१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

मैदानमा मिस नेपाल

विपिन श्रीस

काठमाडौँ — अमेरिकामा अध्ययन गर्दै आएकी ललितपुरकी २० वषर्ीया शुभेच्छा अधिकारीलाई आफ्नो देशका लागि केही गर्नुपर्छ भन्ने लागिरहन्थ्यो । अध्ययनलाई निरन्तरता दिन पनि सकिने र समाजमा केही योगदान गर्न पनि सकिने मञ्च (प्लेटर्फम) को खोजीमा थिइन् उनी ।

मैदानमा मिस नेपाल

उनलाई लाग्यो, 'त्यो उपयुक्त मञ्च 'मिस नेपाल' हुन सक्छ ।' कलेज बिदा भएको अवसरमा मिस नेपालको अडिसनमा भाग लिने अवसर पनि थियो । छनोट भइन् र टप २५ मा पर्न सफल पनि भइन् । शुभेच्छा इँटाभट्टामा काम गर्न बाध्य बालश्रमिकको हितका लागि काम गर्न चाहन्छिन् । मिस नेपाल भएपछि आफ्नो उद्देश्य पूरा गर्न सहज हुने विश्वास छ उनमा । मिस नेपाल हुने भनेपछि अलिअलि डर पनि छ । भन्छिन्, 'डरले सफलतातर्फ दोहोर्‍याउँछ, अझै तयारी गर्नुपर्छ भन्ने प्रेरणा मिल्छ ।'


गीत गाउनु, नाच्नु र नाटक गर्नु काठमाडौंकी २३ वषर्ीया प्रथा अधिकारीका रुचि हुन् । सरकारी सेवामा प्रवेश गरी देशको सेवा गर्न मन लाग्छ प्रथालाई । त्यसका लागि तयारी पनि गरिरहेकी छन् । उनलाई रोजगारीका लागि बिदेसिन बाध्य भएका नेपालीको कथाले दुख्छ । उनी चाहन्छिन्, 'कामका लागि बिदेसिएका नेपालीलाई स्वदेशमै फर्काउन पाए हुन्थ्यो ।' उनी पनि आफ्नो सोचाइ पूरा गर्न मद्दत मिल्ने प्लेटर्फमको खोजीमा थिइन् । यद्यपि, मिस नेपाल बन्ने उनको सपना तीन कक्षामा पढ्दादेखिकै हो ।


भैरहवाकी संस्कृति घिमिरेले पनि मिस नेपाल बन्ने सपना देखेको धेरै वर्ष भयो । उनी पनि सपना पूरा गर्ने यात्राको अन्तिम घडीमा छिन् । 'मिस नेपाल' को विभिन्न तालिमबाट धेरै सिक्ने अवसर पाएको बताउने उनी मिस नेपालको ताज पहिरिनेमा विश्वस्त छिन् । 'मिस नेपाल जित्छु भन्नेमा विश्वस्त छु, हुनु पनि पर्छ,' आफ्नो दाबेदारी प्रस्तुत गरिरहँदा उनी यत्तिकैमा रोकिइनन् । भनिन्, 'सबै डिजर्भिङ हुनुहुन्छ ।' २५ जना प्रतियोगीकै सम्भावना उत्तिकै छ । कम्प्युटर साइन्सकी विद्यार्थी उनले मिस नेपाल बनेपछि प्राविधिक शिक्षामा काम गर्न चाहेको बताइन् ।


गर्भवती आमा र नवजात शिशुको स्व्ाास्थ्य क्षेत्रमा काम गर्न चाहने प्रदीप्ता अधिकारीको भने मिस नेपाल मात्र होइन, अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताको ताज उचाल्ने सपना छ । 'मिस नेपालको ताज जित्छु भन्नेमा आशावादी छु, आत्मविश्वास छ,' एमबीबीएस गरिरहेकी प्रदीप्ता भन्छिन्, 'यद्यपि, जितिनँ भने पनि आफूले गर्न चाहेको काममा लागिरहन्छु ।'


सानामा मिस नेपालको ताज देखेर लोभिएकी रक्षा उप्रेतीले सुन्दरता भनेको बाहिरी रूप मात्र होइन भन्ने बुझेकी छन् । उनलाई मिस नेपालको तालिमले आत्मविश्वास दिएको छ । जित्नु मात्र ठूलो कुरा होइन भन्ने सिकाएको छ । रक्षा भन्छिन्, 'ताज पहिरिनेमा आशावादी छु, पाइनँ भने पनि अगाडि बढ्छु ।' रक्षा या शुभेच्छाको मात्र होइन, २५ जना प्रतियोगीलाई नै मिस नेपालको ताज पहिरिने आशा छ, आत्मविश्वास छ । त्यसको फैसला भने बिहीबार राजधानीमा हुँदै छ ।


मिस नेपाल नभए पनि निराश नहुनेमा उनीहरू ढुक्क छन् किनभने मिस नेपालको गु्रमिङले उनीहरूलाई हरेक व्यक्ति आफैंमा प्रतिभाशाली हुन्छन् भन्ने शिक्षा दिएको छ । आयोजक हिडेन टे्रजरका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपति यसपालिको मिस नेपाल प्रतियोगी सबै उत्तिकै प्रतिभावान् रहेको बताउँछन् । 'अघिल्ला संस्करणमा अनुमान गर्न सकिने स्थिति थियो, यो संस्करणमा छैन,' उनले भने ।


कोरियोग्राफर रचना गुरुङले सबै प्रतिस्पर्धीले कडा मिहेनत गरेको बताइन् । 'तालिमका लागि समय कम थियो । त्यसका बाबजुद पनि सबै प्रतिस्पर्धीले कडा मिहेनत गरेका छन्,' उनले भनिन् । हरेक वर्ष विशेष हुने भए पनि यो वर्ष सिल्भर जुब्ली भएकाले झनै उत्साहित भएको उनले बताइन् । कक्षपतिले २५ वर्षअघि मिस नेपाल सुरु गर्दा सिल्भर जुब्लीसम्म आइपुग्छौं त भन्नेमा शंका रहेको उल्लेख गर्दै भने, 'विभिन्न कठिनाइका बीच यहाँसम्म आइपुग्यौं, एकदम खुसी छौं ।'


उनले प्रतियोगिता सुरु गर्दा भौतिक पूर्वाधार र समाजको मनोवैज्ञानिक स्थिति अहिलेको जस्तो नभएको सम्झना गरे । 'त्यतिबेला सुरु गर्दा सौन्दर्य प्रतियोगिता भनेको के हो भन्ने जस्ता जिज्ञासा थिए, अहिले अन्तर्राष्ट्रिय ताज कहिले पाउने भन्ने अपेक्षा आइरहेको छ,' कक्षपतिले भने, 'प्रमुख उपाधि नै नजिते पनि सात वर्षको अवधिमा उल्लेखनीय सफलता हासिल गरेका छौं ।' उनले सौन्दर्य प्रतियोगिताबारे चल्ने विभिन्न हल्लाप्रति इंगित गर्दै चुनौतीमा काम गर्न आनन्द लाग्ने पनि बताए । उनले यो अवधिमा सकारात्मक सुझावलाई ग्रहण गर्दै आएको र नकारात्मक टिप्पणीप्रति कुनै आग्रह पूर्वाग्रह नरहेको सुनाए ।


पच्चीस वर्षको अवधिमा झन्डै पाँच सय जना प्रतियोगीलाई तालिम प्रदान गरी उनीहरूको जीवनमा सकारात्मक परिवर्तन गर्न सफल भएको कक्षपतिले दाबी गरे । यसपालि पहिलो पटक आउटडुरमा कार्यक्रम आयोजना गरेको छ । यस वर्ष १८ सय दर्शकले कार्यक्रमस्थलबाटै अवलोकन गर्न सक्ने गरी ल्याब्रेटोरी बोर्डिङ स्कुलमा मञ्च व्यवस्थापन गरेको छ । आगामी वर्षमा उपत्यकाबाहिर जाने योजना रहेको उनले सुनाए । 'यो मिस काठमाडौं, मिस पाटन, मिस भक्तपुर मात्रै त होइन नि,' उनले भने, 'पहिले पूर्वाधार थिएन, जान्छौं भनेर पनि जान सक्थेनौं, अहिले धेरै परिवर्तन भएका छन् ।'


मेकअपलाई लिएर भएको हल्लाप्रति प्रतिक्रिया दिँदै कक्षपतिले भने, 'मेकअप त अप्सराहरूले पनि गर्थे, मध्ययुगीन समयमा पनि गर्थे, अहिले पनि आफ्नो छालाको स्वास्थ्यका लागि गर्दा हल्ला गर्नुपर्ने कारण नै के छ र ?' बेलाबेलामा आफूहरूमाथि लाग्ने आरोपमाथि जानकार रहको बताउँदै कक्षपतिले भने, 'हामीले के गरिरहेका छौं भन्नेप्रति हामी सचेत छौं, सबैलाई खुसी बनाउन सक्दैनौं, धेरै खुसी नै छन् । नभए त 'मिस नेपाल' पाँच वर्षमै बन्द हुन्थ्यो नि ।'


मिस नेपाल २०१८ शृंखला खतिवडाले पहिलेभन्दा व्यवस्थापनका पक्षमा सुधार हुँदै गएको प्रतिक्रिया दिइन् । मिस नेपाल भइसकेपछि जिम्मेवारी थपिने भन्दै आफ्नो धरातल नबिर्सीकन जिम्मेवारी पूरा गर्नुपर्ने सुझाव दिइन् ।


यो उपाधि यात्रामा रहेका २५ जना युवतीमा निशा पाठक, एलिशा जोशी, सोफिया भुजेल, रिया बस्नेत, संस्कृति घिमिरे, अनुष्का श्रेष्ठ, जेनी महर्जन, अस्मिता महर्जन, किरण थापा, प्रदीप्ता अधिकारी, नीतिका सराह कर्माचार्य, रोज लामा, सारा बजिमय, लक्ष्मी राउत, रक्षा उप्रेती, मीरा कक्षपति, जेनिशा थपलिया, पूजा श्रेष्ठ, विपना सुवेदी, शुभेच्छा अधिकारी, प्रकृति कटवाल, न्यान्सी बोगटी, शिवानी घिमिरे, सान्त्वना मालाकार तथा प्रथा अधिकारी छन् ।

प्रकाशित : वैशाख २६, २०७६ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?