१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

हेलामा साहित्य–कला

कला संस्कृतिको संरक्षण गर्ने दायित्व स्थानीय तहको पनि हो । विकास निर्माणलगायत अन्य काममा यथेष्ट बजेट विनियोजन गरे पनि यो क्षेत्रलाई भने हेला गर्दै आएका छन् । 
प्रदेश १ ब्युरो

विराटनगर — कला, साहित्य र संस्कृति क्षेत्रलाई स्थानीय तहले बेवास्ता गरेको गुनासो सुनिन थालेको धेरै भइसक्यो । सरोकारवालाले एकै स्वरमा भन्दै छन्, ‘ विकास निर्माण र अरू काममा ठूलो रकम खर्च गरियो तर, कला संस्कृतिलाई बेवास्ता किन ?’ उनीहरूले यो क्षेत्रमा उचित ध्यान दिन पटक–पटक आग्रह पनि गर्दै आएका छन् । कतिपय स्थानमा भने त्यस्ता क्षेत्रमा गरिएको बजेट लगानी विवादमा समेत पर्ने गरेको छ ।

हेलामा साहित्य–कला

बजेट विनियोजन नगरेको भन्दै झापाको बिर्तामोड नगरपालिकाका साहित्यकारहरू स्थानीय सरकारप्रति रुष्ट छन् । उनीहरूले नगरपालिका भाषा, कला, साहित्य र संस्कृति संरक्षणप्रति गम्भीर नबनेको बताए । ‘कला, साहित्यका लागि नगरपालिका गम्भीर बनेन,’ साहित्यकार केशव आचार्यले भने, ‘स्थानीय सरकारले वास्ता नगर्दा नगरभित्रको भाषा, कला, साहित्यको विकास हुन सकेन ।’ विभिन्न कार्यक्रमहरूमार्फत मेयर/उपमेयरलाई यसप्रति ध्यानाकर्षण गराउँदासमेत उनीहरूले वास्ता नगरेको आचार्यको गुनासो छ ।


साहित्य चौतारी बिर्तामोडका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठले स्थानीय सरकार गठन भएपछि बिर्तामोडमा अहिलेसम्म कला, साहित्यका लागि कुनै काम नभएको बताए । उनले मुलुकमा कला, साहित्यको छुट्टै महत्त्व भए पनि बिर्तामोडमा त्यसतर्फ स्थानीय सरकारको ध्यान पुग्न नसकेको बताए ।


‘कला, साहित्यका लागि केन्द्रीय सरकारमा छुट्टै निकाय छ । स्थानीय सरकार भएकाले बिर्तामोडमा पनि त्यस्तै छुट्टै निकाय हुन जरुरी छ,’ उनले भने, ‘तर, यहाँ त्यस्तो निकाय भेटिँदैन । हामी नगरपालिकामा कला, साहित्यबारे बुझ्न वा कुरा गर्न जाँदा कसलाई भेट्ने भन्ने अन्योल छ ।’ कला, साहित्यमा लागेका नगरभित्रका सबै संघसंस्थाको पहिचान गरी यसको संस्थागत विकासमा नगरपालिका लाग्नुपर्नेमा श्रेष्ठको जोड छ । उनले नगरपालिकाले कला, साहित्यको विकास र प्रवर्द्धनका लागि बजेट विनियोजन नगर्नु समग्र वाङ्मय क्षेत्रका लागि दुःखद् भएको बताए ।


साहित्यकार लीला अनमोलको भनाइ पनि फरक छैन । ‘हामीले नगरपालिकाको ध्यानाकर्षण गराएका हौं । तर, नगरपालिकाले अहिलेसम्म कला, साहित्यकै लागि भनेर छुट्टै बजेट विनियोजन गरेको पाएनौं ।’ उनले भाषा, कला, साहित्य र संस्कृति संरक्षणमा स्थानीय सरकार आफैं लाग्नुपर्नेमा अवस्था त्यस्तो नरहेको बताइन् । समृद्ध बिर्तामोडका लागि कला, साहित्यको विकासको विकल्प नरहेको उनको दाबी छ । नगरपालिकाकी उपमेयर पवित्रा महतारा प्रसाईँ ले साहित्यकारहरूको असन्तुष्टि जायज नभएको बताइन् ।


उनले कला, साहित्यका लागि छुट्टै शीर्षकमा नभए पनि बजेट भने विनियोजन गरेको बताइन् । उनले लक्षित वर्ग, भाषा, कला, साहित्य, संस्कृति संरक्षणका लागि एकमुष्ठ सामाजिक विकास शीर्षकमा बजेट विनियोजन गरेको बताइन् । नगरभित्रको कला, साहित्यको विकासका लागि गर्नुपर्ने जति काम गर्न नसकेको स्वीकार गर्दै प्रसाईंले भनिन्, ‘हामीले कला, साहित्यका लागि जति गर्नुपर्ने हो त्यति गर्न नसकेको हामीलाई पनि लागिरहेको छ । तर, गर्दै नगरेको चाहिँ होइन । आगामी आर्थिक वर्षदेखि थप योजनासहितका कार्यक्रम ल्याउने तयारी गरिरहेका छौं ।’

बजेट नै छुट्ट्याइँदैन

ओखलढुंगाका अधिकांश स्थानीय तहले भाषा, संस्कृति र कलाको क्षेत्रमा बजेट नै विनियोजन गरेका छैनन् । तर अन्य शीर्षकमा छुट्ट्याइएका बजेट त्यससँग सम्बन्धित काममा भने खर्च हुने गरेको छ । ‘अन्तर्राष्ट्रिय नारी दिवसको दिन गाउँपालिकाले प्राचीन संगिनी नृत्य प्रतियोगिता गर्‍यो । जुन संस्कृतिसँग सम्बन्धित छ,’ मानेभन्ज्याङ गाउँपालिकाका प्रवक्ता रामकुमार राईले भने, ‘नारी दिवस मनाउने भनेर विनियोजन भएको बजेट भए पनि कामचाहिँ संस्कृतिसँग सम्बन्धित भएका छन् ।’


खिजीदेम्बा गाउँपालिकाका प्रमुख वेदबहादुर रोकाले समेत भाषा, कला, साहित्यसँगै शीर्षक राखेर बजेट विनियोजन नगरेको बताए । तर हालै सम्पन्न ‘थोलेदेम्बा पर्यटन महोत्सव’ मा तीन लाख रुपैयाँ बजेट विनियोजन गरेको र त्यसमा विभिन्न जनजातिका झांँकी ल्याउन आहृवान गरेको बताए । ‘झाँकी प्रस्तुत गर्न आहृवान गर्नु र सांस्कृतिक पर्यटकीय महोत्सवलाई बजेट विनियोज गर्नु पनि त्यही क्षेत्रमा काम गर्नु हो भन्ने बुझाइ छ ।’ प्रमुख रोकाले भने, ‘हामीले आदिवासी जनजाति र दलितलाई भने छात्रवृत्तिसम्मको व्यवस्था गर्न बजेट विनियोजनचाहिँ गरेका छौँ ।’


अन्य स्थानीय तहले झनै यस विषयमा बजेट विनियोजन गरेको देखिएको छैन । मानेभन्ज्याङको ५ नं वडाले भने मगर भाषा संरक्षणका लागि एक लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यसैगरी वाम्बुले मातृभाषा संरक्षण तथा पाठ्यक्रम विकासका लागि एक लाख रुपैयाँ नै बजेट विनियोजन गरेको छ ।


सोही गाउँपालिकाले आदिवासी जनजातिसँग सम्बन्धित बजेट शीर्षकबाट वाम्बुले राई भाषाको राष्ट्रिय कविता गोष्ठी गरेको छ । ‘विकास भन्नेबित्तिकै भौतिक विकास मात्र विकास हो भन्ने बुझाइ जनप्रतिनिधि र सर्वसाधारणको छ,’ प्रगतिशील लेखक संघका जिल्ला अध्यक्ष युवराज दाहालले भने, ‘भाषा, कला साहित्य, संस्कृतिको विकास पनि विकास हो भन्ने बुझाइ नभएसम्म यस क्षेत्रमा बजेट विनियोजन हुने अवस्था देखिन्न ।’


साहित्य र कलासँग सम्बन्धित स्रष्टाहरूको सम्मानका लागि भन्दै तत्कालीन सांसद विकास कोष र निर्वाचन क्षेक्र विकास कार्यत्रमबाट सदरमुकाममा स्रष्टा पार्क निर्माणाधीन छ । संघीय सांसद यज्ञराज सुनुवारको पहलमा स्रष्टा पार्कका लागि २५ लाख रुपैयाँभन्दा बढी विनियोजन भएको छ । युगकवि सिद्धिचरण श्रेष्ठको जन्मथलो भए पनि सिद्धिचरण नगरपालिकाले नै बजेट विनियोजन गर्न सकेको छैन ।


बहुसांस्कृतिक भवनको तयारी

ताप्लेजुङको फुङलिङ नगरपालिकाले यसै आर्थिक वर्षमा लक्षित समुदायका लागि रकम एकमुष्ठ छुट्याएर राखेको छ । अघिल्ला वर्षमा फरक(फरक समुदायलाई रकम विनियोजन गरे पनि उल्लेखनीय काम नभएपछि नगरपालिकाले एकमुष्ठ रकम राखेको हो । लक्षित समुदायको लागि ५२ लाख रुपैयाँ एकमुष्ठ राखेको जानकारी दिँदै नगरपालिकाका सूचना अधिकारी भूपाल सेन्दाङले उक्त रकमले जग्गा खरिद गर्ने योजना रहेको बताए । त्यसका लागि दुई चरणमा सूचना प्रवाह गरी निवेदन आहृवान गरिसकिएको छ । १२ वटा निवेदन परेका छन् ।


फुङलिङ नगरपालिका १० फुरुम्बुका वडा अध्यक्ष गमबहादुर फुरुम्बुको संयोजकत्वमा अन्य वडाध्यक्ष तथा कर्मचारी सम्मिलित बजेट कार्यान्वयन समिति पनि बनाइएको छ । फुरुम्बुका अनुसार यो रकमले कम्तीमा २० रोपनी जग्गा खरिद गर्ने तयारी छ ।


निवेदन परेकामध्ये तीनवटाको सर्टलिस्ट बनाएको र अब तीनै जग्गाको वास्तविक मूल्य माग गर्ने फुरुम्बो बताउँछन् । उनका अनुसार फुङलिङ नगरपालिकाको राजमार्ग छुने जग्गालाई प्राथमिकतामा राखिएको छ । निवेदनमा प्रारम्भिक मूल्य उल्लेख गर्न र निःशुल्क दिन सक्ने जग्गासमेत उल्लेख गर्न भनिएको छ ।


निवेदन परेकामध्ये कतिपय भीर, पाखो र पहरोसमेत भएकाले जग्गाको ‘सर्टलिस्ट’ गर्नुपरेको उनले बताए । ‘सर्टलिस्टमा परेका जग्गाहरू रोक्का छन् कि छैनन् भनेर मालपोतमा सूचना मागेका छौं,’ फुरुम्बुले भने, ‘सूचना प्राप्त हुनासाथ आवेदन मागेर प्रक्रिया अघि बढाउँछौं ।’


अर्जुन राजवंशी (बिर्तामोड), कुम्भराज राई (ओखलढुंगा) र आनन्द गौतम (ताप्लेजुङ)

प्रकाशित : चैत्र ३०, २०७५ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?