गैंडा तस्करी विरुद्धको “खाग”

कान्तिपुर संवाददाता

काठमाडौँ — गैंडाको चोरी, सिकारी तथा खाग तस्करी रोक्न एक वन अधिकृतले मोलेको जोखिम र सफलताको कथा समेटिएको फिल्म ‘खाग’ शुक्रबारदेखि देशभर प्रदर्शनमा छ ।

गैंडा तस्करी विरुद्धको “खाग”

मनोज पण्डितको निर्देशन रहेको उक्त फिल्म कमलजंग कुँवर लिखित पुस्तक ‘गैंडालाई चार वर्ष’ मा आधारित छ । कुँवरले चितवन राष्ट्रिय निकुञ्जको प्रमुख भई गैंडा संरक्षण अभियानमा लाग्दाका घटनाक्रमलाई समेटेर उक्त पुस्तक लेखेका थिए ।


फिल्ममा कमलजंगको भूमिकामा प्रवीण खतिवडाले अभिनय गरेका छन् ।


‘इमान्दारीको खडेरी परिरहेका बेला फिल्ममार्फत् मैले आफ्नो कामप्रति बफादार र इमान्दार कर्मचारीको कथा भन्न चाहेको हुँ,’ निर्देशक पण्डितले ‘खाग’ कमलजंगलाई ‘नायक’ बनाउने अभिलाषाले नभई सकारात्मक सोच र प्रवृत्ति भएका अन्य व्यक्तिलाई उत्प्रेरणा जगाउने प्रयास रहेको बताएका छन् । कुनै बेला खाग तस्करीका लागि उर्वरभूमि बनेको चितवनमा कुँवरले जनसहभागितामा तस्करीलाई शून्यमा झार्न सफल भएका थिए ।


यसअघि पण्डितले ‘ग्रेटर नेपाल’, ‘दासढुंगा’, ‘बधशाला’ जस्ता विषयप्रधान फिल्म बनाएका छन् । उनले भने, ‘यो फिल्म बनाएर बक्सअफिसमा तहल्का नै मच्चाउला, धेरै पैसा कमाउँला भन्ने छैन । र, फिल्मको महत्त्व रिलिजको दुई दिनमा कति दर्शक हलमा भरिए भन्नेले निर्धारण गर्दैन । हलको पर्दाबाट माथि उठेर समाजमा आफ्नो प्रभाव जमाउँछ र कति लामो समयसम्मको आयु बाँच्छ भन्ने मुख्य कुरा हो । ‘खाग’ समाजमा प्रभाव पार्ने चरित्रको फिल्म हो ।’ निर्देशक पण्डितले ‘खाग’ कुँवरको पुस्तकबाट आधाआधी विषयवस्तु लिएर बाँकी आख्यानीकरण गरेका छन् ।


तस्करले गैंडा मारेको घटनाबाट फिल्म सुरु हुन्छ । त्यसपछि तस्कर समात्ने र जेल हाल्ने एक सूत्रीय अभियानमा कमलजंग डटिरहन्छन् । नेतासम्मको माथिल्लो पहुँचमा रहेका तस्करलाई रातोदिन गरी समात्छन् । थुनामा रहेका एक व्यक्तिको मृत्यु हुन्छ, त्यसैको अभियोगमा कुँवरसहितका सहकर्मी पनि हिरासतमा पर्छन् । हिरासतमा छँदै जनजागरणका लागि कुँवरले उक्त पुस्तक लेखेका थिए । तस्करदेखि राज्य संयन्त्रसमेत अनुकूल नहुँदा पनि, परिवार सदस्य र आफ्नै पनि ज्यान जोखिममा मोल्दै वन्यजन्तुको अवैध तस्करीविरुद्ध डटेको कथा मूलतः व्यावसायिक दर्शकका लागि भन्दा पनि सूचना र घटनाक्रम जान्न चाहनेका लागि उपयुक्त छ । फिल्मका रूपमा ‘खाग’ को मनोवैज्ञानिक द्वन्द्व सपाट लाग्छ भने तस्कर र वन कर्मचारीबीच हुने लामा र समान प्रकृतिका भागदौड पट्यारलाग्दा हुन सक्छन् ।


प्रमिला कुँवरको निर्माण रहेको ‘खाग’ मा पुष्कर गुरुङ, आशान्त शर्मा, आर्जेश रेग्मी, नरेन्द्र बराल, सृजना अधिकारीलगायतको अभिनय रहेको छ । कलाकारहरूको जीवन्त अभिनय शैलीका कारण पनि ‘खाग’ विशेष बनेको छ । द्वन्द्वका सिनहरू संलग्न कलाकारहरूले नै संयोजन गरेकाले बढी यथार्थपरक बनेका छन् ।

प्रकाशित : फाल्गुन २७, २०७५ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?