कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सगरमाथा चुचुरोमा गाउँ चिनाउने झन्डा

काठमाडौँ — मुलुकभरका सबै गाउँमा पर्यटकीय जागरणको सन्देश फैलाउने उद्देश्य बोकेर आरोही फुर्वा तेन्जिङ शेर्पा 'मेरो गाउँ, मेरो ठाउँ' अंकित झन्डालाई विश्वकै सर्वोच्च शिखर सगरमाथामा फहराउँदै छन् । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै ओझेलमा परेका पर्यटकीय थलोहरुको खोजी गर्ने देशव्यापी अभियान 'मेरो गाउँ, मेरो ठाउँ' भिडियो प्रतियोगिता अभियान हो ।

सगरमाथा चुचुरोमा गाउँ चिनाउने झन्डा

भिडियो अभियानले ओझेलमा रहेका पर्यटकीय दृष्टिकोणले महत्व मानिने गाउँठाउँ, प्राकृतिक, सांस्कृतिक, भेषभुषा, जातजातिको पहिचान, खानपान, कलालगायत विषयमा केन्द्रित पाँच मिनेटसम्मको भिडियो बनाउन सार्वजनिक आह्वान गरेको छ । जनवरी १ देखि सुरु भएको प्रतियोगिताको समयसीमा ३१ मे २०१९ सम्म रहेको छ । यो अभियान वि विल राईज फाउन्डेशन (हामी उठ्ने छौं) ले देशभर सञ्चालन गरिरहेको छ ।


फाउन्डेशनले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा १३ औं पटक सगरमाथाको आरोहण गरिसकेका गिनिज बुक अफ वर्ल्ड रेकड होल्डर शेर्पासँग अभियानको झन्डा सगरमाथामामा पठाउन लागेको हो । आरोही शेर्पाले मुलुकको प्रत्येक गाउँ ठाउँमा पर्यटन जागरण सन्देश फैलाउने अभियानको प्रयासअनुरुप आरोहणको १४ औं पटकको यात्रामा चुचुरोमा जान लागेकोमा खुसी व्यक्त गरे ।


राष्ट्रियसभाकी सांसद कोमल ओली, भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्य, पर्यटन बोर्डका सीईओ दिपकराज जोशी, अल्ट्रा धावक मीरा राई, पूर्वराष्ट्रिय फुटबलर एवं प्रशिक्षक राजुकाजी शाक्य, कलाकार तथा सामाजिक अभियन्ता निर्मल शर्मा, अभिनेत्री श्वेता खड्का, नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्ल, कीर्तिमानी आरोही पेम्बा दोर्जे शेर्पा लगायतले फुर्वालाई बुधबार राजधानीमा आयोजित कार्यक्रमका भिडियो च्यालेन्ज 'मेरो गाउँ, मेरो ठाउँ' अंकित झन्डा हस्तान्तरण गरेका थिए ।


समारोहमा सांसद ओलीले नेपालका गाउँ ठाउँलाई विश्वभर परिचित गराउन यो अभियान अत्यन्तै सान्दर्भिक एवं समयसांपेक्ष रहेको बताइन् । भ्रमण वर्षका संयोजक सुरज वैद्यले यो अभियानको अवधारणा नै उत्कृष्ट रहेकाले भ्रमण वर्ष २०२० पनि यस अभियानसँग जोडिएको जनाए । देशैभरबाट छानिएकामध्ये १० वटा भिडियो प्रतिस्पर्धामा रहने छन् । प्रतिस्पर्धाबाट छानिएका उत्कृष्ट भिडियोलाई १ लाख, दोस्रोलाई ५० हजार र तेस्रोलाई २५ हजार रुपैयाँको पुरस्कार रहेको छ ।


पब्लिक च्वाइस अवार्डमा पनि उत्कृष्ट एउटा भिडियोले छनोट हुने छ जसलाई १ लाख रुपैयाँकै पुरस्कार प्रदान गरिने फाउन्डेशनले जनाएको छ । उत्कृष्ट सम्पादन र लेखनतर्फ २५/२५ हजार रुपैयाँको पुरस्कार रहेको छ । उत्कृष्ट भिडियोलाई नेपाल फिल्म एकेडेमीबाट २ लाख रुपैयाँको एकेडेमिक कोर्स उपलब्ध गराइने छ ।


यसैबीच, शुक्रबारसम्म सगरमाथा आरोहणका लागि ३३ वटा आरोहण दलमा ३६२ विदेशीले अनुमति लिई त्यसतर्फ गइरहेका छन् । विदेशीबाहेक यसपटक १२ जना नेपाली पनि आरोहणमा जाँदैछन् ।


प्रकाशित : वैशाख ६, २०७६ १९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?