कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

“एसिड सर्भाइभल” दीपिका

काठमाडौँ — फिल्मफेयरमा उत्कृष्ट अभिनेत्रीको अवार्ड आलिया भट्टले जितेपछि खाली हात भएकी ‘पद्मावत’ अभिनेत्री दीपिका पादुकोणका लागि फिल्मको प्रस्तावले भने हात खाली हुनुपरेको छैन ।

“एसिड सर्भाइभल” दीपिका

यति बेला उनी फिल्म ‘छपाक’ मा एसिड आक्रमणमा परेकी युवतीको भूमिका गर्ने भएपछि उनको चर्चा झनै चुलिएको छ ।


मेघना गुल्जारको निर्देशन रहने उक्त फिल्मको फस्ट लुकमा दीपिका एसिड आक्रमणको सिकार बनेकी लक्ष्मी अग्रवालको चरित्रमा देखिएकी छन् । जसमा प्रोस्थेटिक मेकअपको सहायताले लक्ष्मीको अवतारमा दुरुस्त उतारिएपछि दीपिकालाई ठम्याउन गाह्रो परेको थियो । फिल्ममा भने उनको चरित्रको नाम मालती राखिएको छ ।


‘छपाक’ को फस्टलुक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै दीपिकाले लेखेकी छन्, ‘मालती, यस्तो एउटा भूमिका जो मेरो दिमागमा सधैं रहनेछ ।’ फिल्म २०२० को जनवरी १० मा रिलिज गरिने बताइएको छ ।


दीपिकाको मालती अवतारलाई देखेपछि उनकै पति उर्फ अभिनेता रनवीर सिंहसमेत चकित भए । उनले प्रतिक्रिया दिँदै लेखेका छन्, ‘अद्भुत, कस्तो असाधारण । गर्व छ तिमीप्रति । धेरै प्रेम ।’ त्यसो त दीपिकाको मालती चरित्रका लागि देखाएको साहस र हिम्मतको अन्य बलिउड सेलिब्रेटीले पनि खुलेर प्रशंसा गरेका छन् ।


प्रियंका चोपडाले ‘आश्चर्यजनक दीपिका’ भनेर टिप्पणी गर्दा बरुण धवन, ज्याकलिन फर्नान्डिजले पनि खुलेर तारिफ गरेका छन् । ‘छपाक’ लक्ष्मीको वास्तविक घटनामा आधारित हो । लक्ष्मीलाई विवाहका लागि इन्कार गरेको आवेगमा एक युवकले सन् २००५ मा एसिड आक्रमण गरेका थिए ।


एसिड लक्ष्मीको अनुहारमा छ्यापिएको थियो । घटनापछि लक्ष्मीले कानुनी लडाइँ लडेकी थिइन् । यसै घटनापछि भारतमा एसिडको सर्वसुलभ बिक्री वितरणमा रोक लगाउने गरी कानुन नै बनेको थियो । विक्रान्त मासेको समेत अहंभूमिका रहने उक्त फिल्मबाट अभिनेत्री पादुकोणसमेत निर्माणमा आएकी छन् ।

प्रकाशित : चैत्र १४, २०७५ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?