कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संग्रहालयमा सुनसान ‘दाप्चा बजार’

विपिन श्रीस

काठमाडौँ — दुई दशकअघिको व्यस्त बजार अहिले सुनसान छ । मानिस सुरक्षित र सहज जीवनयापन गर्न अन्य स्थानमा बसाइँ सरेका छन् । यो कथा काभ्रेको दाप्चा बजारको हो, जहाँ पृथ्वीनारायण शाहले काठमाडौं उपत्यकामाथि विजयी हासिल गरेपछि बसाइँ सरेका मानिसले बस्ती बसाएका थिए ।

पछिल्लो दुई दशकको अवधिमा द्वन्द्व र सहरीकरणको प्रत्यक्ष मारमा परेको दाप्चा बजारको मौलिक रौनकता हराउँदै गयो । द्वन्द्व सकियो, तैपनि रौनक फर्किएन ।


चित्रकार मुना भँडेलले दाप्चा बजारको यही स्थितिको चित्रण गरेकी छन्, ‘द मिसिङ सोल्स’ मा । तारागाउँ संग्रहालयको ‘ओपन स्टुडियो’ को दोस्रो सेसनमा चित्रकार मुनाले मल्लकालीन वास्तुकलाबाट प्रभावित दाप्चा बजारको घरका बन्द झ्यालढोका देखाएकी छन्, बजारको अहिलेको वास्तविकता पनि यस्तै छ ।


दाप्चा बजारसँग जोडिएको आफ्नो बाल्यकालको सम्झना गर्दै ‘स्क्र्याच अन फोटोग्राफी’, ‘पेन एन्ड वाटरकलर’ र ‘ओयल पेस्टल’ माध्यममार्फत हालको परिवेशलाई पेन्टिङमा देखाएकी मुनाले बजारको पुरानो व्यस्तताको झल्को दिँदै अब त्यस्तो अवस्था नभेटिने भन्दै निराशा व्यक्त गरिन् । वाटर कलरमार्फत उनले दाप्चाबासीलाई घर फर्कन आग्रह गरेकी छन् ।


‘म सानोछदाँ दाप्चा बजार गतिशील र जीवन्त थियो, मानिस बजारमा व्यस्त हुन्थे । अहिले न भीडभाड छ न त बजार जीवन्त नै,’ मुनाले बाल्यकालीन अवस्थाको स्मरण गर्दै अहिलेको दाप्चा बजारको अवस्था बताइन् ।


उनका चित्रहरूमा पुरानो जीवनशैली, कलात्मक तर बन्द झ्यालढोका र त्यसमा लागेका ताल्चाहरू देख्न सकिन्छ । बुद्धिसागरको ‘कर्णाली ब्लुज’ बाट प्रभावित भँडेलले त्यस पुस्तकमा वर्णन गरिएको कतासे बजारजस्तै आफूले बाल्यकालीन समय बिताएको दाप्चा बजारले पनि आफ्नो पहिचान गुमाएको बताइन् ।

प्रकाशित : जेष्ठ १, २०७६ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?