३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

कलामा प्रविधि र परम्परा

काठमाडौँ — सूचना प्रविधिको द्रूतगतिमा विकाससँगै विश्वले कोल्टे फेरेको छ । नेपाल यसबाट अछुतो रहने कुरै भएन । नयाँनयाँ प्रविधि आगमनले व्यक्तिको जीवनयापनमै आमूल परिवर्तन ल्याइदिएको छ ।

तर विकाससँगसँगै विनाश पनि डोरिएर आउने ठान्छन्, कलाकार मन गुरुङ । त्यसैले त उनी यतिबेला प्रविधि विकासले प्राचीन जीवन शैलीमा के कति बदलाव ल्याएको छ, पहिचान र संस्कृति कतातिर ढल्किरहेका छन् ? पुरानो पुस्तामा नयाँ संस्कृतिले कति छोएको छ ? वा नयाँ पुस्तामा पुराना संस्कृतिको प्रभाव अझै बाँकी छ/छैन ? गुरुङले यस्तै जिज्ञासाको हल खोज्ने प्रयास गरेका छन्, आफ्नो एकल कला प्रदर्शनी ‘लस्ट इन ट्रान्जेसन’ मार्फत ।


सिद्धार्थ आर्ट ग्यालरीमा बिहीबारबाट जारी प्रदर्शनीमा राखिएका पेन्टिङहरू विश्वव्यापीकरणले नेपाली समकालीन समाजमा पारेको प्रभावलाई चित्रण गर्न काफी छन् । प्रदर्शनमा राखिएका उनका २३ वटा चित्रकला, पेन्टिङमा पुरानो पुस्ता र उनीहरूले समयअनुसार समायोजन गर्दै आएका प्रत्येक पक्षहरू झल्काइएका छन् । खाली खुट्टा शिरमा पछ्यौरी राखेर उभिएका तीन वृद्धा, सँगैको पेन्टिङमा पृष्ठभूमिमा ढ्यांग्रोसहित परम्परागत भेषभूषामा देखिएकी महिलाले नेपाली पुरानो मौलिक परम्पराको प्रतिबिम्वित गरेको छ ।


अर्कोतिर, ठेकीहरू पृष्ठभूमिमा राखी चप्पल लगाएर उभिएकी महिलाको पेन्टिङले परम्परागत सामानहरू र मानिसको जीवनशैलीमा आएको परिवर्तनलाई इंगित गरेको छ । शिरमा पछ्यौरी ओढेकी महिलाको घाँटीमा क्रस अंकित लकेट लगाइएको अर्को पेन्टिङमार्फत नेपाली समाजमा रहनसहन मात्र नभई धर्ममा समेत परिवर्तन र परिमार्जन हुँदै गएको पक्षलाई देखाउन खोजेको गुरुङले बताए ।


‘पुरानो पुस्ताले समयको विकासक्रमअनुसार आफूलाई नयाँ कुरामा समायोजित गर्न खोजे पनि पुरानो शैली पूर्ण रूपले त्याग्न सकेका छैनन्’ कलाकार गुरुङले कान्तिपुरसँग भने, ‘पुरानो र नयाँ परम्पराको मझधारमा पुरानो पुस्ता रुमल्लिरहेका छन् । यही पक्ष मैले कलामा प्रस्तुत गर्ने कोसिस गरेको छु ।’


उनले आफ्नै जन्मथलो गोरखाको खोरला गाउँ पनि दस वर्षअघिको जस्तो नरहेको जिकिर गर्दै थप्छन्, ‘आँगनमा गाउने रोदी भाका सुनिन छोडिसक्यो । गाउँघरमा लगाउने गुरुङ भेषभूषाका लुङ्गी र पटुकी, घलेक अचेल लगाउनै छोडिएको छ । हामीले मात्र होइन, गाउँमा विदेशीहरू आउजाउ भएपछि हाम्रा बाहरूले पनि दौरासुरुवालको सट्टा पाइन्ट, सर्ट र टिसर्ट लगाउन थाल्नुभएको छ । कहिल्यै चप्पल नलगाउने हाम्रा आमाहरूको खुट्टामा थरिथरिका चप्पल छन् ।’ यसरी पुरानो पुस्तामा आएको परिवर्तन र उनीहरूले स्विकारेको परिवर्तित संस्कृतिका कुराहरू नै आफ्नो पेन्टिङको मूल विषय रहेको कलाकार गुरुङ बताउँछन् ।


क्यानभासमा विभिन्न आकार प्रकार ठेकीहरू र अहिले प्रयोगमा ल्याइने प्लास्टिकका बट्टाहरू, पानीका बोक्तलहरू त्रमशः राखिएका छन् । यसको भावार्थबारे गुरुङ भन्छन्, ‘पहिले पहिले दुध, दहीका लागि माटो र काठका ठेकीहरू प्रयोग गरिन्थ्यो । अहिले मानिसहरू बजार झर्न थालेपछि ठेकीको विकल्पका रुपमा प्लास्टिकका सामानहरू प्रयोग गर्छन् ।


जुन सजिलै उपलब्ध हुनुका साथै चलाउन पनि सहज हुन्छन् ।’ गुरुङका अनुसार नयाँ पुस्ताले बाह्य संस्कारबाट भित्रिएका हरेक कुराहरू अवलम्बन गरिरहेका छन् ।


–सुशीला तामाङ

प्रकाशित : वैशाख ३१, २०७६ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?