गमगढीको तस्बिर कथा

‘१९ जना तन्नेरी फोटोग्राफी तालिममा जुटे । गाउँबस्ती पुगे कथा खोज्न । मोबाइलबाटै तिनलाई कैद गरे अनि तस्बिर शृंखलाहरु जोडेर कथा बनाए ।’ 
राजबहादुर शाही

मुगु — ढोकाबाहिर अर्को ढोका, नानी काखमा लिइरहेकी एक युवती । हेर्दा ठ्याक्कै पानीरंगको चित्रकृति जस्तो । मोबाइलबाट खिचिएको तस्बिर हो यो ।

कलाकारहरूले मुगुको गमगढीमा मोबाइलबाट खिचिएको तस्बिर ।

काठमाडौंमा हालै सम्पन्न अन्तर्राष्ट्रिय नाटक महोत्सवमा कर्णाली कथा बोकेको नाटक ‘गर्भ छिटा’ देखाएर जिल्ला फर्किनेबित्तिकै कलाकारहरू त्यसै बसेनन् । १९ जना तन्नेरी फोटोग्राफी तालिममा जुटे । गाउँबस्ती पुगे कथा खोज्न । मोबाइलबाटै तिनलाई कैद गरे अनि तस्बिर शृंखलाहरू जोडेर कथा बनाए ।


परम्परागत गाउँले जीवनशैली ती तस्बिरहरूलाई हालै कर्णाली आर्ट सेन्टरले गमगढीमा प्रदर्शनीमा राख्यो । स्थानीय स्टुडियोबाटै एफोर साइजमा निकालिएका तस्बिरहरू फ्रेमिङ गरिएका थिएनन् । तर, विषयवस्तुको मौलिकता र कथाका आधारमा ती तस्बिरहरू अब्बल थिए ।


गाउँले जीवन झल्किने विषयवस्तुमा आधारित रहेर सदरमुकाम गमगढीमै प्रथमपटक गरिएको तस्बिर प्रदर्शनीमा ८० तस्बिर रहेका थिए, यी तस्बिर केही दिनमै विभिन्न सामुदायिक विद्यालयमा पनि प्रदर्शनीको चाँजोपाँचो पनि मिल्दै छ । ८० तस्बिरमध्ये ९ वटा तस्बिर सामाजिक सवालका कथाहरूमा आधारित थिए ।


उपल्लो मुग कार्मारोङ गाउँपालिकाकी छोर्देन लामाले ‘छोरी’ भन्ने शीर्षकमा तस्बिर कथा बनाइन् । छोरी जन्मिँदा पनि सुत्केरी आमालाई छोरा जन्माए जति नै स्याहारसुसार चाहिने सवाललाई उनले बलियोसित उठाएकी थिइन् । गाउँमा छोरा जन्मिँदा आमालाई सम्मान र छोरी जन्मिँदा अपमान गर्ने प्रवृत्तिप्रति उनको व्यंग्य थियो ।


चैन गाउँकी जन्म लक्ष्मी हमालले पनि नारी विषयवस्तु नै रोजिन् । उनले परिवारबाट एक्लिएकी महिलाको जीवनको एक्लोपनालाई तस्बिर कथामा उतारेकी थिइन् । छायानाथ रारा नगरपालिकास्थित मुर्मा गाउँका खामु विकले रारा तालमा दैनिक रूपमा पर्यटकलाई घोडा सवार गराउने एक महिलाको दैनिकीलाई मोबाइल क्यामेरामा कैद गरिन् भने फोटो प्रशिक्षार्थी ढुवा लामाले गाउँघरका खेतबारीको डिलमा पाइने सिस्नुलाई कथाको विषयको रूपमा छाने । स्थानीय महिलाले सिस्नो टिप्दै गरेको र चुलोमा पकाउँदै गरेको तस्बिरले ग्रामीण जीवन र खानपानको भिन्न कथा प्रस्तुत गरेको थियो ।


सिस्नुको विषयमा जानकारी होस् भन्ने ध्येयले फोटो कथा बनाएको उनले बताए । ‘सिस्नुबाट भिटामिन पनि पाइन्छ । यसलाई मिलाएर टिप्नुपर्छ । सामान्यतः कसरी खाने भन्ने पनि सहरमा बसेकालाई थाहा नहुन सक्छ,’ उनले भने, ‘त्यही भएर सबै जानकारी समेट्ने गरी फोटो कथा बनाएको हुँ ।’


स्थानीय उत्पादनलाई विशेष जोड दिएर पनि आफूले तस्बिर खिचेको उनले बताए । प्रदर्शनीमा राखिएको तस्बिरहरूमा बाख्राको रौंबाट बनाइने फेरुवाको विषय पनि खुलाइएको छ । वनपाखामा पाइने बानियोलाई पनि तस्बिरमा प्राथमिकता दिइएको छ । गाउँघरमा बानियोबाट विभिन्न प्रकारमा सामग्री बनाएर बिक्री गर्ने चलन पनि छ ।


गमगढीमा प्रदर्शन गरिएको तस्बिरहरूमार्फत शिक्षक, विद्यार्थीदेखि स्थानीय कर्मचारी र सर्वसाधारणसम्मले पनि आफ्नै थातथलोको विशिष्टताबारे बुझ्ने मौका पाएको कर्णाली आर्ट सेन्टरले जनाएको छ । नाटक मात्रै नभएर फोटोबाट पनि कथा बनाउन र भन्न सकिन्छ भन्ने उद्देश्यले आर्ट प्रदर्शनी गरेको कर्णाली आर्टस सेन्टरका संयोजक एवं रंगकर्मी हीराबिजुली नेपालीले बताए । ‘यहाँका युवाहरूले सिर्जना अभिव्यक्तिको वैकल्पिक माध्यम पनि समाउन भन्ने ध्येय पनि हो,’ उनले भने, ‘फोटोबाट पनि पैसा कमाउन सकिन्छ भन्ने पनि देखाउनु थियो ।’


पुरानो जनजीवन बदलिँदै नयाँतिर रूपान्तरण भइरहेको बेला रहनसहन, सम्पदा, बाटोघाटो र ग्रामीण दृश्यहरू इतिहासको रूपमा सुरक्षित राख्न पनि यस्ता प्रदर्शनी सहयोगी बन्ने हीराबिजुलीले बताए । महँगो क्यामेरा किन्न नसकेपछि मोबाइलबाटै फोटोग्राफी सिर्जनातिर उनीहरू लागेका हुन् । ‘मोबाइल आफैंमा बहु उपयोगी बनेको छ यति बेला,’ उनले भने, ‘कला, सिर्जना पनि त यहीँबाट हुन्छ ।’


यसरी खिचिएका ८० वटा तस्बिरहरू विभिन्न सामुदायिक विद्यालयमा पनि प्रदर्शनीको तयारी भइरहेको उनले जनाए । ‘तस्बिर सिकाईको गतिलो माध्यम पनि त हो नि,’ उनले भने । नाटक ‘गर्भ छिटा’ बाट चर्चा कमाएको कर्णाली आर्टस सेन्टर पछिल्लो समय गाउँबस्तीमा जनचेतनामूलक अभियान पनि उक्तिकै सत्रिय छ । प्रदर्शनीअघिको फोटो प्रशिक्षणमा भने काठमाडौं ओस्कार इन्टरनेसनल कजेल अफ फिल्म स्टुडियोका रोबिन शर्माले फोटोग्राफी तालिम दिएका थिए । प्रकाशित : वैशाख १५, २०७६ ०८:१७

प्रतिक्रिया
पठाउनुहोस्

माथि माथि शैलुङ्गेमा...

टीकाप्रसाद भट्ट

रामेछाप — ‘माथि माथि शैलुङ्गेमा चौंरी डुलाउनेलाई हत्केलामा मायाको गुराँस फुलाउनेलाई भन्दिनु है, भन्दिनु मेरो चुल्ठो खाली छ उनको, त्यो मनै जाली छ...’ 

झन्डै साढे दुई दशकअघि गायिका कुन्ती मोक्तानले गाएको यो गीत अहिले पनि जनजिब्रोमा झुन्डिएकै छ । शैलुङ चिनाऊने यो गीत शुक्रबार कुन्ती मोत्तानले शैलुङकै चुचुरोमै घन्काइन् । १ हजारभन्दा बढी सहभागीमाझ मोक्तानले गलो खोल्दा नाच्न तम्सिनेहरूको भीड लोक लाग्दो थियो ।

गीतले भनेजस्तै प्रथम शैलुङ्ग महोत्सवमा भेला भएकाहरूका हातमा गुराँस पनि थिए । त्यसै त सुन्दर शैलुङ्ग, पृष्ठभूमिमा गौरीशंकर । केहीअघि मात्रै हिउँ पग्लिएर हरिया देखिएको सयवटा थुम्काथुम्की अनि त्यही थुम्काहरूमा चरेका चौरीहरू । गुराँसका थरीथरीका फूलको बगैंचामै पुगेको आभास मिल्ने गरी कार्यक्रम स्थल तय गरिएको थियो ।

महोत्सव उद्घाटन भने पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहालले गर्ने भनिएको थियो । उनी पुग्न सकेनन् । सांसद पार्वत गुरुङ र श्यामकुमार श्रेष्ठले उद्घाटन गरे । महोत्सवमा स्थानीय परिकारसहित ६० स्टल राखिएका छन् । विभिन्न जातजातिका भेषभूषामा झाँकी, लोकगीत र नृत्यले महोत्सव हेर्नेको भीड शैलुङ्गतिर तानिहरेको छ ।

दोलखा र रामेछापको सीमावर्ती शैलुङ्गमा यति बेला मेला लागेजस्तै भएको छ । पश्चिम गणेशदेखि पूर्वमा सगरमाथा हिम शृंखलासम्मको रमाइलो दृश्य देख्न सकिन्छ यहाँबाट । ३ हजार १ सय ४७ मिटरमाथिको शैलुङ तामाङ भाषाको ‘शै’ सय र लुङ्ग (थुम्का×) बाट बनेको मानिन्छ ।

पर्यटन प्रवर्द्धनको ध्येयसाथ रामेछापको दोरम्बा, दोलखाको शैलुङ्ग र मेलुङ्ग गाउँपालिकाले महोत्सव गरेका हुन् । आइतबार सकिने महोत्सवमा शनिबार रोज मोक्तान, प्रकाश कटुवाल, शशिकला मोक्तान, सीता थापा, अविनाश घिसिङलगायतले चर्चित गीत प्रस्तुत गरे ।

प्रकाशित : वैशाख १५, २०७६ ०८:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×