बलिउडमा जाजरकोटे चेली

भीमबहादुर सिंह

जाजरकोट — भेरी नगरपालिका ३, पीपलडाँडाकी २१ वर्षीय सिजन पुनले बलिउडकी मुख्य अभिनेत्री बन्ने अवसर पाएकी छन् । अभिनेत्री सिजनको 'हर जनम मे मिलेंगे' बलिउडमा चलचित्रको हाल धमाधम छायांकन भइरहेको छ । चलचित्र पी भन्साली प्रोडक्सन हाउसले निर्माण गरेको हो । 


मुख्य अभिनेत्रीको भूमिकामा अनुबन्धित सिजनको पहिलो चलचित्र 'हर जनम मे मिलेंगे' को छायांकन आधाभन्दा बढी सकिएको छ । छायांकनको ६० प्रतिशत काम पूरा भइसकेको पुनले बताइन् ।


डेढ वर्ष पहिलेदेखि भारतको मुम्बईमा रहेर भारतीय टेलिभिजनका दुई सिरियलमा चरित्र अभिनेत्रीको भूमिका निर्वाह गरिसकेकी सिजनले पहिलो पटक ठूलो पर्दामा मुख्य नायिकाको भूमिका पाएकी हुन् । यसअघि सिजनले भारतीय टीभी च्यानल स्टार प्लसमा प्रसारण हुने 'आरम्भ' सिरियल र 'क्राइम स्टोरी लक अप' मा चरित्र अभिनेत्रीको रूपमा अभिनय गरिसकेको बताइन् । चलचित्रमा शशी शेखरको निर्देशन, प्रवीण भन्सालीको निर्माण र चन्दरको लेखन छ । चलचित्रमा दुई नायकका साथमा सिजनले अभिनय गरिरहेकी छन् ।


चलचित्रमा धनी घरकी युवतीको भूमिका निर्वाह गरेकोे सिजनले बताइन् । गाउँमा हुने अपराध र अन्यायको सिकार हुने गरिबको उद्धार गर्ने खालको भूमिका चलचित्रमा प्रस्तुत गरेको उनको भनाइ छ । सहरको विकृति र गाउँका ठूलाबडा भन्नेले गरिबमाथि गर्ने अन्यायलाई चलचित्रको विषयवस्तुमा देखाउन खोजेको उनी बताउँछिन् ।


'गाउँका सामन्त, भ्रष्टाचारी र अपराधीलाई युवतीको माया जालमा फसाएर उनीहरूलाई अपराधको सजाय दिन एक जना सुन्दर युवती सहरबाट गाउँमा गएको भूमिका निर्वाह गरेकी छु,' उनले भनिन्, 'भारतको मुम्बई र गुजरातका विभिन्न स्थानमा चलचित्रको छायांकन भइरहेको छ ।' पुनका अनुसार चलचित्र दुई घन्टा १० मिनेटको हुनेछ ।


जाजरकोटको सदरमुकाम खलंगास्थित त्रिभुवन माध्यमिक विद्यालयबाट १२ उत्तीर्ण गरेकी सिजनले जाजरकोटकै छोरी भन्न मन पराउने गरेको बताइन् । 'भारतीय चलचित्रमा अभिनय गरेर आफूलाई दुनियाँमा सफल अभिनेत्रीको रूपमा स्थापित गर्ने सपना बुनेकी छु । जीवनमा संघर्षको वास्तविकता कस्तो हुन्छ भनेर देखाउनेे रहर रहेको छ,' सिजनले हाँस्दै भनिन् ।

प्रकाशित : वैशाख २२, २०७६ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्

मन जोड्दै मैथिली नाटक

विपिन श्रीस

काठमाडौँ — 'मिता आब कोना चलब' अर्थात् 'मितज्यू अब कसरी जाने ?' नाटकको नाममै प्रश्न छ । जवाफ पाउन होइन, दिन पनि नाटक हेर्नैपर्छ । निर्देशकले दर्शकबाट जवाफको अपेक्षा राखेका छन्, जुन नाटक राजधानीको मण्डला थिएटरमा मञ्चन भइरहेको छ ।

'मिता अब कोना चलब’ नाटक प्रस्तुत गर्दै कलाकार ।तस्बिर : कविन अधिकारी/कान्तिपुर

मधेशी परिवेश, कृषिकर्म गरीखाने परिवार छन् । मधेसी समुदायको फुलचन यादवको बयलगाडा हिलोमा फस्छ । गाडा निकाल्न उनले थुप्रैसँग सहयोगको याचना गर्छन् । पाउँदैनन् । त्यत्तिकैमा पहाडी समुदायको दिलबहादुरले फुलचनलाई मद्दत गर्छन् । दिलबहादुरको मद्दतबाट प्रभावित फुलचनले मित लगाउने प्रस्ताव गर्छन् ।

जवाफमा दिलबहादुर भन्छन्, 'मित त लगाउन हुन्थ्यो तर जातै मिल्दैन कहाँ हामी ढाका टोपी कहाँ तपाईंहरू धोती ।' यो संवादले जातीय र सामुदायिक भिन्नता इगिंत गर्छ । फुलचनले भने मित लगाउन मैथिलीमै जोड गर्छन्, 'कत्ा धोती टोपीके बात करै छियै तबो टोपी झपै छइ उपर आ धोती, झाँपै छइ निच्चा, दु त झाँपैयै के न काम करै छइ' -टोपी र धोतीको के कुरा गर्छौ, जब कि धोती तल र टोपी माथि हुन्छ) ।

यसरी फुलचनको जोडबल र दिलबहादुरको भित्री आकांक्षाका कारण ती दुई रीतपूर्वक मित बन्छन् । नाटकमा मित लगाउने पहाडी संस्कार र छठ मनाउने मधेसी संस्कृति आदानप्रदानको जीवन्त चित्रण राजनीतिक-सामाजिक रूपमै निकै अर्थपूर्ण लाग्छ । नाटकले मधेस आन्दोलनपछिको तराई मनोविज्ञान बुझ्न पनि नाटकले सघाउँछ ।

नाटकले भने केहीपछि नै नयाँ मोड लिन्छ । मधेसी र पहाडी समुदायबीच द्वन्द्वको बीजारोपण हुन्छ । राजनीतिक पार्टी र युवाहरू एक अर्को समुदायप्रति आक्रोशित हुन्छन् । आन्दोलनमा सहभागी नै नभएका मितका छोराहरू फरक समुदायको निसानामा पर्छन् । घाइते हुन्छन् ।

विषम परिस्थितिमा पनि सम्हालिएका मितज्यूबीच आन्दोलनबाट सुरक्षित हुन कस्ाको घरमा बस्ने भन्ने विवाद हुन्छ । आफ्नो समुदायको डरले एकअर्काको आवास स्वीकार्न सक्दैनन् । मित लगाउँदा साटेको ढाका टोपी र पगरी फालाफल गर्छन् । मित लगाएर जोडिएको जुठो बाराबारको सम्बन्धमा फाटो आउँछ । तर पनि पारिवारिक दबाबका कारण मिल्ने प्रयास गर्छन् । के उनीहरू मिल्न सक्छन् त ? नाटक हेर्नैपर्छ ।

दोस्रो जनआन्दोलन र मधेस आन्दोलनको पृष्ठभूमिमा तयार पारिएको नाटकले पहाडी मधेसी समुदायको द्वन्द्वलाई प्रस्तुत गरेको छ । नाटक निर्देशक एवं कलाकार रामभजन कामत यो नाटकलाई पहिचानको खोजी र अहिलेको आवश्यकता भन्न रुचाउँछन् । 'देशमा विभिन्न राजनीतिक आन्दोलन हुनु अन्यथा होइन, त्यसकै बलमा गणतन्त्र र लोकतन्त्र पायाैं, तर के आन्दोलनको समयमा टुटेका मनहरूलाई जोड्याैं त ?'

नाटकको विषय र सन्देश प्रस्ट पार्न निर्देशक कामत भन्छन्, 'त्यही टुटेका मनलाई जोड्न एकअर्को समुदायको पहिचान स्वीकार्दै सम्मानको भावना जागृत गर्न चाहेका छौं, त्यही सेरोफेरोमा यो नाटक बनाएका हौं ।' नाटकले सामाजिक न्यायको निम्ति बाटो खोल्ने र मन्थन गर्ने अभिभारा बोकेको उनको भनाइ छ ।

उनले आन्दोलनको समयमा आफूमा पनि घृणाभाव उत्पन्न भएको अनुभव सुनाउँदै भने, 'हामी घृणा र निषेधमा अल्भिmएर बस्नु हुँदैन, परस्पर सहयोग र सामुदायिक सद्भावको विकास गर्नुपर्छ ।' नाटकमा निर्देशक कामतले फुलचनको भूमिका पनि निर्वाह गरेका छन् । फुलचन यादवको मित दिलबहादुरको भूमिका निभाएका कलाकार मिलन नेपालीले पनि आन्दोलनको समयमा पहाडी र
मधेसी समुदाय एकअर्काविरुद्ध लागेको स्मरण गर्दै नाटकमार्फत एकताको सन्देश दिन चाहेको बताए ।

'विराटनगरमा वर्णभेद कम भएको छ, छैन भन्दा पनि हुन्छ, हामी मिलेर बस्छौं,' नाटकको विषयलाई सामाजिक परिवेशसँग जोडदै कलाकार राजेश ठाकुरले भने । नाटकमा फुलचन यादवकी श्रीमतीको रूपमा देखिएकी कलाकार कौशिला कामतले काठमाडौंको नाटकघरमा आफ्नो पहिलो अनुभव भएको बताइन् ।

मोरङकी कौशिलाले आफूहरूले नेपाली भाषा बुझ्ने र बोल्ने गरेजस्तै पहाडी समुदायले पनि मैथिली भाषा जानिदिए नाटकको विषयवस्तु प्रस्ट हुने मात्र नभई सामुदायिक सद्भावको विकास हुने धारणा राखिन् । सात आठ वर्षदेखि नाटक क्षेत्रमा लागेकी ४३ वर्षीया कौशिलाले मधेसी समुदायमा महिलालाई हेर्ने दृष्टिकोण खुला नभए पनि आफूलाई भने श्रीमान् र परिवारबाट पूरै सहयोग रहेको बताइन् ।

नाटकको नाम नै मैथिली भाषामा भएकाले दर्शक कम भएको हुन सक्ने कलाकारहरू बताउँछन् । 'नामकै कारण दर्शकको मनमा यो त मैथली नाटक हो, बुझिँदैन कि भन्ने लाग्न सक्छ,' कलाकार सुनीता घिमिरेले भनिन् । दर्शकको रूपमा आएको चित्रकार वीरमान श्रेष्ठले नाटक हेरेपछि 'नेपाली समाजको समसामयिक विषय उत्थान नाटकमा पाएको' बताए ।

नाटकमा निर्देशक कामतसहित विकास पराजुली, भरत कार्की, सञ्जय गुप्ता, आदित्य मिश्रा, अमृता श्रेष्ठ, अमृत स्वाँर, शंकर पोखरेललगायत १२ कलाकारले अभिनय गरेका छन् । जसमध्ये जम्मा तीन महिला कलाकार छन् । महिला कलाकारको कमी भएको स्वीकार गर्दै निर्देशक कामतले विराटनगरदेखि आउँदा आर्थिक लगायतका व्यवस्थापकीय पक्षका कारण त्यसो हुन पुगेको बताए ।

प्रकाशित : वैशाख २२, २०७६ ०८:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×