बिस्कालाई 'होस्टे हैंसे...'

लीला श्रेष्ठ

भक्तपुर — सयौं दर्शनार्थी । युवा जोसिलो स्वरमा भन्दै छन्, ‘होस्टे हैंसे हाहा...।’ भीडबीच विश्वनाथ भैरवको रथ कुदिरहेको छ । सांस्कृतिक एवं ऐतिहासिक महत्त्वको बिस्केट (बिस्का) जात्रा जोगाउन युवाहरू यसरी अग्रसर भएका हुन् ।


बुधबार भक्तपुरको दृश्य हेर्दै गरेका तौमढी युथ क्लबका निवर्तमान अध्यक्ष विजय धौभडेल किन खुसी थिए भने, हरेक वर्ष रथ तान्ने युवाहरूको सहसभागिता बढ्दो छ ।

बुधबारैदेखि भक्तपुरमा बिस्केट भैरवनाथको रथ तान्न सुरु भएको छ । यो क्रम अब आठ रात नौ दिन धुमधाम चल्नेछ । बिहानै भैरवनाथको नित्यपूजापछि सुरु जात्राको पहिलो दिन काठैकाठले प्यागोडा शैलीमा निर्माण गरिएको तीनतल्ले रथमा भैरवनाथको मूल देवता र बेताल देवता राखिएको छ । खड्ग, तरबार, निसान राखिसकेपछि साँझ रथ तान्न सुरु भएको हो । यो रथ तौमढीस्थित पाँचतले मन्दिर परिसरबाटथने (माथिल्लो) बाट क्वने (तल्लो) टोलमा तानेर मनाइन्छ ।

पहिलो दिन तौमढीबाट तान्न सुरु रथ क्वाछें, सुकुलढोका, गोल्मढी हुँदै दत्तात्रय पुर्‍याएर पुनः तौमढी ल्याई बोलाछें नासमना हुँदै गहिटी पुर्‍याइने प्रचलन छ । रथको अगाडि भागमा ६ र पछाडि ४ वटा लामो लठारो (डोरी) समातेर दुवैतर्फ ‘होस्टे हैंसे...हाहा’ गर्दै आआफ्नो तर्फ तानेर जात्रा मनाइन्छ । तानातान गर्दै हजारौं स्थानीयले आआफ्नो टोलमा लैजान खोज्छन् । धौभडेलका अनुसार यसरी तानेर रथलाई तल्लो वा माथिल्लो टोल जहाँ लैजान सकिन्छ, त्यस टोलको विजय भएको मानिन्छ । ‘रथ तानातान गर्नु नै यस जात्राको मुख्यआकर्षण हो,’ उनले भने, ‘बिस्केट जात्राको पहिलो दिन पृथ्वीमा देउता आगमन हुने विश्वास गरिन्छ ।’

तेस्रो दिन गःहिटीमा भैरवनाथलाई बलि चढाई गुठी संस्थानद्वारा सरकारी पूजा गरिन्छ । उक्त बलि पूजाको मासु प्रसादका रूपमा लाकुलाछेंबासीलाई बाँडिन्छ । बिस्केटको चौथो दिन बिहान तालाक्वस्थित कुमाले टोलमा ल्हामरु म्हः (हात नभएको) लिंगो उभ्याइन्छ भने साँझपख तान्त्रिक विधिर्पूवक दशकर्म गरी ५५ हात लामो लिंगो भेलुखेलस्थित ल्योसिङखेलमा उभ्याइन्छ । पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको पूर्वसन्ध्यामा लिंगो उभ्याउने गरिएको धौभडेलले बताए । भैरवनाथको प्रतीक मानिने लिंगोको शीर्ष भाग र हातहरू भने नीलो कपडाले बेरिएको हुन्छ ।

उनका अनुसार लिंगोको कोखामा झुन्ड्याइएका दुई ध्वजालाई वीरध्वजा र विश्वध्वजा भनिन्छ । एक जोडी ध्वजा फुकाएपछि एउटा सम्वत्सर फेरिने हुनाले बीचमा फुकाएर हेर्न हुँदैन भन्ने धार्मिक मान्यता छ । ‘लिंगो उभ्याउन बाँडिएका आठवटा डोरीलाई अष्टमातृकाको प्रतीक मानिन्छ,’ उनले भने, ‘बिस्केट जात्रा हेर्नाले शत्रुनाश हुन्छ भन्ने धार्मिक मान्यता छ । त्यसकारण यो शत्रुहन्ता जात्रा पनि हो ।’ बिस्केटको पाँचौं दिन अर्थात् नयाँ वर्ष वैशाख १ गते लिंगो ढालिन्छ ।

त्यसको लगत्तै खंला टोलमा भैरवनाथ र भद्रकालीको रथलाई एकआपसमा जुधाइने परम्परा छ । साँझपख दुमाजु देवीको जात्रासमेत गरिन्छ । मल्ल राजाहरूले भैरवनाथ र भद्रकालीको रथ जात्रा समावेश गरी तान्त्रिक पूजा विधिविधानसमेत थप गरी आठ रात नौ दिनसम्म जात्रा मनाउने प्रचलन थालिएको इतिहासविद् पुरुषोत्तमलोचन श्रेष्ठले बताए ।

उनका अनुसार नेपाल सम्वत् ५०० को अमरकोषमा ‘विश्वकेतु’ शब्दको पर्याय ‘विसिक’ दिइएको छ । हालसम्मको अन्वेषणमा ‘विश्वजात्रा’ को पहिलो उल्लेख टौमढी टोलमा रहेको यक्ष मल्लको अभिलेख (नेपाल सम्वत् ५६१)मा भेटिएको छ । नेपाल सम्वत् ६४१ को भूमिसम्बन्धी एउटा तमसुक (ताडपत्रमा ‘विसकजात्रा’ को नाम पनि उल्लेख छ । श्रेष्ठका अनुसार भक्तपुर राजदरबारको नेपाल सम्वत् ८०८ र ८१८ को जितामित्र मल्ल र भूपतीन्द्र मल्लका अभिलेखहरूमा भने ‘विस्क्यात’ उल्लेख छन् । नेवारहरू भने अहिले पनि यो जात्रालाई ‘विस्का’ भन्छन् ।

टाउको दुखाइ
पछिल्लो समय बिस्केट जाक्रामा रथ तानातान गर्ने त्रममा झडप हुने र जनधनको क्षति हुने भन्दै जिल्ला प्रशासन, सुरक्षा निकाय लगायतको चासोको विषय बन्ने गरेको छ । यसअघि भैरवको रथ तान्ने क्रममा माथिल्लो र तल्लो टोलबीच ढुंगा हानाहान नै भएको थियो । साँझको समयमा सुरु हुने भएकाले रातिसम्म रथ तानातान गरिन्छ ।

रातको समयमा मादक पदार्थ सेवन गर्नेको जमात उत्तिकै हुँदा झैझगडाले अवस्था पैदा भएको हो । जात्रा मर्यादित बनाउन भक्तपुर नगरप्रमुख सुनील प्रजापतीको संयोजकत्वमा सुरक्षा निकाय र जाक्रासँग सम्बन्धित व्यत्तिहरूको ११ सदस्यीय कार्यदल नै गठन गरिएको छ । महिना दिनअघि नै बिस्केट जात्रा हुने टोलटोलमा सिसी क्यामेरा जडान गरिएको छ ।

त्यसैगरी, बिस्केट जात्राकै अवसरमा मध्यपुरथिमिको लायु, बालकुमारी, चपाचो, नगदेश, बोडेमा वैशाख २ गते मनाइने ३२ खटसहितको अबिर जात्रा मनाइने गरिन्छ । मध्यपुरथिमि बोडेमा जिब्रो छेड्ने जात्रा भव्यताका साथ मान्ने प्रचलन छ । जिल्लाको चारवटै नगरको विभिन्न स्थानमा खट जात्रा मनाइने गरिन्छ ।

प्रकाशित : चैत्र २८, २०७५ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्

धमाधम गुरुङ फिल्म

आश गुरुङ

लमजुङ — पोखराको कल्पना सिनेमा हलमा गतहप्ता राजु गुरुङद्वारा निर्देशित गुरुङ फिल्म ‘साली ने औमो’ (साली र भेना) प्रदर्शन भयो । त्यसको भोलिपल्टै (चैत २१) मा मिडटाउन ग्यालरिया हलमा कृष्णकुमार गुरुङद्वारा लिखित तथा निर्देशित ‘सबन मु’ (सन्चै छु) देखाइयो ।

आउँदो शुक्रबार र शनिबार भमरकोट पार्टी प्यालेस रामबजारमा ‘स्यु रु’ (काँचो धागो) प्रदर्शन हुँदै छ । बिन्दवासिनी फिल्म मन्दिरमा वैशाख ७ मा जसु गुरुङद्वारा निर्देशित ‘म्ले क्यु’ (बिर्साउने पानी) प्रदर्शन हुने तय भइसकेको छ । तीन सातामा लगातार चार छुट्टाछुट्टै गुरुङ फिल्म प्रदर्शनमा ल्याइएको यो पहिलो पटक हो ।

धेरैवटा फिल्म प्रदर्शनमा आउनु पक्कै पनि राम्रो हो । तर, मातृभाषी फिल्मको साँघुरो बजारका कारण कतिपयले यसलाई अस्वस्थ प्रतिस्पर्धाको संज्ञा दिएका छन् । फिल्मकर्मी भूपालकुमार गुरुङले यसलाई ‘गाइजात्रे’ पारा भनेका छन् । प्रविधिको सहजतासँगै पछिल्लो समय धमाधम गुरुङ फिल्महरू बन्न थालेपछि यसको व्यवस्थापनमा भने समस्या पैदा भएको हो ।

गुरुङ फिल्म एसोसिएसन नेपाल (जिफान) का अध्यक्ष गिरिप्रसाद गुरुङका अनुसार ‘पहिले वर्षमा एउटा पनि फिल्म बन्दैन थियो, अहिले महिनामा कम्तीमा पनि एउटा फिल्म बनिरहेको छ । २३ वर्षअघि ‘पातें’ (माइली) र ‘न्हाम्स्यो न्होंरी’ (कुहिरोभित्र) निर्माणपछि गुरुङ फिल्मको सुरुवात भएको थियो । अध्यक्ष गुरुङका अनुसार त्यसयता २ सयबढी गुरुङभाषी फिल्म बनिसकेका छन् ।

फिल्म धेरै बन्न थालेपछि जिफानले केहीअघि एउटा सहरमा तीन साताको अवधिमा एउटा फिल्म मात्रै प्रदर्शन गर्ने नियम नै बनाएको थियो । पछिल्लो समय दुई साताको अवधिमा एउटा मात्रै फिल्म प्रदर्शन गर्ने नियम बनायो । भीआईपी सोका लागि भने कुनै समयावधि नतोकी निर्माताबीचमै अपसी समझदारी गर्ने नियम बनाएपछि समस्या पैदा भएको फिल्मकर्मीको गुनासो छ ।

भूपालका अनुसार भीआईपी सो नै अहिलेको समस्या हो । समय पर्खिरहनु नपर्ने भएकोले यो सोलाई धेरैले आआफ्नो पहुँच देखाउने माध्यम पनि बनाएका छन् । ‘जेसुकै भए पनि हानिनोक्सानी गुरुङ फिल्मलाई नै छ,’ उनले फेसबुकमै लेखेका छन्, ‘भीआईपी सोकै नाममा फिल्म देखाउन तँछाडमछाड हुँदा एकै घरमा चार फिल्मको टिकट पुग्ने अवस्था बन्दै छ ।’

अर्का फिल्मकर्मी विमल गुरुङले पनि जिफानले व्यवस्थापन गर्न नसकेको आरोप लाएका छन् । ‘पाँच वर्षअघि भ्रें (पाहुना) फिल्म युनिटले दुई साता अगाडि टिकट बजारमा ल्याउँदा हामीले जिफानसँग पेनाल्टी (जरिवाना) तिरेका थियौं,’ उनले भने, ‘अहिले दुई सातामै ३/४ वटा फिल्म प्रदर्शन गर्दा केही पनि नहुने किन ?’ उनले गुरुङ फिल्म प्रदर्शन पनि नेपाली फिल्मजस्तै विस्तारै ‘जसको शक्ति, उसकै भक्ति’ को परिपाटीतिर अघि बढिरहेको टिप्पणी गरे ।

आमदर्शकमा सहज ढंगले फिल्म पुर्‍याउनेभन्दा पनि भीआईपी सोमार्फत छिट्टै पैसा बटुल्नेतिर लागेको देखिन्छ फिल्मकर्मीहरू । अघिल्लो साता प्रदर्शित गुरुङ फिल्म ‘सबन मु’ हेर्न दर्शकले २ हजार रुपैयाँको टिकट काटे । त्यस्तै ‘साली ने औमो’ फिल्म हेर्न दर्शकले २ सयदेखि ५ सयसम्म टिकट काटे । शुक्रबार प्रदर्शन हुन लागेको फिल्म ‘स्यु रु’ का लागि १ हजार रुपैयाँको टिकट बनाइएको छ ।

फिल्म प्रदर्शनका लागि आफूखुसी टिकट बनाएर घरघरै लगेर भिडाउने गरिएपछि ‘टिकट महँगो भयो’ भन्ने गुनासो आएको फिल्मकर्मीहरू नै बताउँछन् । तर, टिकट दिएर चन्दा असुलेझैं गरिने यस कार्यप्रति जिफान भने मौन छ । ‘सबन मु’ का निर्देशक कृष्णकुमार गुरुङ यस्तो कार्य गैरकानुनी मान्छन् । ‘तर समस्या पनि त राज्य तहबाटै छ,’ उनले भने, ‘सेन्सरको नाममा नेपाली फिल्म बराबर पैसा तिर्नुपर्छ । हामीलाई पब्लिक हल उपलब्ध हुँदैन । बुकिङ सो गर्न ४५/५० हजार रुपैयाँ तिर्नुपर्छ । अनि भीआईपी सोका लागि त्यसै बाध्य छौं । फिल्म देखाउनेमाक्रै होइन, सांस्कृतिक कार्यत्रमसहित डिनर वा लन्चको पनि व्यवस्थाहुने भएकाले टिकट दर ठीकै रहेको उनी बताउँछन् ।

‘पब्लिक सो र भीआईपी सो फरक नै हुने’ दाबी गर्छन्, ‘सबन मु’ का लेखक निर्देशक कृष्णकुमार गुरुङ । अर्का फिल्मकर्मी भोजबहादुर गुरुङ भने फिल्म दर्शकका लागि सहज बनाइनुपर्छ । ‘मैंरिमो’ (सम्झिरहेछु) लाई उनले सय र एक सय ५० रुपैयाँको टिकट काटेर फिल्म हलमै हेर्ने व्यवस्था मिलाएका थिए र फिल्म एक साता चलेको पनि थियो ।

‘दर्शकका लागि त यस्ता प्रयोग पो गर्नुपर्छ,’ उनले भने, ‘थोरै पैसा भएका शुभचिन्तक पनि फिल्म हेर्ने मौका पाउँछन् नि ।’ अहिले भीआईपी सोले गुरुङ फिल्मको क्रेज घट्दै गएको उनको दाबी छ । जिफानका संस्थापक अध्यक्ष माओत्से गुरुङका अनुसार फिल्म हेर्ने संस्कृतिकोविकास गुरुङ समुदायमा राम्रोसँग हुन सकेको छैन ।

‘आफन्त, छरछिमेकलाई घरघरै गएर टिकट भिडाएर फिल्म हेर्न आग्रह गर्नुपर्ने अवस्था राम्रो हैन,’ उनले भने, ‘बरु सरकारसित सहज हल उपलब्ध गराउन माग गर्नुपर्छ ।’

प्रकाशित : चैत्र २८, २०७५ ०८:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्