रंगमञ्चमा पूर्वी हावा

'जोखाना’ पूर्वी नेपालबाट चलेको किराती सभ्यताको लयदार हावा हो । द्वन्द्वकालको परिवेश बोकेको हुनाले यो हावाको लय कहिले प्रेमिल बन्छ, कहिले पीडादायी त कहिले हुन्डरीजस्तै । 
फूलमान वल

काठमाडौँ — विश्व रंगमञ्च दिवसको साँझ । बुधबार अनामनगरस्थित मण्डला थिएटरमा नाटक ‘जोखाना’ हेर्न पुगेका थिए, रंगकर्मीहरू मदनदास श्रेष्ठ, पुष्कर गुरुङ, अनुप बराल, दिया मास्के लगायत । पूर्वी नेपालको समाज, संस्कृति, पात्र र कथाव्यथा समेटिएको ‘जोखाना’ हेरिसकेपछि मदनदासले भने, ‘किरात समुदायमै पुगेको भान भयो ।’

रंगमञ्चमा पूर्वी हावा

डेढ घण्टाको नाटक सकेर बाहिर निस्किँदै गर्दा अनुप बरालले हत्तपत्त निर्देशक किरण चाम्लिङलाई अंगालोमा बेरे । धाप मारे । यसअघि उपेन्द्र सुब्बाको कथाकृति ‘लाटो पहाड’का केही सिर्जनामाथि पुर्वी नेपालकै रंग दिएर मंचन गरिसकेका किरण प्रफुल्लित बने । मुस्कुराए ।


उनको मुस्कानमा मौलिकता थियो, जसरी नाटकभित्र कलाकारहरूले आफ्नोपनलाई अब्बल रूपमा पस्केका थिए । त्यहाँ साकेला सिली थियो, च्याब्रुङको ताल थियो, प्रकृति झल्किने स्याउलाका कलिला मुना, केराका पात, निंगालो घारी अनि धागो कातेजस्तै सम्बन्धहरू जोडिने र चुँडिने आदिवासी विम्ब र प्रतीकहरू थिए ।


नेपाली रंगमञ्चमा मौलिकताको बहस चलिरहेको बेला मण्डला थिएटरमा मञ्चन भइरहेको ‘जोखाना’ पुर्वी नेपालबाट चलेको किराती सभ्यताको लयदार हावा हो । द्वन्द्वकालको परिवेश बोकेको हुनाले यो हावाको लय कहिले प्रेमिल बन्छ, कहिले पीडादायी त कहिले हुन्डरीजस्तै ।


कहिले साकेलाले प्रेमको भाका हाल्छ, कहिले पीडा बोल्छ । बिजुवा (सेलेमी) हातमा खुकुरी र स्याउलाको मुठा बोकेर बौलाएर उफ्रिएको जस्तै लाग्छ । किनभने पुराना ज्ञान, विश्वास र सभ्यता कुल्चिएका छन् । लत्याइएका छन् । बिजुवा किरात सभ्यताको एक प्रतीक हुन् ।


एक दशक चलेको सशस्त्र द्वन्द्वको हुन्डरीले १७ हजार जनाको ज्यान उडायो । हजारौंको परिवारमा द्वन्द्वको त्यो हुन्डरी पस्यो । थुप्रै बेपत्ता भए । ‘जोखाना’ त्यही समयको एउटा बेपत्ता परिवारको कथा हो । अहिले पनि बेपत्ता परिवारको आवाज उठ्छ बेला बखत ।


द्वन्द्वकालमा भएको भौतिक र जनसांख्यिक क्षतिको लेखाजोखा सुनिन्छ गोष्ठी र सेमिनारहरूमा । तर, त्यो समय भएको सांस्कृतिक क्षतिको कतै बहस भएको सुनिँदैन । नाटक ‘जोखाना’ ले नसुनिएको यही सांस्कृतिक क्षतिको कुरा गर्छ । हाम्रो परम्परा, जीवनशैली र समाजबाट लोप भएका गीत, नृत्य, आदिवासी अभ्यास र ज्ञानको कुरा गर्छ । माटो, संस्कृति र लाहुरे संस्कारबीचको अन्तरद्वन्द्वको पनि सवाल उठाउँछ ।


नाटकको मूल कथ्यमा छन् जसबहादुर राई र धनसुवा । गाउँका सबैजना मिलेर साकेला नाच्दै गर्दा एक दिन जसबहादुरले बाटो बिराए । बाटो बिराउनु एउटा विम्ब हो । बाटो बिराएर अर्कै बाटो हिँडेपछि मान्छे पनि अर्कै बन्छ । जसबहादुर अर्कै बने या बनेनन्, नाटकले खुलाउँदैन ।


तर, उनले बाटो बिराएर लामो समय गाउँ नफर्केपछि परिवार र गाउँलेहरूले भोग्नुपरेको समस्याले नाटकलाई गति दिन्छ । यही बेला भाउजूलाई देवरले मन पराएर साथ दिन खोज्छन्, जुन किरात सभ्यताको अर्को सुन्दर अवेशष हो । यद्यपि पूर्वेली ठाडो किरात लवजका कारण दर्शकले देवरप्रति भिन्न दृष्टिकोण बनाउन सक्छन् ।


हराएको मान्छे लामो समय नफर्केपछि किरात प्रचलनअनुसार गरिने मृत्यु संस्कार परम्परा निकै लोभलाग्दो लाग्छ नाटकमा । यस्तो बेला आत्म बोलाउने र त्यसलाई बाटो देखाउने बिजुवा (सेलेमी) को भूमिकामा अनिल सुब्बाले गरेको अभिनयले दर्शकलाई पनि भिन्न ऊर्जा दिन्छ । काजकिरिया सकियो । द्वन्द्वको घाउ बिर्सिन थाले मानिसले ।


गाउँमा ट्याक्टर चल्ने बाटो पुग्न थाल्यो । तर, अपांग बनेका जसबहादुर राई अचानक फर्किआए । धनसुवा त बूढो फर्केपछि खुसी हुने नै भइन् । तर, बिजुवाले बोलाएको आत्म के थियो ? कसको थियो ? के हजारौं वर्ष पुरानो मुन्धुम आधारित आत्म बोलाउने परम्परा झूट हो ? दर्शकको मनमा प्रश्न पस्छ ।


यहीँनेर चलाखीपूर्ण ढंगले आफ्नो दृष्टिकोण घुसाएका छन् नाट्य रूपान्तरण गरेका राजन मुकारुङले । कुनै बेला ‘सिर्जनशील अराजकता’ बोकेर हिँडेका यिनले किरात सभ्यतामा महत्त्वपूर्ण मानिने चुलोको तीनवटा ढुंगामार्फत भनेका छन्– ‘अहिले सारा संसार जल्यो, गल्यो । मान्छेहरूको विश्वास टुट्यो । तीन चुला पनि पुज्न छाडे ।


जोखाना त हंसहरूले भन्ने हुन्, पितृहरूले भन्ने हुन् । आत्महरूले भन्ने हुन् । अहिले आत्माहरू भडकिएका छन् । पितृहरू नै भडकिएका छन् । कुनै पनि कुरा ठीक ठाउँमा छैन भने जोखाना कसरी मिल्छ ?’ पितृहरू भडकिएको यो सन्दर्भ नाटकको निकै शक्तिशाली विम्ब हो । पितृ अर्थात् सभ्यता ।


आयतीत ज्ञान, बजार र बाहिरिया विश्वासले घर गर्दै गरेको तेस्रो विश्वको सीमान्तकृत समाजमा आफ्नै सभ्यताप्रति अविश्वासको प्रश्न उठ्नु स्वाभाविक छ । ठूला ज्ञान परम्परा र सभ्यताले साना ज्ञान परम्परा र सभ्यतालाई गलत सावित गर्दै गइरहेको समयमा किरात बिजुवाले गरेको जोखाना कसरी मिल्छ ?


नाटक हेरेपछि दशक लामो सशस्त्र द्वन्द्व कसका लागि थियो ? अर्को गम्भीर प्रश्न उठ्छ । जसबहादुर राई अपांग बनेर घर फर्के । पिँढीमा बसेर लामो श्वास ताने । के उनी बन्दकी राखेको जग्गा फिर्ता गराउन युद्ध लडेका थिए ? या, कसैको राजनीतिक प्रयोगको सिकार बने ? सबै प्रश्नको उत्तर एउटै सिर्जनामा आउनुपर्छ भन्ने छैन ।


तर, नाटकको अन्त्यतिर ‘समय आएपछि समुद्रमा पुगेको माछा पनि उभौली लाग्छ’ भन्दै जसबहादुरले घर छाडेको दृश्य भने निकै अर्थपूर्ण लाग्छ । त्यो समय कसरी आउला ? शीतलता छरेर आउला या हुन्डरी बनेर ? जवाफ नेपाली राजनीतिको भावी दिशाले बताउला । नाटकले भने धेरै परसम्म सोच्ने सुविधा दिन्छ दर्शकलाई ।


बीएस राईको कथाकृति ‘हिउँमाझी’ को कथा ‘जोखाना’ आधारित हो नाटक । नाट्य रूपान्तरण क्रममा संवादलाई लयात्मक र काव्यिक बनाउन निकै मिहिनेत गरेका छन् राजन मुकारुङले । पूर्वेली नेपाली समाजको सांस्कृतिक चिनारी मुन्धुमी गीतको प्रयोगले नाटक अब्बल बनेको छ ।


पात्रको मनोदशा बलियोसित दर्शकसँग सञ्चार गराउन गीतले सघाउँछ । कथाको बहाब बाटो खन्ने दृश्यमा पुग्दा मूलकथाबाट चिप्लिएर हल्का बहकिएको भान हुन्छ । यद्यपि किरात शैलीको हसिमजाक, ठाडो संवाद र शारीरिक हर्कतले दर्शकलाई मनोरञ्जन दिन्छ । गीत लेखनमा राजनलाई अभिनेता दयाहाङ राईले पनि सघाएका छन् ।


पात्रहरूको मनोवैज्ञानिक उतारचढावलाई बल पुग्ने गरी प्रकाश गन्धर्व, दिवान रसाइली र आशिष शाहीले प्रत्यक्ष संगीत दिएका छन् । धनसुवा बनेकी संगीता थापाको धीमा शरीर भाषा र अभिनयले किरातीपन दिन्छ । पुष्प लामा, निशा पाख्रिन, सञ्जीव राई, मनहाङ लावती, पार्वती राई, कवि राई, सुदर्शन क्षेत्री, दिवान रसाइली, मनिकुमार राईले पनि राम्रो अभिनय गरेका छन् । यी कलाकारलाई यथार्थपरक अभिनयसँगै केही मौलिक शरीर भाषा दिएर निर्देशक चाम्लिङले काम देखाएका छन् ।


सेट डिजाइन सामान्य भए पनि किरात सभ्यता र प्रकृतिसँगको त्यसको सामीप्यता झल्किन्छ । युद्धका बेला प्रयोग गरिएको छायादृश्य पनि रोचक लाग्छ । पात्रको मुड र कथाको परिस्थिति अनुसारको प्रकाश परि–कल्पना पनि प्रशंसा–योग्य छ । वैशाख पहिलो सातासम्म नियमित मञ्चन हुने नाटक ‘जोखाना’ नेपाली रंग–मञ्चको मौलिक रंग–मञ्चीय प्रस्तुति हो ।

प्रकाशित : चैत्र १४, २०७५ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?