धनी–गरिब खाडल पुर्न- नग्न कला  

सुनीता साखकर्मी

ललितपुर — कोही धनी छ वा गरिब, छुट्ट×्याउने पहिलो आधार प्रायः व्यक्तिविशेषको पहिरन हुने गर्छ । तर, पहिरनबेगरको व्यक्तिको त्यस्तो ‘हैसियत’ कसरी थाहा पाउने ?

चित्रकार कपिलमणि दीक्षित पाटनस्थित एमक्युब ग्यालरीमा आगन्तुकहरूलाई आफ्ना सिर्जनाबारे अर्थ्याउँदै । तस्बिर : सुनीता साखकर्मी/कान्तिपुर

‘मानिसलाई धनी र गरिब भनेर छुट्याउने कारक नै उसले लगाएको कपडा हुने गर्छ,’ चित्रकार कपिलमणि दीक्षितले आफूसामुन्नेभित्तामा टाँसिएको पेन्टिङमा रहेका नग्न आकृतिलाई औँल्याउँदै थपे, ‘यो पेन्टिङमा भएको मानिसलाई हेरेर यो धनी हो कि गरिब, चिन्न सकिन्छ त ? सकिँदैन ।’

पाटनस्थित एमक्युब ग्यालरीमा कपिलले एकल नग्न कला प्रदर्शनी थालेका छन् । महिला तथा पुरुषलाई विभिन्न मुद्रामा उतारेका पाँच सय कृति त्यहाँ छन् । ‘न्युड आर्टले मानिस–मानिसबीच समानताको संकेत गर्छ,’ दुई दशकदेखि न्युड आर्ट बनाउँदै आएका उनले भने, ‘मानिसको जात, वर्ग, स्तरलाई छुट्याउने काम लुगाले नै गरिरहेको हुन्छ । सबै जना न्युड भए को धनी, को गरिब ! मेरो प्रयास पनि त्यो खाडल पुरौं भन्ने हो ।’

कपिल पहिले ल्यान्डस्केप आर्ट गर्थे । विभिन्न पहाड घुम्थे र तिनलाई क्यानभासमा उतार्थे । यहीबीच पढ्नका लागि सन् १९९७ मा उनी अमेरिकाको टेक्सास पुगे । त्यहाँ जताततै समथर भूभाग थियो र टाढाटाढासम्म पनि एउटै थुम्को देखिँदैनथ्यो । टेक्सासमा आफूले चित्रकारिता गर्ने विषय नै छैन भन्ने लागिरहेका बेला कलेजमा हुने‘न्युड फिगर क्लास’ ले उनलाई आकर्षित गर्‍यो । कक्षाको अँध्यारो कोठामा मधुरो प्रकाशबीच सुतेकी मोडलको शरीर कपिललाई ल्यान्डस्केपझैं लाग्यो ।

‘हेर्ने नजरमा भर पर्दो रहेछ,’ उनले भने, ‘मानिसभित्रै पनि वातावरणको प्रभाव हुने रहेछ । आर्ट न्युड नै भए पनि त्यो उच्च कोटिको हुनुपर्ने रहेछ ।’

उनी अब नग्न कलातिरै केन्द्रित हुँदै गए । नेपाल आएपछि एमक्युब ग्यालरीका निर्देशक मनीषलाल श्रेष्ठबाट उनले त्यस्तै कामका लागि उत्साह पाए ।

‘सुरुसुरुमा नेपालमा यस्तो आर्टको प्रदर्शनी गर्दा यो मान्छेको क्यारेक्टर नै खत्तम हो कि भन्ने आलोचनासम्म सुन्नुपर्‍यो,’ कपिलले सुनाए, ‘तर अगाडि नै आएर अहिलेसम्म कसैले मलाई नराम्रो भनेका छैनन् ।’

नेपालमा कलेजहरूमा नग्न आकृतिमा काम गर्न पाइँदैन । नेपालमा नग्न कलाको अध्ययन हुन्छ, तर मोडल लुगा लगाएर बसेकी हुन्छिन् । यहाँ आएपछि कलेजले न्युड मोडल उपलब्ध नगराएकाले गर्न नपाउने गुनासो भएपछि सन् २०१४ मा सुनधारास्थित आफ्नो स्टुडियोमा उनले मोडल पनि तयार पारेर न्युड आर्ट कक्षा सुरु गरे । तर कक्षा सुरु भएको दुई दिनदेखि तीन दिनसम्ममा त विद्यार्थी नै आएनन् । ‘सबै मैले प्रोभाइड गर्दा पनि विद्यार्थीहरू आउनै चाहेनन्,’ उनले भने, ‘हामीले जहिल्यै यो पाइएन, त्यो पाइएन भनेर कम्प्लेन मात्रै गर्छौं, अवसर पाएका बेलामा नगर्ने बानी रहेछ ।’
नेपालमै पनि कतिपय सार्वजनिक स्थानमा कामुक खालका कलाहरू भेटिन्छन् । तर त्यसलाई नेपाली समाजले पचाइरहेका हुन्छन् । तर ग्यालरीमा त्यही पस्किँदा मानिसलाई नपच्ने कपिलले अनुभव गरेका छन् । उनले उदाहरण दिँदै हनुमानढोकामा महिला, बच्चाहरू मज्जाले हिँडिरहेका हुन्छन्, र त्यहाँका मन्दिरमा रहेको टुँडाल, तोरणमा रहेका कामुक मूर्तिहरू हेर्दा वास्तै नगरेको बताए । तर आफूले ग्यालरीमा गर्न खोज्दा आलोचना भएको बताए ।

भन्छन्, ‘पौभामै पनि देवीहरूलाई गरगहनाले मात्रै शरीर छोपिएको हुन्छ, उनीहरूका कतिपय संवेदनशील अंग देखिरहेका हुन्छन् । त्यो मतलव हुन्न । धार्मिक कुरा भयो भने त्यसै पचाइदिन्छन् ।’

कपिलका अनुसार कलाकारले मानिसको शरीरबारे जान्न जरुरी छ । त्यसबारे पेन्टिङ बनाए, नबनाए पनि त्यसबारे भने जान्न जरुरी रहेको उनले बताए । अझ मान्छे बनाउँदा त्यसको डिटेल स्टडी गर्नैपर्छ । मानिसको शरीर भन्नेबित्तिकै यौनांग भन्ने बुझ्नु गलत रहेको उनी बताउँछन् । अमेरिकामा पढदा उनले मानिसको कुन भागमा कुन हाड हुन्छन् भन्नेदेखि नै पढ्नुपरेको थियो रे । यहाँका कलेजले यस्तो गरून् भन्ने उनको चाहना छ । कपिलका अनुसार न्युड आर्ट मानव सभ्यताको यथार्थ हो । जसरी प्राकृतिक सौन्दर्यलाई जस्ताको तस्तै क्यानभासमा उतार्दा ल्यान्डस्केप बन्छ, त्यसरी नै मानव शरीरलाई उतार्नु न्युड आर्ट हो ।

उनका पेन्टिङ हेर्दा ब्याकग्राउन्डमा पत्रिका, किताबका अक्षरहरू पनि देखिन्छन् । उनलाई महँगो क्यानभासमा चित्र कोर्नुपर्छ भन्ने लाग्दैन । भन्छन्, ‘आफ्नो वरपर खेर गइरहेका कुराहरूलाई नै सदुपयोग गरी चित्र कोर्न सकिन्छ ।’ ग्यालरीमा पेन्टिङ हेर्न आएकाले उनलाई ‘महिलाको धेरै बनाउनुभएको छ, पुरुषको कम छ, किन ?’ भनेर सोध्दा उनले आफू महिलाको यति, पुरुषको यति पेन्टिङ बनाउँछु भनेर काउन्ट गरेर नबनाउने बताए । तर समाजमा फिमेल न्युड पेन्टिङ मानिसले जति सहज तरिकाले हेर्छन्, त्यति पुरुषको न्युड पेन्टिङ हेर्न गाह्रो मान्ने उनले स्विकारे । ‘केटीहरूले त हेर्न गाह्रो मान्छन् नै, केटाहरूले हेर्‍यो भने मलाई समलिंगी नै भन्छ कि भन्ने डरले नि हेर्दैनन्,’ उनले भने ।

परिवारको साथ भएर नै यस्तो खालको पेन्टिङ गर्न सकेको उनी बताउँछन् । ‘मेरो घरमा न्युड मोडल प्रयोग गरेर पेन्टिङ बनाइरहँदा मेरी श्रीमतीले मलाई रोक्दिनन्,’ उनले भने, ‘मेरी छोरीले बाहिर गर्वसाथ ‘मेरो बुवा न्युड पेन्टिङ गर्ने कलाकार हुन्’ भन्छिन् । यसैले मलाई काम गर्न थप हौस्याउँछ । परिवारको साथबिना यो गर्न सकिन्न ।’

प्रदर्शनी फागुन २३ सम्म चल्नेछ ।

प्रकाशित : फाल्गुन १३, २०७५ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्

३२ भाषाका ३६ कविता वाचन 

सुनीता साखकर्मी

काठमाडौँ — अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसर पारेर नेपाल प्रज्ञा प्रतिष्ठानले मङ्गलवार 'राष्ट्रिय मातृभाषा कविता महोत्सव' आयोजना गरेको छ । महोत्सवमा ३२ भाषाका ३६ वटा कविता वाचन गरिएको छ ।

महोत्सवमा सपना श्रीवास्तवले अवधि, राकेश बी एम चिन्तनले अठार मगर खाम, कुमारी शरणा उराँवले उराँव, रमा कुमाल र पशुपति कुमालले कुमाल, समीप कुलुङले कुलुङ, हेमन्त केवरतले केवरत, नेचुरल्ली दिपकले कोयु, स्मृति अधिकारीले खस, छम गुरुङले गुरुङ, गणेशकुमार घलेले घले, टहल जिरेलले जिरेल, टंकबहादुर आलेमगर र मेक रानामगरले ढुटमगर भाषामा कविता सुनाएका थिए।

यस्तै, पूर्णीमा ताजपुरियाले ताजपुरिया, ङ्हेमा थाङ्पालले तामाङ, शिखर थामीले थामी, राकेशकुमार सिंह र अर्णव चौधरीले थारु, रमेश कुमार दनुवारले दनुवार, प्रयास दुमी राईले दुमी, मुक्तिनाथ घिमिरेले दुरा, उर्मिला धिमालले धिमाल, प्रतापसिं नाछिरिङले नाछिरिङ, महेश कमल र सुधीर ख्वबिले नेपाल भाषा, रेहान खानले बज्जिका, सन्तोष निराले बान्तवा, शिवनन्दन जयसवाल र वीणा सिन्हाले भोजपुरी, गणेशकुमार लाल र दिनेश यादवले मैथिली, हेन्सेन याक्खाले याक्खा, बालकृष्ण राईले वाम्बुले, राधिका चोङ्बाङले लिम्बु, आङ्दावा शेर्पाले शेर्पा, शोभा सुनुवारले सुनुवार र गुना हायुले हायु भाषामा कविता सुनाए।

दुईदिने महोत्सवको दोस्रो दिन धिमाल, लिम्बु, बान्तवा, नेवार, गुरुङ, तामाङ, शेर्पा, सुनुवार खस जातिले सांस्कृतिक झाकीसहित र्‍याली प्रदर्शन गरे। कमलादीबाट सुरु भएको र्‍याली रत्नपार्क, बागबजार, पुतलीसडक हुँदै प्रतिष्ठानमै आएर टुंगिएको थियो।
कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले बाह्य भाषाले जबरजस्त रूपमा नेपाली समुदायलाई प्रभाव पारिरहेकोमा दुःख व्यक्त गर्दै उनले गोपनीयता कायम राख्न नेपालले आफ्नै भाषाको प्रयोग गर्न सक्ने बताए। 'बौद्धिकता र गुणस्तरीयको नाममा जानी नजानी आफ्नो भाषा छोडेर अरूको भाषा सिक्न तत्पर भइरहेका छौँ। यसलाई सुधार्नुपर्छ,' उपराष्ट्रपति पुनले भने, 'हाम्रै मातृभाषामा नेपाल लेख्न र बोल्न जान्दैन भने कसरी राष्ट्रियता रहन्छ होला। त्यसैले प्राथमिकतामा आफ्नो भाषा हुनुपर्छ।'

तस्बिरहरुः सञ्जोग मानन्धर/कान्तिपुर

प्रकाशित : फाल्गुन ९, २०७५ १८:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्