३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

अभिनयमा रंगमञ्चको प्रभाव

‘रंगमञ्च फिल्ममा घुसाउन सकियो भने अलिक फरक प्याट्रन निस्कन्छ कि भनेर त्यसको प्रयोग गर्न खोजिएको छ’

काठमाडौँ — अचेल अर्गानिक फिल्म बनाउने लहरमा बढी यथार्थपरक फिल्म बन्न थालेका छन्, दर्शक पनि यस्ता फिल्ममा रत्तिरहेका छन् । पुरानै ढर्राका फिल्ममाथि ‘लाउड एक्टिङ’ को आरोप लाग्दै पनि आएको छ ।

अभिनयमा रंगमञ्चको प्रभाव

आउँदो शुक्रबार रिलिज हुन लागेको फिल्म ‘दालभात तरकारी’ का अभिनेता हरिवंश आचार्यलाई पनि यस्तै आरोप छ । फिल्मको ट्रेलर र गीत सार्वजनिक भएपछि कतिपय दर्शकले ‘लाउड’ टिप्पणी गरेका हुन् । हरिवंश स्वयं पनि यसमा अन्यथा ठान्दैनन् । ‘हो, चरित्र लाउड नै छ । फिल्म हेरेपछि अझ लाउड लाग्न सक्छ,’ अभिनेत्री निरुता सिंह पनि लाउड नै लाग्ने जानकारी दिँदै हरिवंशले फिल्मको कथा त्यसरी नै अघि बढ्ने भएकाले अवस्था लाउड नै लाग्नेखालको भएको दाबी गरे ।


‘हाम्रो पृष्ठभूमि रंगमञ्च भएकाले फिल्ममा त्यसको प्रभाव पनि परेको छ । रंगमञ्च पनि फिल्ममा घुसाउन सकियो भने अलि फरक प्याट्रन निस्कन्छ कि भन्ने हामीले प्रयोग गर्न खोजेका छौं, अब दर्शकले कस्तो मान्नुहुन्छ,’ उनले सुनाए, ‘कुनै समय टेलिफिल्म ‘१५ गते’ टेलिकास्टपछि धेरै दर्शकले गाली गर्नुभयो । के बनाएको ? यस्तो पनि टेलिफिल्म हुन्छ ? राम्रो भएन भन्नुहुन्थ्यो । त्यही टेलिफिल्म रि–टेलिकास्ट भइसकेपछि भने रुचाइयो ।’


सुरुमै धेरै आशा गरेर हेर्ने हुँदा सायद नराम्रो लागेको हुन सक्ने बताउँदै अभिनेता आचार्यले ‘दालभात तरकारी’ पनि धेरै आशा नराखी हेरेमा राम्रै लाग्ने बताए । थपे, ‘वनपाले’ आउँदा त सुरुका दिनमा मलाई बाटामा हिँड्नै गाह्रो भयो । ओभर एक्टिङ भयो, यस्तो ह्या ह्या गर्ने पनि अभिनय हुन्छ भन्ने प्रतिक्रिया आयो । पछि हेर्दाहेर्दै त्यही गजब छ भन्न थाल्नुभयो ।’


हुन त स्टेज प्रस्तुतिले जुराएको हो मह जोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) लाई । लामो समय उनीहरूको अभिनयमा रंगमञ्चको प्रभाव कायमै रह्यो, अहिले पनि निरन्तर छ । टेलिफिल्म र प्रहसनमा सनसनी मच्चाएको यही जोडीको मह सञ्चारले गत वर्ष ‘शत्रुगते’ मार्फत लामो समयपछि फिचर फिल्ममा पुनः हात हाल्यो र व्यावसायिक सफलता हात पार्‍यो । ‘दालभात तरकारी’ पनि महसञ्चारले नै बनाएको हो । फिल्मका मुख्य अभिनेता मात्रै नभई पटकथा लेखकसमेत रहेका हरिवंशले यस फिल्मलाई ‘पारिवारिक फिल्म’ भन्न रुचाए ।


‘धेरैले हास्यप्रधान फिल्म भन्ने ठानेका छन् तर म हैन भन्छु,’ हरिवंशले कान्तिपुरसँग भने, ‘कथामा खासै नौलोपना त छैन तर प्रस्तुति फरक छ ।’ उनले ‘दालभात तरकारी’ बिदेसिन लालायित, देशमा रोजगार नपाएर वा देशमा काम भएर पनि नदेखी विदेश जाने, जसको स्वदेशमै पनि काम छ र जिन्दगी राम्रै चले पनि विदेशी मोह व्याप्त छ, तिनमा आधारित छ ।’


उनले यस्तो विदेश मोह कसरी पलाउँछ, थाहा नभए पनि कुनै बेला आफैंलाई पनि अमेरिका गएर बसूँ बसूँ लागेको सुनाउँछन् । भन्छन्, ‘तर यसो विचार गरेँ, मलाई यहीँ यत्रो माया मिलेको छ, देशले यतिको सम्मान दिएको छ भने त्यहाँ गएर के गर्नु त ? यहाँ सफल नभएको भए सायद जान्थेँ पनि होला ।’ उनले कलाकार बिदेसिनुमा बाध्यता पनि हुने जिकिर गर्दै अमेरिका मोह पाल्नेकै वास्तविक घटनामा पनि फिल्म आधारित रहेको बताए ।


कलाकार किरण केसीका छोरासमेत रहेका सुदनले यसै फिल्मबाट निर्देशनमा डेब्यु गरेका छन् । फिल्ममा मदनकृष्ण, हरिवंशबाहेक किरण केसी, पुष्प खडका, आँचल शर्मा, शिवहरि पौडेल, निरुता सिंह, वर्षा राउत, प्रियंका कार्की, बसुन्धरा भुसाल, राजाराम पौडेल, जयनन्द लामा ,रवीन तामाङ, शिशिर वाङदेल, विल्सनविक्रम राईलगायत कलाकारको अभिनय रहेको छ ।


कमेडी फिल्म हैन भने पनि डबिङका बेला भने हरिवंशलाई फिल्मका दृश्यले बेलाबखत हँसाइरहेको भने सुनाउँछन् । ‘डबिङ गर्दा कतै कतै हाँसो भने उठेको छ । दृश्यको बहाव राम्रोसँग बगेको छ,’ ‘मह’ जोडीसहित गिनेचुनेका हास्यकलाकार भएपछि दर्शकले फिल्ममा हास्यरसको आशा नगर्नु र फिल्ममा कमेडी नहुनु सायद अन्याय नै हुन्छ । ‘दालभात तरकारी’ ले दर्शकलाई अन्याय भने नगर्ने बताइएको छ ।


फिल्म रिलिजको एक साताअघि मात्रै प्रियंका कार्कीको आइटम डान्स रहेको गीत ‘एन्टिबायोटिक...’ बोलको गीत सार्वजनिक भएपछि पनि अधिकांशले टिप्पणी गरेका छन् । महको फिल्ममा आइटम डान्स नसुहाएको धेरैले जिकिर गरेका छन् तर हरिवंश भने यसलाई फिल्म चलाउने हतियारका रूपमा मात्रै राखिएको स्विकार्छन् ।


‘फिल्म बनाएपछि आत्मबल अलिकति कमजोर हुँदोरहेछ । यसो गरे चल्छ कि उसो गरे चल्छ कि भन्ने लाग्ने रहेछ । यो आइटम डान्स कथाले मागेको भन्दा पनि कथालाई मगाइएको हो,’ तर पनि नृत्य भल्गर नभएकाले दर्शकले रुचाउँलान् भन्ने हरिवंशले विश्वास व्यक्त गरे ।

प्रकाशित : वैशाख १६, २०७६ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?