रंगमञ्चमा पूर्वी हावा

'जोखाना’ पूर्वी नेपालबाट चलेको किराती सभ्यताको लयदार हावा हो । द्वन्द्वकालको परिवेश बोकेको हुनाले यो हावाको लय कहिले प्रेमिल बन्छ, कहिले पीडादायी त कहिले हुन्डरीजस्तै । 
फूलमान वल

काठमाडौँ — विश्व रंगमञ्च दिवसको साँझ । बुधबार अनामनगरस्थित मण्डला थिएटरमा नाटक ‘जोखाना’ हेर्न पुगेका थिए, रंगकर्मीहरू मदनदास श्रेष्ठ, पुष्कर गुरुङ, अनुप बराल, दिया मास्के लगायत । पूर्वी नेपालको समाज, संस्कृति, पात्र र कथाव्यथा समेटिएको ‘जोखाना’ हेरिसकेपछि मदनदासले भने, ‘किरात समुदायमै पुगेको भान भयो ।’

अनामनगरस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको नाटक 'जोखाना’ मा अभिनय गर्दै कलाकार । तस्बिर : बिजु महर्जन/कान्तिपुर

डेढ घण्टाको नाटक सकेर बाहिर निस्किँदै गर्दा अनुप बरालले हत्तपत्त निर्देशक किरण चाम्लिङलाई अंगालोमा बेरे । धाप मारे । यसअघि उपेन्द्र सुब्बाको कथाकृति ‘लाटो पहाड’का केही सिर्जनामाथि पुर्वी नेपालकै रंग दिएर मंचन गरिसकेका किरण प्रफुल्लित बने । मुस्कुराए ।

उनको मुस्कानमा मौलिकता थियो, जसरी नाटकभित्र कलाकारहरूले आफ्नोपनलाई अब्बल रूपमा पस्केका थिए । त्यहाँ साकेला सिली थियो, च्याब्रुङको ताल थियो, प्रकृति झल्किने स्याउलाका कलिला मुना, केराका पात, निंगालो घारी अनि धागो कातेजस्तै सम्बन्धहरू जोडिने र चुँडिने आदिवासी विम्ब र प्रतीकहरू थिए ।

नेपाली रंगमञ्चमा मौलिकताको बहस चलिरहेको बेला मण्डला थिएटरमा मञ्चन भइरहेको ‘जोखाना’ पुर्वी नेपालबाट चलेको किराती सभ्यताको लयदार हावा हो । द्वन्द्वकालको परिवेश बोकेको हुनाले यो हावाको लय कहिले प्रेमिल बन्छ, कहिले पीडादायी त कहिले हुन्डरीजस्तै ।

कहिले साकेलाले प्रेमको भाका हाल्छ, कहिले पीडा बोल्छ । बिजुवा (सेलेमी) हातमा खुकुरी र स्याउलाको मुठा बोकेर बौलाएर उफ्रिएको जस्तै लाग्छ । किनभने पुराना ज्ञान, विश्वास र सभ्यता कुल्चिएका छन् । लत्याइएका छन् । बिजुवा किरात सभ्यताको एक प्रतीक हुन् ।

एक दशक चलेको सशस्त्र द्वन्द्वको हुन्डरीले १७ हजार जनाको ज्यान उडायो । हजारौंको परिवारमा द्वन्द्वको त्यो हुन्डरी पस्यो । थुप्रै बेपत्ता भए । ‘जोखाना’ त्यही समयको एउटा बेपत्ता परिवारको कथा हो । अहिले पनि बेपत्ता परिवारको आवाज उठ्छ बेला बखत ।

द्वन्द्वकालमा भएको भौतिक र जनसांख्यिक क्षतिको लेखाजोखा सुनिन्छ गोष्ठी र सेमिनारहरूमा । तर, त्यो समय भएको सांस्कृतिक क्षतिको कतै बहस भएको सुनिँदैन । नाटक ‘जोखाना’ ले नसुनिएको यही सांस्कृतिक क्षतिको कुरा गर्छ । हाम्रो परम्परा, जीवनशैली र समाजबाट लोप भएका गीत, नृत्य, आदिवासी अभ्यास र ज्ञानको कुरा गर्छ । माटो, संस्कृति र लाहुरे संस्कारबीचको अन्तरद्वन्द्वको पनिसवाल उठाउँछ ।

नाटकको मूल कथ्यमा छन् जसबहादुर राई र धनसुवा । गाउँका सबैजना मिलेर साकेला नाच्दै गर्दा एक दिन जसबहादुरले बाटो बिराए । बाटो बिराउनु एउटा विम्ब हो । बाटो बिराएर अर्कै बाटो हिँडेपछि मान्छे पनि अर्कै बन्छ । जसबहादुर अर्कै बने या बनेनन्, नाटकले खुलाउँदैन ।

तर, उनले बाटो बिराएर लामो समय गाउँ नफर्केपछि परिवार र गाउँलेहरूले भोग्नुपरेको समस्याले नाटकलाई गति दिन्छ । यही बेला भाउजूलाई देवरले मन पराएर साथ दिन खोज्छन्, जुन किरात सभ्यताको अर्को सुन्दर अवेशष हो । यद्यपि पूर्वेली ठाडो किरात लवजका कारण दर्शकले देवरप्रति भिन्न दृष्टिकोण बनाउन सक्छन् ।

हराएको मान्छे लामो समय नफर्केपछि किरात प्रचलनअनुसार गरिने मृत्यु संस्कार परम्परा निकै लोभलाग्दो लाग्छ नाटकमा । यस्तो बेला आत्म बोलाउने र त्यसलाई बाटो देखाउने बिजुवा (सेलेमी) को भूमिकामा अनिल सुब्बाले गरेको अभिनयले दर्शकलाई पनि भिन्न ऊर्जा दिन्छ । काजकिरिया सकियो । द्वन्द्वको घाउ बिर्सिन थाले मानिसले ।

गाउँमा ट्याक्टर चल्ने बाटो पुग्न थाल्यो । तर, अपांग बनेका जसबहादुर राई अचानक फर्किआए । धनसुवा त बूढो फर्केपछि खुसी हुने नै भइन् । तर, बिजुवाले बोलाएको आत्म के थियो ? कसको थियो ? के हजारौं वर्ष पुरानो मुन्धुम आधारित आत्म बोलाउने परम्परा झूट हो ? दर्शकको मनमा प्रश्न पस्छ ।

यहीँनेर चलाखीपूर्ण ढंगले आफ्नो दृष्टिकोण घुसाएका छन् नाट्य रूपान्तरण गरेका राजन मुकारुङले । कुनै बेला ‘सिर्जनशील अराजकता’ बोकेर हिँडेका यिनले किरात सभ्यतामा महत्त्वपूर्ण मानिने चुलोको तीनवटा ढुंगामार्फत भनेका छन्– ‘अहिले सारा संसार जल्यो, गल्यो । मान्छेहरूको विश्वास टुट्यो । तीन चुला पनि पुज्न छाडे ।

जोखाना त हंसहरूले भन्ने हुन्, पितृहरूले भन्ने हुन् । आत्महरूले भन्ने हुन् । अहिले आत्माहरू भडकिएका छन् । पितृहरू नै भडकिएका छन् । कुनै पनि कुरा ठीक ठाउँमा छैन भने जोखाना कसरी मिल्छ ?’ पितृहरू भडकिएको यो सन्दर्भ नाटकको निकै शक्तिशाली विम्ब हो । पितृ अर्थात् सभ्यता ।

आयतीत ज्ञान, बजार र बाहिरिया विश्वासले घर गर्दै गरेको तेस्रो विश्वको सीमान्तकृत समाजमा आफ्नै सभ्यताप्रति अविश्वासको प्रश्न उठ्नु स्वाभाविक छ । ठूला ज्ञान परम्परा र सभ्यताले साना ज्ञान परम्परा र सभ्यतालाई गलत सावित गर्दै गइरहेको समयमा किरात बिजुवाले गरेको जोखाना कसरी मिल्छ ?

नाटक हेरेपछि दशक लामो सशस्त्र द्वन्द्व कसका लागि थियो ? अर्को गम्भीर प्रश्न उठ्छ । जसबहादुर राई अपांग बनेर घर फर्के । पिँढीमा बसेर लामो श्वास ताने । के उनी बन्दकी राखेको जग्गा फिर्ता गराउन युद्ध लडेका थिए ? या, कसैको राजनीतिक प्रयोगको सिकार बने ? सबै प्रश्नको उत्तर एउटै सिर्जनामा आउनुपर्छ भन्ने छैन ।

तर, नाटकको अन्त्यतिर ‘समय आएपछि समुद्रमा पुगेको माछा पनि उभौली लाग्छ’ भन्दै जसबहादुरले घर छाडेको दृश्य भने निकै अर्थपूर्ण लाग्छ । त्यो समय कसरी आउला ? शीतलता छरेर आउला या हुन्डरी बनेर ? जवाफ नेपाली राजनीतिको भावी दिशाले बताउला । नाटकले भने धेरै परसम्म सोच्ने सुविधा दिन्छ दर्शकलाई ।

बीएस राईको कथाकृति ‘हिउँमाझी’ को कथा ‘जोखाना’ आधारित हो नाटक । नाट्य रूपान्तरण क्रममा संवादलाई लयात्मक र काव्यिक बनाउन निकै मिहिनेत गरेका छन् राजन मुकारुङले । पूर्वेली नेपाली समाजको सांस्कृतिक चिनारी मुन्धुमी गीतको प्रयोगले नाटक अब्बल बनेको छ ।

पात्रको मनोदशा बलियोसित दर्शकसँग सञ्चार गराउन गीतले सघाउँछ । कथाको बहाब बाटो खन्ने दृश्यमा पुग्दा मूलकथाबाट चिप्लिएर हल्का बहकिएको भान हुन्छ । यद्यपि किरात शैलीको हसिमजाक, ठाडो संवाद र शारीरिक हर्कतले दर्शकलाई मनोरञ्जन दिन्छ । गीत लेखनमा राजनलाई अभिनेता दयाहाङ राईले पनि सघाएका छन् ।

पात्रहरूको मनोवैज्ञानिक उतारचढावलाई बल पुग्ने गरी प्रकाश गन्धर्व, दिवान रसाइली र आशिष शाहीले प्रत्यक्ष संगीत दिएका छन् । धनसुवा बनेकी संगीता थापाको धीमा शरीर भाषा र अभिनयले किरातीपन दिन्छ । पुष्प लामा, निशा पाख्रिन, सञ्जीव राई, मनहाङ लावती, पार्वती राई, कवि राई, सुदर्शन क्षेत्री, दिवान रसाइली, मनिकुमार राईले पनि राम्रो अभिनय गरेका छन् । यी कलाकारलाई यथार्थपरक अभिनयसँगै केही मौलिक शरीर भाषा दिएर निर्देशक चाम्लिङले काम देखाएका छन् ।

सेट डिजाइन सामान्य भए पनि किरात सभ्यता र प्रकृतिसँगको त्यसको सामीप्यता झल्किन्छ । युद्धका बेला प्रयोग गरिएको छायादृश्यपनि रोचक लाग्छ । पात्रको मुड र कथाको परिस्थिति अनुसारको प्रकाश परि–कल्पना पनि प्रशंसा–योग्य छ । वैशाखपहिलो सातासम्म नियमित मञ्चन हुने नाटक ‘जोखाना’ नेपाली रंग–मञ्चको मौलिक रंग–मञ्चीयप्रस्तुति हो ।

प्रकाशित : चैत्र १४, २०७५ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्

कुन्देलिङ गुम्बामा भृकुटी र चिनियाँ राजकुमारी

फूलमान वल

सिन्धुपाल्चोक — लस्करै मूर्ति । गौतम बुद्ध, आर्य अवलोकितेश्वर, रातो भैरव, महाँकाल अनि पद्मसम्भवको । दायाँबायाँ र पछिल्तिर भित्तामा भने भृकुटीदेखि तत्कालीन चिनियाँ राजकुमार वेनचेङसम्मका चित्र सजिएका छन् । यो हो सिन्धुपाल्चोक लिसंखु (ह्रिस्याङ्गो) स्थित छ्योइफेल कुन्देलिङ गुम्बा ।

सिन्धुपाल्चोक लिसंखुस्थित छ्योइफेल कुन्देलिङ गुम्बामा रहेका भृकुटी (बाँया) र चिनियाँ राजकुमारी वेनचेङका चित्र । तस्बिर : कान्तिपुर

लिच्छविकालमै बनेको यो ऐतिहासिक गुम्बाका भित्तेचित्रले यति बेला भने नयाँ रंग पाएका छन् ।

सात वर्ष लगाएर दार्जिलिङका खाइबा (चित्रकार) हरूले यो पुरानो गुम्बाको भित्ता चिटिक्क पारेका हुन् । गुम्बाका सचिव समेत रहेका लेखक बुद्ध योञ्जनका अनुसार दार्जिलिङका चर्चित भित्ते चित्रकार पासाङ घेलाको नेतृत्वमा चार कालिगडको मेहनतबाट कलाकृति तयार पारिएको हो ।

कथा छ घ्याङको
नेपाल सरकार, गुम्बा व्यवस्थान तथा बौद्ध दर्शन प्रवद्र्धन समितिको अनुसन्धानअनुसार यो गुम्बा एक हजार वर्ष पुरानो हो, जति बेला मल्लकाल सुरु भएकै थिएन । त्यति बेला काठमाडौंपूर्वमा छ ठूला घ्याङ थिए । लिसंखुको यो गुम्बासहित दोलखाको चरिघ्याङ, रामेछापका पोङदी र ढोङमे अनि काभ्रेका नाङरे र बाङथली । यी अहिले पनि अस्तित्वमा छन् । लिसंखुको गुम्बा भने तामाङ समुदायको योञ्जन थरको उत्पत्ति कथासँग पनि जोडिन्छ । संगीतकार गोपाल योञ्जन, भाषाविद् अमृत योञ्जन, पूर्वराजदूत गणेश योञ्जनदेखि पहिलो कान्छा सगरमाथा आरोही शम्भु तामाङसम्मको लहरो यही थलोसँग जोडिन्छ ।

गुम्बाका सचिव बुद्ध योञ्जनका अनुसार, यो गुम्बा सुरुमा मास्तिर जंगलबीच थियो, प्राचीन काष्ठकला सहित । १९९० को भुइँचालोले केही असर गरेको यो गुम्बा तल भन्ज्याङमा सर्‍यो, ७३ वर्षअघि ।

‘तैपनि हजार वर्ष पुरानो मूर्तिकला, छ्योर्तेन र थाङका चित्र बचाउने कोसिस गरियो,’ उनले भने, ‘अहिले नयाँ भित्तेचित्र बनाइएका भए पनि स्केच चाहिँ हजार वर्ष पुरानै हो ।’

डोल्मा र डोल्कर
दार्जिलिङका कालिगडले सात वर्ष लगाएर कोरेका भित्ते चित्रहरूमध्ये डोल्मा र डोल्करको कथा रोचक छ । तामाङहरू भृकुटीलाई डोल्मा भन्छन् । थाङका चित्रको भाषामा– हरिततारा । बजारमा चलेको नाम चाहिँ ग्रीनतारा । सातौं शताब्दीमा तिब्बतका राजा थिए स्रङचङ गम्पो ।

‘उनैसित बिहे भएर गएपछि थाङका चित्रहरूमा भृकुटीको महिमागान गरिन थाल्यो,’ थाङका चित्रकारसमेत रहेका बुद्धले भने, ‘यसको अर्को कारण तिब्बतमा बौद्ध दर्शन प्रचारप्रसार पनि हुन सक्छ ।’

भृकुटीसित तामाङ समुदायको नाता चाहिँ के हुन सक्छ ? डोल्माको नामबाट पुकारिने भएकाले पनि भृकुटीसित आफ्नो समुदायको खास सम्बन्ध हुन सक्ने अड्कल गर्छन् लिसंखुमै जन्मी हुर्केका पूर्वप्राज्ञ एवं चित्रकार निमा घ्याम्जो वल ।

गुम्बाको भित्तामा अन्य चित्रसँगै तत्कालीन चिनियाँ राजकुमारी वेनचेङको पनि चित्र छ । बेइजिङको तत्कालीन ताङ वंशकी राजकुमारी वेनचेङलाई कान्छी रानीका रूपमा भित्र्याएका थिए राजा स्रङचङ गम्पोले । थाङका चित्रको भाषामा उनलाई श्वेततारा (ह्वाइट तारा) भनिन्छ । अर्को नाम हो डोल्कर । चित्रकारहरू उनको शरीरमा सेतो रंग पोत्छन् । डोल्माको शरीरमा भने हरियो पोत्छन् । ‘तिब्बतीहरू भृकुटीलाई बेल्सा भन्छन् भने वेनचेङलाई ग्यासा,’ निमाले भने, ‘तामाङहरूले कोर्ने थाङकामा डोल्मा र बेल्साको चित्र अनिवार्य हुन्छ ।’

बुद्धका अनुसार, बौद्ध परम्परामा भित्ते चित्रको महिमा ठूलो छ । कुनै समय बौद्ध दर्शन प्रचारप्रसारका रूपमा जन्मिएको यस्तो प्रकृतिको भित्ते चित्र र थाङका कला गुफाकालीन ‘केभ आर्ट’ को परिमार्जित फर्म नै हो ।

‘हरेक गुम्बाको भित्तामा यस्ता चित्रहरू देख्न सकिन्छ,’ हालैको दिन साहित्यिक संस्था तामाङ डाजाङका तर्फबाट लेखक तथा कविहरूको टोलीलाई गुम्बामा निम्त्याएका बुद्धले भने, ‘इतिहास, सभ्यताको प्रतीक र संस्कृति बचाइराख्न यस्ता चित्रहरूले काम गरिरहेका छन् ।’

तामाङ समुदाय आठौं शताब्दी (पद्मसम्भवको समय) मा बौद्धमार्गी बनेका हुन् । त्यही भएर पनि गुम्बामा पद्मसम्भवको पनि चित्र छुट्दैन । पद्मसम्भवको अर्को नाम गुरु रिन्पोछे हो । यसबाहेक गुम्बा सजाउने क्रममा भित्तामा आर्य अवलोकितेश्वर, महाँकाल, बुद्ध जिवनीजस्ता चित्रहरूको पनि प्रयोग हुन्छ ।

‘बुद्ध जीवनी’ चित्रमा चाहिँ बुद्ध जन्मेदेखि ज्ञान प्राप्ति र महापरिनिर्वाणसम्मका घटनाक्रम चित्रकै माध्यमबाट देखाइन्छ । बुद्धका अनुसार, लिसंखुको छ्योइफेल कुन्देलिङ गुम्बाको विशेषता के हो भने यो लिच्छविकालीन बौद्ध कला–परम्पराको निरन्तरता पनि हो । कुराकानी क्रममा उनले लिब्छविकालीन छ्योर्तेन पनि देखाए । ढलोट माध्यममा बनेको यस्तो
छ्योर्तेन आधुनिक गुम्बामा पाइँदैन ।

अनि मूर्ति बोल्छ
२०७२ को भूकम्पअघि नै यो लिच्छविकालीन गुम्बाको जनस्तरबाटै जीर्णोद्धार सुरु भएको थियो । भूकम्पले गुम्बाको पछाडि भित्ता नराम्रोसँग भत्काइदियो । त्यसलाई पनि उठाएर अहिले नयाँ भित्ते चित्रसहित गुम्बाको भित्री र बाहिरी सजावट चिटिक्क पारिएको छ । कान्छा सगरमाथा आरोही शम्भुका तामाङका अनुसार जीर्णोद्धार क्रममा ह्रिस्याङगो सेवा समाजको भूमिका पनि महत्त्वपूर्ण रह्यो ।

समाजमार्फत नै भारतीय दूतावासले अहिले गुम्बा परिसरमा लामाका लागि आवासीय भवन र शौचालय मात्रै हैन, गुम्बाको आँगनमै ढुंगा बिछ्याएर कलात्मक बनाइदिएको छ । बौद्ध परम्परामा कुनै पनि सम्पदा या मूर्तिहरू निर्माण/पुनर्निर्माणपछि प्राणप्रतिष्ठा गर्ने (ह्राप्ने) चलन छ । अहिलेसम्म यी चित्र र मूर्ति निर्जीव छन्, प्राण भरिएको छैन । ‘केही महिनामै र्‍हाप्ने पूजा हुन्छ,’ बुद्धले भने, ‘त्यसपछि यी चित्र र मूर्ति जीवित भएको मानिनेछ । अनि भगवान्जस्तै उनीहरू बोल्ने विश्वास गरिन्छ ।’

प्रकाशित : माघ २५, २०७५ ०९:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्