२५ वर्षपछि सरुभक्त

दीपक परियार

लेखनाथ — कुनै बेला थियो, सरुभक्त नाटक लेख्थे, खेल्थे र निर्देशन गर्थे । साहित्यको हरेक विधामा कलम चलाउने उनी तिनताका नाटक निर्देशनमा खुबै जमे । ५० को दशकको सुरुवातपछि भने निर्देशनमा ब्रेक लाग्यो । लेखनलाई निरन्तरता दिइरहे ।

२५ वर्षपछि सरुभक्त

३० देखि ४० को दशकमा पोखरेली नाटकलाई जुरुक्कै उचालेका उनै सरुभक्त २५ वर्षपछि पुनः निर्देशनमा फर्किएका छन् ।


उनको लेखन र निर्देशन रहेको नाटक ‘बाकस’ पोखरामा मञ्चन भइरहेको छ । पोखरा थिएटरको प्रस्तुतिमा गन्धर्व नाटकघरमा । सरुभक्त निर्देशनको स्वाद नभुलेका दर्शक थिएटर फर्किएका छन् । नाटकका हस्तीको ‘कमब्याक’ हेर्न नयाँ दर्शक थिएटरसम्म तानिएका छन् । फेरि एकपल्ट पोखरेली नाटक सरुभक्तमय भएको छ ।


निर्देशनमा उनलाई नयाँ पुस्ताका निर्देशक परिवर्तनले सघाएका छन् । पोखरेली नाटकमा सरुभक्तलाई पहिलो पुस्ता मान्ने हो भने तेस्रो पुस्तामा पर्छन्, परिवर्तन । सरुभक्तपछि अनुप बराल, प्रकाश घिमिरे दोस्रो पुस्ताका हुन् । दुई पुस्ता मिलेर काम गर्दा सामुहिक रुपमा काम गर्ने भावना बलियो हुने ठान्छन्, सरुभक्त । ‘अहिले नयाँ प्रयोग पनि गर्न खोजिएको हो,’ उनी भन्छन्, ‘मेरो क्षमताले भ्याएसम्म काम गरेको छु ।’


पोखरेली रंगमञ्चको पुनर्जागरणपछि धेरैले उनलाई निर्देशनमा फर्कन आग्रह गरे । नाटकमा सक्रिय हुन उनीमाथि दबाब पर्‍यो । नाटक लेखिरहेकै थिए, निर्देशनलाई पनि जोडे । २०३४ मा पहिलो नाटक गर्दा उनी २२ वर्षका मात्रै थिए । एकांकी नाटक ‘डढेलोले खाएको वन’ को लेखन र निर्देशन आफैंले गरे, अभिनय पनि देखाए ।


पोखरेली युवा सांस्कृतिक परिवारको स्थापना दिवसमा मञ्चन भएको नाटकले लाहुरेको कथा बोल्यो । एक वर्षपछि युवा नाटक परिवार (युनाप) ले जन्म लियो । उनैको लेखन निर्देशनमा पृथ्वीनारायण क्याम्पसमा ‘श्राप परेको घर’ मञ्चन भयो ।


उनलाई चिनाउने नाटक थियो, ‘एउटा घरको कथा होइन ।’ २०३६ को राष्ट्रिय नाटक महोत्सवमा उनको उक्त पहिलो पूर्णांकी नाटकले उत्कृष्ट निर्देशक र अभिनयमा प्रशंसा पुरस्कार पायो । तर उनले दुवै पुरस्कार बहिष्कार गरे । ‘उत्कृष्ट नाटक घोषित हुन्छ भन्ने सबैको अनुमान थियो,’ तीन दशकअघिको क्षण सम्झँदै उनले भने, ‘चयन समूहको निर्णयप्रति असन्तुष्टि जनाएर बहिष्कार गर्‍यौं ।’ उनको नाटकमा उनीसँगै अभिनयमा थिए, अर्जुनजंग शाही, उषा शेरचन, प्रकट पंगेनी ‘शिव’, तीर्थ श्रेष्ठ । ४० को दशकसम्म युनापमै उनी सक्रिय रहे ।


त्यति बेला पोखरामा नाट्यकर्म गरिरहेका अनुप बरालसँगको सहकार्यले उनलाई लेखकका रूपमा बढी चिनायो । प्रतिविम्ब नाट्य समूहमा दुवैको जोडी जम्यो । उनको लेखन र बरालको निर्देशनमा बनेको नाटक ‘थाङ्ला’ लाई खुब रुचाइयो । २०५१ मा राजधानीको सर्वनाम थिएटरलेे गरेको अन्तर्राष्ट्रिय नाटक उत्सवमा मञ्चन भएको नाटक ‘अग्निपर्खाल’ पछि भने उनले निर्देशनबाट विश्राम लिए । अघोषित रूपमा निर्देशनबाट संन्यास लिए ।


उनी आफूलाई मूल रूपमा नाटक लेखक भन्न रुचाउँछन् । उनले पछिल्लो क्रममा लेखनलाई नै जोड दिए पनि । नाटक संग्रह ‘युद्ध ः उही ग्यास च्याम्बरभित्र’, ‘इथर’, ‘गाउँघरका नाटकहरू’, ‘बालबालिकाहरूको नाटक’ लगायत प्रकाशित गरे । ‘थाङ्ला’, ‘सिरुमारानी’, ‘निरमाया’ लगायत उनका नाटक मञ्चन भए । ‘२५ वर्षपछि आउँदा खास नयाँ अनुभूति भएको छैन,’ उनी भन्छन्, ‘नयाँ कलाकारसँग काम गर्दा केही नयाँ अनुभव बटुलेको छु, सहज रूपमै लिएको छु ।’


युवावस्थामा नाटकमा लिप्त हुँदाको रोमाञ्चक अनुभूति बिर्सेका छैनन् उनले । आफू बाँच्नुको सार्थकता रंगमञ्चलाई मान्छन् । ‘रंगमञ्च मेरो लागि एउटा छुट्टै विश्व हो,’ नोस्टाल्जिक हुँदै उनले भने, ‘त्यति बेलाको जीवन मेरो सर्वप्रिय जीवन थियो ।’


'बाकस’ मा राष्ट्रवाद

‘पागलबस्ती’ उपन्यासमा जस्तै सरुभक्तको नाटकमा पनि प्रयोगवाद झल्किन्छ । ‘बाकस’ लाई उनी समसामयिक प्रयोगात्मक नाटक भन्छन् । नाटकमा उनले राष्ट्रवादलाई बलियोसँग प्रस्तुत गरेका छन् ।


‘बाकस’ ती युवाको कथा हो, जो सपना बोकेर बिदेसिन्छन् र बाकसमा बन्द भएर फर्कन्छन् । तिनै ‘बाकस’ माथि टेकेर नेताले कसरी राजनीति गर्छन्, नाटकमा देखाइएको छ । वर्तमान व्यवस्थामाथि व्यंग्य छ । देशलाई आमाको रुपमा प्रतिविम्बित गरिएको छ । आमा आईसीयूमा हुँदा राजनीति गर्नेहरू कति गैरजिम्मेवार, लाचार र स्वार्थी हुन्छन् भन्ने नाटकमा उजागर गर्न खोजिएको छ ।


नाटकमा नेताको पछि दौडिएर लाभ लिने पत्रकार पनि छन् । निःस्वार्थ रूपमा देशको चिन्ता गर्ने पत्रकार पनि छन् । नाटकको मियोमाती पात्र छन् जो रहस्यमयी बाकस बोकेर यताउता भौंतारिन्छन् । मानिसले उनलाई पागलको संज्ञा दिन्छन् । सबै दुर्भाग्यबाट मुक्त हुने आशा त्यो बाकसभित्र बन्द छ । तर एक दिन उनको धैर्यता टुट्छ । बाकसलाई माटोमुनि गाडेर आफू पनि बिदेसिन्छन् ।


यद्यपि आशाको बाकस पुरिए पनि नष्ट हुन नदिई जोगाउने कोही न कोही निस्कने सन्देश नाटकमा छ । नाटकले भन्छ, ‘एक दिन आमालाई रोगमुक्त बनाउने सन्तान जन्मनेछ, धैर्य गर, आशा राख ।’ सरुभक्तको पुनरागमनलाई सार्थक बनाउन कलाकारले मिहिनेत गरेका छन् । वैशाख ६ बाट मञ्चन सुरु भएको नाटक २१ सम्म चल्नेछ ।

प्रकाशित : वैशाख १३, २०७६ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?