि नै थियो ।


गायक रामकृष्ण ढकालले कँडेलसँगको संगीत यात्राको स्मरण गर्दै ‘म सुख सयलमा भुँइ नछोडूँ’, ‘माया मीठो भन्थे अरू’, ‘आँखा रहेछ रुनलाई’ जस्ता गीतहरू प्रस्तुत गरे । गायिका वानिका प्रधान र प्रविशा अधिकारी भने लगनगाँठो गीतिसंग्रहमा रहेको विनीता उप्रेतीको गीत क्रमश: ‘छोरी तिमीलाई बिदाइ गर्न’ र ‘आयो है आयो’ गीत स्टेजमा गाएर दर्शकदीर्घालाई विवाह घरको माहोलतिर पुर्‍याए ।


सांगीतिक साँझमा ८३ वर्षीय गायक जगतमर्दन थापाले

गीतकार रत्नशमशेर थापाका रचनामा रहेको गीत ‘दु:ख नमानी’ उत्साहपूर्वक गाउँदा ताली छायो ।


राजधानीमा सांस्कृतिक संस्थानद्वारा संगीतकार कँडेलको २५ औं वर्षको सांगीतिक यात्राको अवसरमा आयोजित उक्त कार्यक्रममा थुप्रै संगीतका स्रष्टाहरूले १५ वटा गीत प्रस्तुत गरे । कलाकार मदनकृष्ण श्रेष्ठको उपस्थितिमा कँडेलद्वारा नै संगीतबद्ध तीनवटा गीतिसंग्रहरू क्रमश: ‘मेरो जननी’, ‘आत्माको अनुगुञ्जन र लगनगाँठोकोे समेत लोकापर्ण गरियो । गीतिसंग्रह ‘मेरो जननी’ मा ११ वटा राष्ट्रिय गीतहरू संग्रहित छन् ।


जसमा मदनकृष्ण र हरिवंश आचार्यलगायत थुप्रै गायकगायिकाले आवाज दिएका छन् । त्यसैगरी ‘आत्माको अनुगुञ्जन’ मा आध्यात्मिक तथा उत्प्रेरक शैलीका ५ वटा गीतमा गायिका निखिता थापाको स्वर छ । विवाह सन्दर्भका ५ वटा गीत रहेको गीतिसंग्रह ‘लगनगाँठो’ मा गायिका वानिका, प्रविशा आदिको स्वर समावेश छ ।


लोकापर्ण भएको गीतिसंग्रहलाई कृष्णहरि बराल र किरण गुरुङले समीक्षा गरे । गीतकार बरालले कँडेललाई बधाई तथा शुभकामना दिँदै संगीत क्षेत्रमा उनलाई एउटा गुलाबको रूपमा तुलना गर्दै एउटा बहुप्रतिभाका व्यक्तित्वका रूपमा व्याख्या गरे । उनले भने, ‘जसरी गुलाबबारे जति वर्णन गरे पनि एउटा गुलाब अगाडि देखाउँदा सम्पूर्ण रूप आउँछ, किरण कँडेल त्यस्तै हुनुहुन्छ । उनको स्टेजमा देखिएको संगीत, गायन कलाले उहाँलाई चिन्न सकिन्छ ।’ कार्यक्रममा नेपाली गीत संगीतका स्रष्टा रत्नशमशेर थापा, दिनेश अधिकारी, दीपक जंगम, तीर्थ कुमारी थापा उपस्थित थिए ।

प्रकाशित : जेष्ठ २, २०७६ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?