१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

संगीतकर्मी थुलुङको निधन

भीम घिमिरे

पोखरा — पोखरेली संगीतकर्मी श्रीमान थुलुङको दुर्घटनामा निधन भएको छ । बुधवार बेलुकी करिब साढे ९ बजे पोखरा-१२ शितलादेवीमा भएको स्कुटर दुर्घटनामा उनको ज्यान गएको हो ।

संगीतकर्मी थुलुङको निधन

उनले चलाएको ग१२प ६७९ नम्बरको स्कुटर पर्खालको रेलिङमा ठोक्किएर उनी नहरमा खसेका थिए । पानीको भेलले बगाएको एक घण्टापछि उनलाई कुँडहरको दुई कुलाको मुहानमा फेला पारेको थियो । लगत्तै उनलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिए पनि त्यहाँ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । बिहीबार दिउँसो शवको पोस्टमार्टमपछि उनको अन्तिम संस्कार गरिने भएको छ ।


संगीत संयोजन, प्रशिक्षण र सांगीतिक कार्याक्रम आयोजनामा सक्रिय ५० वर्षीय थुलुङको निधनले पोखरेली संगीतकर्मी स्तब्ध र शोकमा छन् । सोलुखुम्बुको सल्यान नेचा-३ बाट पोखरा आएका उनले सुरुमा संगीत प्रशिक्षण लिएका थिए ।


त्यसयता उनी प्रशिक्षण केन्द्र सञ्चालन, सांगीतिक कार्यक्रम आयोजना र नयाँ प्रतिभाको खोजी गर्ने काममा सक्रिय थिए । उनले सञ्चालन गरेको तराना म्युजिक सेन्टरले वर्षेनी नयाँ प्रतिभाका लागि सांगीतिक कार्यक्रमको आयोजना गर्दै आएको छ । उनले दर्जनौ गीतमा संगीत दिएका छन् ।


थुलुङ मिलनसार र आफ्नो क्षेत्रमा क्रियाशील व्यक्तित्व भएको संस्कृतिकर्मी तीर्थ श्रेष्ठले बताए । 'पोखरामा रहेर उनको सक्रियता आफ्नै प्रकारको थियो,' उनले भने, 'थुलुङको निधनले पोखराको सांगीतिक क्षेत्रमा अपुरणीय क्षति भएको छ ।'


संगीतकर्मी रामभक्त जोजिजुले गाउने, गीतलाई धुनबद्ध गर्ने र नयाँ प्रतिभाको खोजी गरेर मञ्च दिने काम गर्दै आएका थुलुङको असामयिक निधनले पोखरेली सांगीतिक फाँटको बलियो स्तम्भ ढलेको बताए । सँगै एल्बम गरेका अनुराग अधिकारीले थुलुङको क्रियाशीलता सबैका लागि प्रेरक रहेको बताए ।


थुलुङका पाँच छोरीहरू छन् । कान्छी छोरी स्मृति राइ युवा पुस्तामाझ उदीयमान गयिकाका रूपमा छिन् ।

प्रकाशित : चैत्र २८, २०७५ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?