कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘क्याप्टेन’ लाई बेलायतमा रेड कार्पेट

नवीन पोखरेल

लन्डन — ‘पहिला म हिरोइनका लागि फाइट गर्थें अहिले देशका लागि,’ तालीको गडगडाहटसँगै उनी थप्छन्, ‘हुन त म क्रिस्टियानो रोनाल्डो पनि हैन, र मेस्सी पनि । केवल चलचित्रमार्फत खेल क्षेत्रको संघर्ष र यसमा देखिएका विकृति विसंगति अन्त्यका लागि प्रयत्न गरेको हुँ ।’ 

‘क्याप्टेन’ लाई बेलायतमा रेड कार्पेट

सप्ताहन्त प्रिन्सेस हल अल्डरसटमा अभिनेता बाबु भुवन केसीले बनाएको फिल्म ‘क्याप्टेन’ को रेड कार्पेट प्रिमियर सोमा आकर्षण बने वर्तमान पुस्ताका चर्चित नायक अनमोल केसी । साथमा थिए, अभिनेता तथा निर्माता भुवन केसी । ‘यति टाढा आएर पनि तपाईंहरूले देखाउनुभएको माया र साथले खुसी छु,’ लजालु स्वभावमा स्टेजमा भन्दै थिए अनमोल ।


पूर्वक्याप्टेन हरि खड्कासँग तीन महिना प्रशिक्षण लिएर ‘क्याप्टेन’ को अभिनय थालेको अनुभव पनि सुनाए अनमोलले । सो सुरु हुनुअघि प्रमुख अतिथि राजदूत दुर्गाबहादुर सुवेदीले अनमोललाई नेपाली फिल्मकै क्याप्टेनका रूपमा उदाएको कलाकारका रूपमा चित्रण गरे । ‘एउटा अग्लो, सग्लो र उज्ज्वल नक्षत्रको रूपमा स्थापित अभिनेता भुवन र अनमोल हामीमाझ हुनु गौरवको विषय हो,’ राजदूतले भुवन–अनमोलको प्रशंसामा केही समय खर्चिए ।


त्यसो त यहाँका नेपाली फिल्मप्रेमी दर्शक बाबु–छोरा हल प्रवेश गर्नेबित्तिकै झन्डै दस मिनेट उनीहरूसँग सेल्फी लिन तँछाडमछाड गरे । सोपछि पनि उनीहरू दर्शकको घेराउमा परे । सपन इन्टरटेन्मेन्ट लिमिटेड यूकेका निर्देशक सपन राईले क्याप्टेन सो आयोजना

गरेका हुन् ।


बेलायतवासी नेपालीलाई गुणस्तरीय फिल्म देखाउने आफ्नो उद्देश्य रहेको जनाउँदै उनले बेलायतका अन्य सहरमा पनि उक्त सिनेमा देखाइने जनाए । करिब अढाइ वर्ष अघि पनि भुवन केसी आफू निर्देशित पहिलो फिल्म ‘ड्रिम्स’ को रेड कार्पेट प्रिमियर सोका लागि छोरा अनमोलका साथ बेलायत आएका थिए । ‘क्याप्टेन’ ले नेपालमा पनि राम्रो चर्चा बटुलेको थियो । उक्त फिल्म प्रधानमन्त्री केपी ओलीले समेत सपरिवार कमलपोखरीस्थित सिटी सेन्टरमा गएर हेरेका थिए ।

प्रकाशित : चैत्र २६, २०७५ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?