१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

मिस नेपाल वर्ल्ड २०१९ को “ताज सबै उस्तै”

विपिन श्रीस

काठमाडौं — कीर्तिपुरमा बिहीबार राति अबेरसम्म चलेको ग्रान्ड फिनालेमा व्यस्त मिस नेपाल वर्ल्ड २०१९ अनुष्का श्रेष्ठ शुक्रबार काठमाडौंको अन्नपूर्ण होटलमा आराम गरिरहेकी थिइन्  । उनीसँगै थिए, मिस नेपाल युनिभर्स प्रदीप्ता अधिकारी, मिस नेपाल अर्थ रिया बस्नेत, मिस नेपाल इन्टरनेसनल मीरा कक्षपती र मिस नेपाल सुप्रनेसनल रोज लामा  ।

मिस नेपाल वर्ल्ड २०१९ को “ताज सबै उस्तै”

प्रतियोगितामा प्रमुख निर्णायक इला शर्माले ‘अधिकार र स्वतन्क्रतासम्बन्धी धारणा व्यत्त गर्न’ सोधेको प्रश्नको उत्तर दिँदै अनुष्का मिस नेपाल वर्ल्ड बनेकी हुन् । ‘हाम्रा लागि के गरिनुपर्छभन्दा पनि हामीले के गरिरहेका छौं भन्नेमा केन्द्रित हुनुपर्ने’ जवाफसहित उनले नतिजा आफ्नो पक्षमा पारिन् ।


‘कुन ताज सबैभन्दा महत्त्वपूर्ण ?’ निकै बेरको आग्रहपछि कान्तिपुरसँग कुराकानी गरेका उपाधि विजेताको जवाफ उस्तै थियो, ‘सबैको महत्त्व बराबर छ । सबैले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने हो ।’ यद्यपि, मिस नेपाल युनिभर्स प्रदीप्ताले ‘मिस नेपाल वर्ल्ड’ बन्न चाहना लुकाइनन्, ‘मिस नेपाल वर्ल्डको टाइटलको अपेक्षा गरेकी थिए, युनिभर्स भए ।’


यसबाट अन्य उपाधिको भन्दा मिस नेपाल वर्ल्डको महत्त्व बढी छ भन्न सकिन्छ । आम बुझाइ पनि त्यही छ । तर यी पाँच ताजधारी त्यसलाई स्विकार्दैनन् । भन्छन्, ‘त्यो पहिले मिस नेपाल, फर्स्ट रनरअफ, सेकेन्ड रनरअफ हुनेजस्तो होइन नि ।’ कुराकानीको सुरुमा ‘तपाईं किन मिस नेपालमा आउनुभएको ?’ प्रश्नमा अनुष्काले भनिन्, ‘हुन त केही गर्न मिस नेपालमै आउनुपर्छ भन्ने होइन, तर मिस नेपालको ताज पहिरिएपछि पहिचान बन्छ, एक्स्पोजर पाइन्छ ।’ उनको विचारमा बाँकी चारै जना सहमत भए । तर, सपना भने सबैका आ–आफ्नै छन् ।


अनुष्का बौद्धिक पलायन रोक्न चाहन्छिन्, मानिसको क्षमता अभिवृद्धिमा काम गर्नु उनको इच्छा छ । ‘हामीले प्रविधिमार्फत विदेशमा भएका नेपालीको ज्ञान प्रयोग गर्न सक्छौं । ज्ञान र अवसरको अभिवृद्धि गर्दै स्वदेशमै अवसर सिर्जना गर्न सक्छौं, यसरी ‘ब्रेन ड्रेन’ रोक्न सकिन्छ, म त्यसको ब्रिज बन्न चाहन्छु,’ अनुष्काले थपिन्, ‘हुन त ठूलो कुरा गरी भन्ने लाग्न सक्छ, हामीले सुरुवात भने सानै कामबाट गर्छौं ।’


मिस नेपाल वर्ल्डपछि मिस नेपाल युनिभर्सले आफ्नो सपना साटिन् । नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान चिकित्साशास्त्र महाविद्यालयमा चिकित्सा शिक्षा अध्ययनरत प्रदीप्ता गर्भवती महिला र नवजात शिशुको स्वास्थ्यको क्षेत्रमा काम गर्न चाहन्छिन् ।

विश्व स्वास्थ्य संगठनको प्रमुख बन्ने महत्त्वाकांक्षी सपना बोकेकी प्रदीप्ताले तत्काल भने सौन्दर्य प्रतियोगितामा अन्तर्राष्ट्रिय ताज पहिरिने सपना पूरा गर्न प्रयास गर्ने बताइन् । मिस इन्टरनेसनल मीरालाई बोल्न मन पर्छ । थुफ्रै कार्यक्रम सञ्चालन गर्ने त्रममा नेपालका धेरै ठाउँमा पुगेकी छन् । तर, उनको सोच भने विद्यालयमा ‘माइन्डफुलनेस’ को शिक्षा कसरी दिने ? मानिसलाई कसरी खुसी बनाउने भन्नेमा केन्द्रित छ ।


मिस सुप्रनेसनल रोजलाई बालबालिकाले मजदुरी गरिरहेको विषयले पोल्छ । उनलाई बाल मजदुरको अधिकारको लागि काम गर्ने चाहना छ । भन्छिन्, ‘अहिले नै धेरै गर्न नसके पनि विद्यालयसम्म ल्याउने–पुर्‍याउने काम गर्न सक्छौं ।’


कान्तिपुरसँग झन्डै एक घण्टा गफिएका ताजधारी सुन्दरीले आफू सफल भएलगत्तै परिवार, आफन्त र सहयोगीको स्मरण गरे । ‘अरू कोही विशेष मान्छे पनि थिए कि ?’ भन्ने प्रश्नको सोधियो । मीराले प्रश्नको आशय नबुझेर केहीबेर अलमलिइन् । अनुष्काले विशेष व्यक्ति भएको स्विकारिन् । अन्यले त्यस्तो कोही नभएको जवाफ दिए । मिस नेपालपछि कलाकारिता क्षेत्रमा लागेको देख्न पाइन्छ । नायिका बन्ने या कला क्षेत्रमा लाग्ने रुचि छ कि छैन ? भन्ने प्रश्नमा रोजले आफू सेलिब्रेटी बन्न मिस नेपालमा नआएको भन्दै तत्काललाई कुनै सम्भावना नरहेको बताइन् । रियाले आफूलाई अभिनय गर्न नआउने भन्दै त्यसबाट उम्कने प्रयास गरिन् ।


विश्व स्वास्थ्य संगठनको प्रमुख बन्ने महत्त्वाकांक्षा बोकेकी प्रदीप्ताले पनि कला क्षेत्रमा लाग्ने कुनै चाहना नभएको बताइन् । अनुष्का र मीराले भने भविष्यको कुरा भविष्यकै गर्भमा छोडिदिए । अस्ट्रेलियाबाट आएकी अनुष्का र अमेरिकाबाट फर्केकी रोजलाई उतै बस्ने कि नेपालमै बस्नुहुन्छ ? भन्ने थप प्रश्नमा दुवैले नेपालमै काम गर्ने चाहनालाई दृढ रूपमा प्रस्तुत गरे ।

प्रकाशित : वैशाख २८, २०७६ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?