कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

धनियाँको चटनी, नाटक र विमर्श

श्यामसुन्दर शशि,

जनकपुर — एउटै थलोमा साहित्य विमर्श, चित्रकला प्रदर्शनी, नाटक मञ्चन अनि खाना महोत्सव । यतिबेला उद्योग वाणिज्य संघको परिसरमा जारी ‘जनकपुर साहित्य–कला एवं अन्तर्राष्ट्रिय नाट्य उत्सव’को माहोल भिन्न छ । कोही कोदोको रोटीसित माछाका परिकार चाखिरहेका भेटिन्छन् त केही ताजा विषयमा चर्काचर्की बहसमा उत्रिँदै ।

धनियाँको चटनी, नाटक र विमर्श

देशविदेशबाट आएका रंगकर्मीले पस्किने नाटकको तरंग त भिन्न छँदै छ ।


शनिबार सुरु भएको हो ६ दिने उत्सव । आयोजक बनेको छ, मैथिली विकास कोष । पाग र गमछामा सजिएका उत्सवका सहभागीहरू मुरही, कचरी, झिल्ली, बगियासँगै पकौडा र धनियाँको चटनीमा लोभिएका छन् । बगिया र पकौडा खाँदै गर्दा राजनीतिक विश्लेषक सीके लालले भन्न भ्याए, ‘वर्षौंपछि मिथिलाको मौलिक परिकार खान पाएँ ।’


उत्सवको पहिलो दिन विज्ञहरूले दुई विषयमा बहस गरे । ‘प्रदेशको सांस्कृतिक परिचय र मिथिला’ विमर्शमा नेकपाका नेता रामचन्द्र झा, कांग्रेस नेता आनन्दप्रसाद ढुंगाना, राजपा नेता वृषेशचन्द्र लाल, संघीय समाजवादी फोरमका महासचिव रामसहाय यादव, राजनीतिक विश्लेषक सीके लालले मत माझामाझ गरे ।


सहजीकरण गरेका थिए, रंगकर्मी एवं लेखक रमेश रञ्जन झाले । नेपाल, भारत, बंगलादेश तथा अफगानिस्तानका झन्डै एक सय रंगकर्मी र दुई सयभन्दा बढी विभिन्न विधाका स्रष्टाको जमघट रहेको उत्सवमा विश्लेषक सीके लालले संविधानले संघीयताको मर्मलाई स्वीकार नगरेको दाबी गरे । प्रादेशिक सरकारलाई सार्वभौम नबनाएसम्म संघीयताको मर्म पूरा हुन नसक्ने जिकिर उनको थियो ।


यस्तै ‘मैथिली भाषामाथि जातीय विभाजनको प्रभाव’ विमर्शमा कांग्रेस नेता महेन्द्र यादव, साहित्यकार रामदयाल राकेश, राजपाका विजयकुमार सिंह, नेकपाका श्रीप्रसाद साह, विश्लेषक तुलानारायण साहले विचार व्यक्त गरे । दोस्रो दिन ‘मैथिली भाषा साहित्य संरक्षणमा चुनौती र निदान’ विषयमा भाषाविद् रामावतार यादव, योगेन्द्रप्रसाद यादव, अमरकान्त झा, राजेन्द्रप्रसाद विमल, भोगेन्द्र झा लगायतले धारणा राखे ।


‘मातृभाषा, संस्कृति र युवा’ शीर्षकको विमर्शमा आभास लाभ, राजपा नेता कृष्णा सिंह, पत्रकार मोनिका झा, भोजपुरी भाषाका अभियन्ता आनन्द गुप्ता, युवा अभियन्ता आशीष झुनझुनवाला र स्रष्टा अशोक दत्तले बोले । ‘मैथिली फिल्मको सम्भावना’ अभिनेता मुरलीधर मिझार, निर्देशक अमितेश साह, पुरनेन्दु झा तथा किसलय कृष्णले प्रकाश पारे । ‘स्थानीय तहमा मातृभाषा शिक्षण’बारे भने धीरेन्द्र प्रेमर्षि, गोपाल अश्क, सुनील मल्लिक लगायतले बोले ।


जानकीको दुःख

धार्मिक पुस्तकहरूमा जनकपुत्री जानकीलाई आदर्शनारीका रूपमा चित्रण गरिन्छ । मिथिलावासीले भने उनलाई दुःखको प्रतीकका रूपमा लिने गरेका छन् । यसका कारणहरू छन् । जस्तो, आमा–बुवाविहीन माटोबाट उत्पन्न हुनु, पति रामसँग वनवास झेल्न विवश हुनु, रावणद्वारा अपहरणमा पर्नु, गर्भवती अवस्थामा फेरि वनवास जानु अनि जीवनको अन्तिम क्षणमा माटोमै विलीन हुन बाध्य हुनु ।


उत्सवको दोस्रो दिन आइतबार रामानन्द युवा क्लब जनकपुरले जानकी (सीता)का यी दुःखहरू नाटकमार्फत प्रस्तुत गर्‍यो । मैथिली भाषाको ‘जानकी’ हेरेर दर्शकहरू भावुक बने । धेरैले आँसु पुछे ।


सन्दर्भ सीताको भनिए पनि नाटक महिलामाथि समाजले लाद्ने अनेकौं अन्यायहरूमा केन्द्रित थियो । अवधेश पोख्रेल जनकपुरियाको नाटकले लिंग पहिचान गरेर छोरीलाई नजन्मिदै फाल्ने प्रवृत्तिदेखि समाजमा व्याप्त दाइजोप्रथा, महिलामाथिको विभेद, राजनीतिक शक्तिको आडमा गरिने अत्याचार लगायतका सन्दर्भमाथि व्यंग्य गरेको थियो ।


ओमप्रकाश कर्णले निर्देशन गरेको नाटकमा रोशन मिश्र, विपिन पाठक, श्याम यादवले प्रत्यक्ष संगीत दिएका थिए भन्ने वैद्यनाथ पटेल, अनिलकुमार मिश्र, रीना यादव, राकेश यादव, मन्दाकिनी कर्ण, अविनाश झा, जानकीरमण झा, अजय मण्डल, श्याम प्रेमी, शत्रोहन शर्मा, कृष्णकुमार महतो, रोहितकुमार साह लगायतले अभिनय गरेका थिए ।


उत्सवमा मैथिली, नेपाली, हिन्दी, बंगला तथा फारसी भाषाका आठ नाटक मञ्चन हुँदै छन् । कर्णाली आर्ट सेन्टरले हीरा बिजुली नेपालीद्वारा लिखित तथा निर्देशित नेपाली भाषाको ‘गर्भछिटा’ नाटक प्रदर्शन गर्नेछ भने बंगला भाषाको ‘मट्टब्रिङ’, अफगानिस्तानको परवज थिएटर ग्रुपले शैयद इद्रीश फकिरीको ‘ता रिहाय’ तथा भारत आसामको विङ्स थिएटरले एकेएम युसुफ हसन निर्देशित ‘हेलेन’ नाटक प्रदर्शन गर्नेछ ।


यसका साथै मिथिला नाट्यकला परिषद् जनकपुरले महेन्द्र मलंगिया लिखित तथा सुनिम मिश्र निर्देशित मैथिली भाषाको ‘पुस जाड कि माघ जाड’, रामानन्द युवा क्लब जनकपुरले अवधेश पोख्रेल लिखित तथा ओमप्रकाश कर्णद्वारा निर्देशित ‘जानकी’ र लोकसञ्चार काठमाडौंले रमेशरञ्जन झा लिखित तथा प्रियंका झा र सविन कटेलद्वारा निर्देशित ‘किशोरी’ नाटक मञ्चन गर्ने कोषका अध्यक्ष जीवनाथ चौधरीले जनाए ।

प्रकाशित : फाल्गुन २०, २०७५ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?