कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कुची र रंगमा नयाँ पिँढी

काठमाडौँ — कला, साहित्य र संस्कृतिका क्षेत्रमा प्रदेश सरकारको बेवास्तबारे बहस चलिरहेको छ । भूकम्पले आधी भत्काएको राजधानीको नक्सालस्थित सीता महलमा भने सोमबार सातै प्रदेशका कला विद्यार्थीहरू भेटिए ।

कुची र रंगमा नयाँ पिँढी

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको परम्परागत शिल्पकला विभागले सबै प्रदेशका युवा समेट्दै थांका र पौभा शैलीसम्बन्धी ज्ञान दिलाएको हो । कला कार्यशालाको तेस्रो दिन सोमबार युवाहरू कुचीको सहायताले क्यान्भासमा रंगहरू भर्न व्यस्त थिए । उनीहरूले बौद्ध र हिन्दु सम्प्रदायमा आधारित विभिन्न धार्मिक र सांस्कृतिक प्रतीकहरूलाई उतारेका हुन् । हरिततारा (भृकुटी), बुद्ध, पद्मसम्भव–देखि गणेशसम्मका फिगरलाई उनीहरूले रंग दिए ।

‘यी चित्रकलाका नयाँ प्रतिभा हुन्,’ प्रतिष्ठानको परम्परागत शिल्पकला विभाग प्रमुख एवं चित्रकार बुद्धिबहादुर गुरुङले भने, ‘नयाँ पिँढीलाई हाम्रो कला परम्परा हस्तान्तरण गर्न कार्यशाला गरेका हौं ।’ कार्यशालामा ३८ युवा सहभागी छन् । उनका अनुसार ‘१२ औँ शताब्दीदेखि चल्दै आएको पम्परागत थांका र पौभा शैली’ नेपालको आफ्नै मौलिक कला परम्परा हो । धार्मिक विश्वास र सांस्कृतिक अभ्यासको रूपमा चल्दै आएको ज्ञान परम्परालाई बजारीकरण गर्न पनि आफूहरूको ध्येय रहेको उनले जनाए । ‘समकालीन नेपाली कलामा थांका र पौभा शैलीको पम्परागत भाव आउनुपर्छ,’ उनले भने ।

कार्यशालामा भेटिए बूढानीलकण्ठका २५ वर्षे कुमार तामाङ । उनका अनुसार पौभा र थांका शैलीका चित्रकलाले नयाँ पुस्तामा आफ्नो मौलिक सभ्यता सिकाउँछ । संस्कृति, धर्म र परम्पराको मौलिक पक्षहरूको विशेष साधना यी कलाहरूमा झल्किने उनले सुनाए । ललितकला क्याम्पसमा अध्ययनरत २१ वर्षे सुजनवीर बज्राचार्यले पनि सही थपे ।

बजारमा नेपाली मौलिक कला खोज्नुपरे पौभा र थांकाको नाम आउने बताउँदै सरकारले यतातिर चासो देखाउनुपर्ने उनको आग्रह थियो । उता सप्तरीबाट सहभागी २२ वर्षीया चाँदनीकुमारी यादवको गुनासो भिन्न छ । तीनदिने कार्यशाला पर्याप्त नहुने बताउँदै प्रतिष्ठानबाट आगामी दिनमा अझ विस्तृत कार्यशाला हुनुपर्ने उनले सुझाइन् ।

बितेका डेढ दशकदेखि परम्परा र आधनिकता दुवैमा टेकेर कलाको क्यानभासमा रमाइरहेका छन् चित्रकार । कलाकार भूमिराज चौलागाईं थांका र पौभा शैलीलाई धर्म र शास्त्रका कुरा चित्रमा व्याख्या गर्ने माध्यमका रूपमा लिन्छन् । थांका र पौभा शैलीका चित्रकलालाई फरक रूपमा लिइए पनि दुवैमा उस्तै विधि, शैली र धर्मशास्त्रीयका कुरा आउने ४० वर्षदेखि पौभा चित्रकलाका साधक तथा कलाकार पूर्णप्रसाद ह्योजू बताउँछन् ।

उनी भन्छन् ‘थांकामा विशेष गरी बौद्ध धर्मशात्रका कुरा समेटिने र पौभा शैलीमा हिन्दुका साथै बौद्ध धर्मशात्रका कुरा समेटिने भएकोले यी दुई शैलीलाई भिन्न कलाका मानिसले बुझदै आएका छन् । कलात्मक हिसाबले हेर्दा फरकजस्तो लागे पनि दुवैमा प्रयोग गरिने शैली र विधि एकैखालको हुन्छ ।’ उनका अनुसार अहिले बनेका आधुनिक चित्रहरूमा पनि पम्परागत पौभा र थांका शैलीको भावहरू आइरहेका छन् । समयको गतिअनुसार प्रस्तुति फरक भए पनि धर्म र शास्त्रका कुरालाई भने छोड्न नहुने उनले बताए ।

सुरुसुरुमा पौभा र थांका शैलीका चित्रहरू व्यावसायिक बन्न सकेका थिएनन् । २० को दशकयता मात्रै परम्परागत कलाको व्यावसायिकता सुरु भएको पूर्वप्राज्ञ एवं चित्रकार निमा घ्याम्जो लामा बताउँछन् । उनका अनुसार हिमाली जिल्ला आसपास शेर्पा, तामाङ, गुरुङ, थकाली जातिहरूमा सांस्कारिक रूपमै प्रचलनमा रहेको यो कला सुरुमा लामाहरूले मृतकको स्मृति स्वरूप बनाउन थालिएको थियो । त्यति बेला ‘थान्कु’ भनिन्थ्यो यस्ता चित्रलाई ।

यही शब्द पछि थांका बन्यो, जसको अर्थ अभिलेख राख्ने कला हुन्छ । ‘पहिले मूर्ति महँगो पर्ने भएकोले थांका बनाउने गर्थे तर अहिले भने मूर्तिको मूल्यभन्दा थांकाको मूल्य बढी छ,’ उनले भने, ‘अहिले थांका लाखौँ मूल्यमा बिक्री हुन्छ ।’ यति हुँदाहुँदै पनि पौभा र थांका अझै गुरुकुल शैलीमै उत्पादन भइराख्नुचाहिँ विडम्बना रहेको बताउँछन् चित्रकार रामप्रकाश श्रेष्ठ । ‘कलाकारकै जोस र जाँगरबाट मात्रै काम भइरहेको छ,’ उनले भने, ‘राज्यको प्रोत्साहन खासै छैन भने पनि हुन्छ ।’

सुशीला तामाङ

प्रकाशित : वैशाख ३, २०७६ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?