कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चलचित्रमा पञ्चायत कथा

तनहुँ — मुलुकमा राजनीतिक परिवर्तनका लागि गुरुङ समुदायले खेलेको भूमिकालाई अहिलेको नयाँ पुस्तामाझ जानकारी गराउने उद्देश्यले गुरुङ भाषाको चलचित्र 'सवन मु' प्रदर्शनमा ल्याइएको छ । चलचित्रमा २०३६ देखि २०४६ सम्मको पञ्चायती व्यवस्था र त्यसको अन्त्यका लागि गुरुङ समुदायले झेलेभोगेका समस्यालाई चलचित्रमार्फत व्यक्त गर्न खोजिएको छ । 

भकारी इभेन्टस पोखराले नवौं प्रस्तुतिका रूपमा निर्माण गरेको उक्त चलचित्र शनिबार दमौलीमा प्रदर्शन गरिएको हो । दुई चरणमा प्रदर्शन गरिएको चलचित्र हेर्नेको घुइँचो थियो । चलचित्र हेरेपछि दमौलीकी ५३ वषर्ीया देउकुमारी गुरुङले धेरै दुःख र संघर्षपछि देशमा प्रजातन्त्र आएको बताइन् ।


'चलचित्रमा नीलो झन्डाका कुरा पनि गरिएको रहेछ,' उनले भनिन्, 'हाम्रो समुदायको भाषा, संस्कृतिका विषयमा तत्कालीन पञ्चायत व्यवस्थाले निकै अत्याचार गरेको रहेछ, त्यसको प्रतिकारका रूपमा नीलो झन्डा, नीलो कपडाको प्रयोग गरी हाम्रो भाषा, संस्कृति संरक्षणमा बाउबाजेले संघर्ष गरेको कुरा आज चलचित्र हेरेर थाहा भयो ।'


गुरुङ समुदायको पुरानो वेशभूषा, रीतिरिवाज, संस्कृतिको प्रचारप्रसार तथा विगतमा झेल्नुपरेको चुनौतीका विषयलाई समेटेर यो चलचित्र बनाएको निर्देशक कृष्णकुमार गुरुङले बताए । उनी भन्छन्, 'गुरुङ समुदायको भाषा, संस्कृति तथा २०३६ पछिको एक

दशकमा भएका राजनीतिक परिवर्तन र तत्कालीन समयमा गुरुङ समुदायमा परेको मनोवैज्ञानिक प्रभावलाई मुख्य विषय बनाई देखाउने प्रयास गरिएको छ ।'


चलचित्रमा १५ प्रतिशत मात्र संवादको प्रयोग गरिएको छ । 'हामीले संवादलाई भन्दा आर्ट अफ फिक्सनलाई प्राथमिकता दिएका छौं, गुरुङ भाषाको भनिए पनि सबैले सजिलै बुझ्न सक्ने गरी आर्टको प्रयोग गरिएकाले बुझाइमा कुनै कठिनाइ छैन,' निर्देशक गुरुङले भने । चलचित्रमा प्रेमकथाको विषय पनि समावेश गरिएको छ । रमाइलोका लागि मात्र भन्दा पनि विगतको भोगाइलाई चलचित्रको कथावस्तुमा समावेश गरी अहिलेको नयाँ पुस्तालाई जानकारी गराउनु नै चलचित्रको मुख्य उद्देश्य रहेको कलाकार गल गुरुङ -दीपु) ले बताए ।


पर्वत जिल्लाको देउपुर र लाङदी गाउँका सुन्दर हरियाली पहाडमा छायांकन गरिएको चलचित्र २ घण्टा ३१ मिनेटको छ । चलचित्रमा निशा गुरुङ, विश्वात्मा गुरुङ, तारा गुरुङ, विष्णु गुरुङ, रामबहादुर गुरुङ, दीपा गुरुङ, डीबी गुरुङ, पूर्ण गुरुङ, आमिर गुरुङ, गल गुरुङ, राजेन्द्र थापा, कमल भुजेल, सचिन थापा, अनीता गुरुङ, बाल कलाकार आरुशी गुरुङलगायतको अभिनय छ ।


राजनीतिक घटनाक्रम र लोपको संघारमा पुगेको पुरानो गुरुङ र नेपाली खस भाषालाई बुझेर अभिनय गर्दा केही गाह्रो भए पनि चलचित्रको कथावस्तुले आफ्नो समुदायले मुलुकमा राजनीतिक परिवर्तनका लागि खेलेको भूमिका, झेल्नुपरेको दमन र अत्याचारका विषयमा बुझ्ने मौका मिलेको नायिका निशा गुरुङ बताउँछिन् ।


'हाम्रो मुलुकलाई यो अवस्थामा ल्याउन हाम्रा बाउबाजेले गरेको संघर्ष अहिले इतिहास बने पनि यसलाई जोगाइराख्न तथा नयाँ पुस्तालाई जानकारी गराउन 'सवन मु' राम्रो माध्यम बनेको छ,' उनले भनिन् । पर्यटन विकास समिति तनहुँका अध्यक्ष हरिसिं गुरुङले चलचित्र तथा डकुमेन्ट्रीले कुनै पनि ठाउँको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।


–सम्झना रसाइली

प्रकाशित : वैशाख ३०, २०७६ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?