‘लुट्न सके लुट् कान्छा’ : व्यंग्यलाई बारबेर !

पशुपतिले नियतवश पार्टीको पक्ष–विपक्षमा बोल्नुभएको हो जस्तो लाग्दैन । तर, अहिले हामी स्वतन्त्रताको उचाइमा छौं भन्दैमा जे भन्न खोजेको हो, त्यो डाइरेक्ट भन्नुपर्छ भन्ने छैन ।- मनोज गजुरेल, हास्यव्यंग्य कलाकार
सुनीता साखकर्मी

काठमाडौँ — प्रसंग १ ‘चढ्न नि हुने, जोत्न नि हुने, तर त्यसको गोबरले पोत्न नहुने, मुख नभा ’को, पुच्छरमा टाउकोमा गा ’को, त्यो के हो ?’ ‘भैंसी’‘हैन ।’

‘लुट्न सके लुट् कान्छा’ गीतको म्युजिक भिडियोमा गायक पशुपति शर्मा (बायाँ) । 

राष्ट्रिय गाउँ खाने कथा प्रतियोगिता भाग १ मा मदनवंश (मदनकृष्ण श्रेष्ठ) ले सोधेको प्रश्नको उत्तर थाहा नभएपछि हरिकृष्ण (हरिवंश आचार्य) ले काठमाडौं नगर पञ्चायत दिँदै ‘उत्तर के त ?’ भनेर सोध्छन् ।


काठमाडौं नगरपञ्चायतको सेरोफेरो सबै आफ्नो भन्दै मदनवंशले जवाफमा भन्छन्, ‘नेपाली जनता नि ! नेपाली जनतालाई चढ्न ’नि हुन्छ, जोत्न ’नि हुन्छ । नेपाली जनताको मुख छैन, त्यसले जे गरे ’नि बोल्दैन ।’


पञ्चायती कालमा पनि हलमा उपस्थित दर्शकहरू गलल्ल हाँस्छन् ।


प्रसंग २

‘पार्टीको कार्यकर्ता भएपछि मुसाको पनि यत्रो पावर ! मुसाको जति पनि पावर नभएको जागिर के खानु ! धिक्कार नै हो ।’


राजनीतिक दलका कार्यकर्ताबारे यसै भनेका छन्, मदनकृष्ण श्रेष्ठले ‘धूम्रकेतु’ प्रहसनमा । सप्रमाण पक्रिइएको अपराधीलाई छोड्न राजनीतिक दलका नेताको दबाब आएपछि मदनकृष्णले यही प्रहसनमा व्यंग्यात्मक गीत पनि गाउँछन् :


आँखा छोपी नरोऊ भनी भन्नुपर्‍या छ

नियमकानुन मिच्नेलाई ’नि छोड्नुपर्‍या छ ।

हलभरि हाँसो गुन्जिन्छ ।


प्रसंग ३

हास्यव्यंग्यकार शैलेन्द्र सिम्खडा देश तथा विदेशमा कार्यक्रम गर्न पुग्दा कविता वाचन गर्छन् । युट्युबमा विभिन्न च्यानलले अपलोड गरेका उनका भिडियोहरू हेर्ने र उनलाई मन पराउने दर्शक पनि धेरै छन् । एक पटकको कवितामा शैलेन्द्र भन्छन् :


देशको परिस्थिति

मुटु जलेर जेठ जस्तो

मन भत्किएर असार जस्तो

आँखा बर्सिएर श्रावण जस्तो

यति राम्रो देशमा जन्मिएर पनि कष्ट भोग्नुपर्ने

किनकि नेता छानेछौं रावण जस्तो ।

०००

विगतमा कलाकारहरूले सत्तालाई निसाना बनाएका व्यंग्यवाणका केही नमुना हुन् यी । हास्यव्यंग्यको इतिहास हेर्दा प्राय: राजनीतिक दल, नेता र कार्यकर्ता नै तारो बन्ने गरेको पाइन्छ । सामाजिक व्यंग्य पनि नभएका होइनन्, तर धेरैजसोले सुरुदेखि नै समसामयिक राजनीतिलाई व्यंग्यको माध्यमका रूपमा प्रयोग गर्दै आएका छन् ।


यही पृष्ठभूमिमा गायक पशुपति शर्माले पनि ‘लुट्न सके लुट् कान्छा...’ शीर्षक व्यंग्यगीत तीन दिनअघि युट्युबमार्फत सार्वजनिक गरे । यो गीत केही बेरमै युट्युब नेपाल ट्ेरन्डिङको शीर्ष १० मा समेत पर्‍यो । तर, पशुपतिको गीतको भाग्य उपर्युक्त तीनवटा उदाहरणको जस्तो रहेन ।


किन उठ्यो विवाद ?

पशुपतिको गीत सार्वजनिक भएपछि सत्तानिकट व्यक्ति र समूहहरूबाट गीतको विरोध हुन थाल्यो । सामाजिक सञ्जाल चलाउनेहरू पक्ष–विपक्षमा धु्रवीकृत भए । सत्तासीन नेकपाको भ्रातृ संगठन युवा संघ नेपालका उपाध्यक्ष किरण पौडेलले उक्त गीतले सरकार र सम्बद्ध दलको मानमर्दन गरेको दाबी गर्दै फेसबुकमा लामो पोस्ट राखे ।


उनले त्यो गीतमा भएका ‘कमजोरी’ बुँदागत रूपमा उल्लेख गर्दै पशुपतिका कार्यक्रमहरू आ–आफ्ना ठाउँमा बहिष्कार गर्न–गराउन युवा साथीहरूलाई अपिल गरे । पशुपतिले भिन्न राजनीतिक झुकाव र चरित्रको कारण योजनाबद्ध हिसाबले कम्युनिस्ट पार्टीलाई खुइल्याउँदै चुनावी गीत जस्तो गरी कांग्रेस पार्टीको पक्षपोषण गरेको पौडेलको आरोप थियो ।


उक्त गीतमा ‘डेढ अर्बको हेलिकप्टर’, ‘यमराजको शासन’, ‘कुकुर’, ‘वाइड बडी’ जस्ता शब्दावली प्रयोग हुनुले पशुपतिको दुर्नियत देखिएको भन्दै उनले पशुपतिलाई समयमै आफ्ना ज्ञात–अज्ञात गम्भीर त्रुटि नसच्याए उनको करिअरमा असर पर्न सक्ने कदम चाल्न आफू बाध्य हुने धम्कीसमेत दिएका थिए ।


विवादले थामिने नाम नलिएपछि पशुपतिले युट्युबबाट भिडियो हटाए, सुधारेर अपलोड गर्छु भन्दै । उनलेपनि युवा संघलाई प्रस्टीकरण जस्तो फेसबुकमा लामैपोस्ट राखेका थिए । पौडेलले यसका लागि पशुपतिलाई धन्यवाद दिए र विकृति–विसंगतिविरुद्ध अझ सशक्त रूपमा आवाज उठाउनका लागि कामना गर्दै आइन्दा कुनै निश्चित विचार र समुदायप्रति पूर्वाग्रह नझल्काउन घुमाउरो चेतावनीसमेत दिए ।


गीत जस्ताको तस्तै युट्युबमा राख्न आग्रह

पशुपतिले गीत युटयुबबाट निकालेपछि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले त्यसबारे पुनर्विचारगर्न पशुपतिलाई आग्रह गरेको छ । गीतबारे बहस चुलिएपछि आइतबार प्रतिष्ठानको आकस्मिक बैठकलेयस्तो अनुरोध गरेको हो ।


प्रतिष्ठानले उक्त गीत डिजिटल प्लेटफर्ममा राख्ने वा हटाउने सम्बन्धमा कहीँकतैबाट आधिकारिक निवेदन, अनुरोध वा जानकारी संस्थामा नआएको, गीत हटाउने विषयलाई लिएर संस्थामा कसैले पनि औपचारिक प्रस्ताव दर्ता नगराएको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘पशुपति शर्माको गीतमा प्रयोग भएका शब्द कलाकार आफैंलाईफेर्न योग्य लागेर गीत हटाउनुभएको हो भने त्यो उहाँको निजी स्वतन्त्रताको कुरालाई संस्था सम्मान गर्दछ, तर कुनै दबाब या धम्कीका कारण हटाउनुभएको हो भने गीतलाई जस्ताको तस्तै पुन: अपलोड गर्नुहुन संस्था अनुरोध गर्दछ ।’

पशुपति प्रतिष्ठानका उपाध्यक्षसमेत हुन् ।


म जनताको गीत गाउने मान्छे : पशुपति

‘लुट्न सके लुट् कान्छा’ गीतमा प्रयुक्त शब्द र फुटेजमाथि युवा संघले आपत्ति जनाएपछि आफूले भिडियो हटाएको पशुपतिले स्विकारे । तर नियतवश कसैको आत्मसम्मानलाई हानि पुर्‍याउने किसिमले फुटेज र फोटो वा शब्दको प्रयोग नगरेको उनले प्रस्ट्याए ।


लोकगीतले लोकका भाव, मर्म बोक्नुपर्छ र केही न केही सन्देश सम्प्रेषण गर्नुपर्छ भनेरै आफूले सिर्जना गर्दै आएको उल्लेख गर्दै पशुपतिले कान्तिपुरसँग आइतबार राति भने, ‘बाटोमा हिँडिरहँदा आमा, हजुरआमा, बुवाहरूले भनेका कुराहरूलाई टपक्क टिपेर गाउने प्रयास गरेको हुँ । मेरो सिर्जनाले कसैको आत्मसम्मानमा ठेस पुग्छ भने मलाई पनि सन्तुष्टि हुन्न । म त जनताको गीत गाउँछु । जे देख्यो त्यही गाउँछु । मैले गाएको, लेखेको गीत सुन्नेलाई यसले त ठीक भन्यो है भन्ने पर्‍यो भने आफूलाई पनि मजा हुन्छ । कसैको आत्मसम्मानमा ठेस पुग्छ भने, कसैलाई चित्त दुख्छ भने मैले एउटा शब्द फेर्दैमा साह्रै घटेर सानो हुने पनि हैन । जिन्दगीभरि सरलतामा बग्नु पनि राम्रो हो, जटिलतामा दौडनुपर्छ भन्ने पनि त हैन ।’ युवा संघको आपत्तिलाई आफूले अन्यथा नठानेको पनि सुनाए ।


प्रतिष्ठानले कलाकारलाई समर्थन गर्दै र भ्रष्टाचारमाथि कलाकारले बोल्न पाउनुपर्ने भन्दै विज्ञप्ति निकालेकामा आफूलाई राम्रो लागेको पशुपतिले बताए । ‘तर, उक्त गीत प्रतिष्ठानको आग्रहबमोजिम पूर्ववत् अपलोड गर्ने वा सम्पादनसहित अपलोड गर्ने भन्नेबारे मैले सोच्न भ्याइसकेको छैन । कार्यक्रममा व्यस्त भएको हुनाले आइतबार मात्रै काठमाडौं आइपुगेँ । सोमबार यसबारेनिर्णय गर्छु ।’


‘समालाेचना हुनु राम्रो’

लामो समयदेखि हास्यव्यंग्य क्षेत्रमै जमेका कलाकार मनोज गजुरेलका अनुसार, स्रष्टाको रचनामा आलोचना वा समालोचना हुनु राम्रो हो । पशुपतिको गीतको विवादबारे उनले भने, ‘पशुपति नेपाली माटो बुझेको सर्जक हुनुुहुन्छ । जनताको लवजलाई आफ्ना रचनामा प्रस्तुत गर्ने गायकमा पर्नुहुन्छ । उहाँले नियतवश पार्टीको पक्ष–विपक्षमा बोल्नुभएको हो जस्तो लाग्दैन ।’


सुरुदेखि नै हास्यव्यंग्यमा घोचपेच वा त्रुटिलाई हास्यव्यंग्यकारले प्रस्तुत गर्दै आएको उल्लेख गर्दै उनले पहिले हुने व्यंग्यहरूमा कलात्मक पक्ष बलियो रहने गरेको बताए । ‘पहिले राजा र पञ्चायतको समयमा गरिने व्यंग्यहरू कलात्मक हुने भएकोले जसलाई व्यंग्य गरेको हो, त्यसैलाई थाहा भएन होला,’ उनले भने, ‘अहिले हामी स्वतन्त्रताको उचाइमा छौं । समय परिवर्तन भयो भन्दैमा स्रष्टामाथि कसैले नियन्त्रण गर्न चाहिँ सक्दैन ।’ प्रकाशित : फाल्गुन ६, २०७५ ०९:२९

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

देवतालाई बचाउनै मुस्किल

सुनीता साखकर्मी

भक्तपुर — ‘ओहो नानी, यहाँभित्रको मूर्तिको फोटो खिच्न पाइँदैन त !’ झोलाबाट क्यामेरा निकाल्दै गरेको देखेपछि दत्तात्रय मन्दिर रेखदेख गर्ने ६० वर्षीया सावित्री पुरीले सचेत गराइन् । मन्दिरको भित्री मूर्ति नभई गर्भगृहमाथि तोरणमा राखिएका धातु मूर्तिहरूको फोटो खिच्ने भनेपछि उनले मञ्जुरी दिइन् । 

भक्तपुरका विभिन्न स्थानमा रहेका देवीदेवताका जीर्ण मूर्तिहरू । तस्बिर : कान्तिपुर

च्यामासिंबाट भक्तपुर दरबार क्षेत्र जाने बाटामै छ, दत्तात्रय मन्दिर । १९ औं शताब्दीमा निर्माण भएको यो मन्दिरमा ब्रह्मा, विष्णु र महेश्वरको एउटै स्वरूपका देवता यहाँका तोरणमा पनि स्थापित छन् । तोरणका अधिकांश मूर्तिको निधारमा भने प्वाल परेको छ । यसबारे जिज्ञासा राख्दा सावित्रीले भनिन्, ‘कोही भक्त आएर मूर्तिको निधारमा अबिर, केशरी, टीका, अक्षता टाँसेर जान्छन्, कोही आएर त्यही मूर्तिमा टाँसिएको अबिर उप्काएर आफ्नो निधारमा टाँस्छन् । धातु न हो, पातलो हुँदै गएर अहिले त प्वालै पर्‍यो  !’

पुरी दम्पतीले दत्तात्रय मन्दिरमै पुजारीको काम सम्हालेको १२ वर्ष बितिसकेको छ । दत्तात्रयको भित्री मूल मूर्ति ढुंगाको छ भने ढोका, तोरण, टुँडालमा धातु र काठका मूर्ति छन् । भक्तजनले मन्दिरका भित्री देवतालाई छुन पाउँदैनन्, हेर्न मात्रै पाउँछन् । टाढैबाट नमस्कार गर्छन् । पुजारी गोपालले नै पूजासर्जाम भित्री देवतासामु रहेको मण्डलमा चढाउने गर्छन् । बाहिरी ढोकामा रहेका देवताका मूर्तिहरूलाई भने जोकोहीले छुन मिल्छ । भित्री मूर्तिमा कुनै प्रकारको नोक्सानी पुगेको देखिँदैन, तर बाहिरका धातुका मूर्तिहरू चिन्नै नसक्ने गरी प्वाल परिसकेका छन् ।

पुरी दाम्पती पुजारीका रूपमा यहाँ बस्नुपहिले उनका हजुरबा, त्यसपछि उनका दाइ बसेका थिए । उनीहरू बस्न थाल्दासम्म बाहिरी मूर्तिका अनुहार मेटिइसकेका थिए । बिस्तारै प्वाल पर्दै गयो ।

सबैतिरका देवतालाई एउटै समस्या
भक्तपुरसहित उपत्यकाका कैयौं स्थानका धातु, ढुंगा, काठका मूर्तिहरूको स्वरूप चिन्नै नसक्ने भइसकेको छ । भक्तपुर दरबार क्षेत्रको स्वर्णद्वारको दायाँबायाँ रहेका मूर्तिका निधारमा प्वाल परिसकेको छ ।

संस्कृतिविद् ओम धौभडेलका अनुसार, पुर्खाले वास्तु लक्षण अनुसार काठ, धातु, ढुंगामा बनाएका देवीदेवताका मूर्तिहरू मानवीय आचरणकै कारण नष्ट हुन थालेका हुन् । सुनैसुनले बनेको ढोका हेर्नकै लागि देश विदेशबाट पर्यटकहरू आउने गरेका छन् ।

स्वर्णद्वार बनाउन भक्तपुरका मल्ल राजाका तीन पुस्ताले कुर्नुपरेको इतिहास रहेको उल्लेख गर्दै धौभडेलले थपे, ‘राजा जगत्प्रसाद मल्लले नै यो ढोका बनाउँछु भनेर लागेका थिए, तर प्रशस्त सुन नपाएपछि उनका छोरा जितामित्र मल्ल र उनका पनि छोरा भूपतीन्द्र मल्लले थोरैथोरै काम गर्दै लगे । नेपाल संवत् ८७४ मा आएर राजा रणजित मल्लको पालामा मात्रै यो ढोकाको निर्माण सम्पन्न भयो ।’

धौभडेलका अनुसार, स्वर्णदारलाई पहिले ‘नेपाल ध्वाखा’ कै रूप मानिन्थ्यो । यसमा सुनैले बनेकी महिषासुरमर्दिनी भगवतीको प्रतिमा छ भने वरिपरि विम्बहरू कुँदिएका छन् । तर श्रद्धालुले भित्रबाहिर गर्दा ढोकामा रहेका गणेश र भैरवका मूर्तिलाई छोएर पूजा गर्न थालेपछि २०/२५ वर्षयता मूर्ति नै प्वाल परेर कुरूप बनेको छ । सुनको जलप उडिसकेको छ ।

कसरी बनाउने दुरुस्त ?
मूर्तिकार सूर्य केसीका अनुसार, राजधानीकै मैतीदेवीमा रहेको मन्दिर वरपरका सरस्वती, राधाकृष्ण, गणेशका मूर्तिहरूका अनुहारमा खाल्डा परिसकेका छन् । अबिरले छोपिएर मूर्ति चिन्नै नसकिने भएका छन् । उनले चितवनको गणेशधाममा भेटिएको मूर्ति पनि उस्तै भइसकेको देखेका छन् । ‘सामान्य गणेशको मूर्ति भन्नेसम्म चिनिन्छ, अरू मेटिइसकेको छ,’ उनले भने ।

कलारकारले धातु वा ढुंगामा वास्तु लक्षणअनुसार नै मूर्ति तयार गर्छन् । सामान्य मूर्तिको मोडलिङ गर्न मात्रै एक महिना लाग्ने र त्यसलाई मूर्तता दिन तीन–चार महिना लाग्ने गरेको केसीले बताए । स्थान, परिवेश, दिशा र शासनकालअनुसार मूर्ति बनाउने शैली र त्यसको भावभंगिमा, मुद्रा फरक हुन्छ । यी शैलीहरू पुस्तान्तरण हुँदै आउँदा कतिपय मौलिक शिल्पहरू नासिएर वा विकास भइसकेकाले अहिलेकाले त्यस्तै मूर्ति हत्तपत्त बनाउन नसक्ने उनले बताए ।

संस्कृतिविद् धौभडेलका अनुसार, पाटनको भीमसेन मन्दिरमा मूर्ति तत्कालीन समयमा राजा श्रीनिवास मल्लले बनाउन लगाएका थिए । ‘देशभरिकै कुनै कलाकारले पनि उनले सोचेअनुरूप बनाउन सकेनन् । त्यसपछि एक कलाकारलाई हतियारले कुट्न खोज्दा शिल्पकारले राजाको रिसाहा स्वरूपलाई नै मनमा राखेर मूर्तिमा उतारेछन्,’ उनले भने, ‘त्यो राजालाई मन पर्‍यो ।’

यसले मूर्तिकारहरूको कला कति निखारिएको हुनुपर्छ भन्ने पुष्टि गर्ने धौभडेलले दाबी गरे ।
पहिले मूर्तिकारहरूले खानीबाट निकालिएका कालो रंगको ढुंगा प्रयोग गरेर मूर्ति बनाउने गरेको मूर्तिकार केसीले बताए । अहिले भने सतहमा पाइने ढुंगाबाटै मूर्ति बनाउने गरिन्छ । यस्ता ढुंगामा केही वर्षमै पत्रपत्र छुट्टिने समस्या हुने उनले सुनाए ।

‘पहिलेका ढुंगाका मूर्ति दुई हजार वर्ष पुरानो भएर पनि उस्तै देखिन्छन्,’ उनले भने, ‘त्यस्ता मूर्तिको मुखमा मानिसले लड्डु, मिठाई, फलफूल कोचेर, केमिकलयुक्त अबिर रगडिदिएर बिगार्दै लगेका छन् । यसले मूर्तिहरू छिटो नष्ट भएका छन् । मानिसले आस्थामा विवेक प्रयोग गरेनन् । ढुंगाले पनि मानिसले जस्तै खान्छन् कि खाँदैनन्, सोच्नुपर्ने हो ।’

मूर्ति छुनैपर्दैन
धौभडेलका अनुसार, पुर्खाले मूर्तिलाई छोएर पूजा गर्ने, दूध, घिउ, पानी, तेलले अभिषेक गर्ने, टीका लगाइदिने भनेर कतै उल्लेख गरेका छैनन् । वास्तु लक्षणमा लेखिएअनुसार नै मूर्तिकारले मूर्ति बनाउँछन् र त्यसमा तान्त्रिकले प्राणप्रतिष्ठा गरिदिन्छन् । मन्दिरहरूमा देवीदेवताका मूर्तिसामु मण्डल बनाइएको हुन्छ, पूजा गर्नलाई । तान्त्रिक विधिअनुसार पूजा गरे पनि, सात्त्विक रूपमा पूजा गरे पनि मण्डलमै गर्ने हो ।

‘धर्म कमाइने वा पुण्य हुने भन्दै मूर्ति छुनैपर्ने धारणा विकास हुनु राम्रो होइन,’ धौभडेलले भने, ‘हिन्दुहरूले बुबाआमाको मुख हेर्ने दिन, भाइटीका, म्हपूजा र जन्मदिनमा मानिसलाई समेत पूजा गर्ने चलन छ । मानिसलाई पूजा गर्दा भुइँमा मण्डल बनाएर वा केराको पातमा पाँच ठाउँमा पाँच थोप्लो टीका बनाएर पूजा गर्ने चलन छ । हो, यसरी नै मूर्तिको पनि मण्डलमै पूजा गर्ने हो ।’

यति मात्रै नभई कुनै ऐतिहासिक मन्दिरको सम्पदाको वरिपरि इतिहास झल्किने गरी कसले निर्माण गर्‍यो, के उद्देश्यले निर्माण गर्‍यो भन्ने जनाउ दिन राखिएको शिलापत्रलाई समेत मानिसले देवताका रूपमा पूजा गरेर अबिर दलिदिने गरेको उनले बताए । ‘शिलापत्रमा घिउ, मह, सक्खर, तेल लगाइदिने गरेकाले इतिहासका विभिन्न पाटाहरू हराइरहेका छन्,’ उनले भने ।

दत्तात्रेय मन्दिरको ढोकामा कुँदिएको मूर्ति।

अबिरबाटै खतरा
रसायनविद् रामचरित्र शाहका अनुसार, घर वा फर्निचरमा लगाउने रंग जस्तै पूजा गरिने अबिर पनि रसायनबाटै बन्ने गरेको छ । विभिन्न रंगका अबिर बनाउन विभिन्न रसायन प्रयोग गर्नुपर्छ र ती मानव स्वास्थ्यका लागि हानिकारक हुन्छन् । नेपाल गुणस्तर तथा नापतौल विभाग र वातावरण मन्त्रालयले रंगमा लिडको प्रयोग ९० पीपीएमभन्दा बढी हुन नहुने स्पष्ट पारेको छ तर नेपालमा पाइने अधिकांश रंगमा अत्यधिक लिड (सिसा) मिसावट हुने गरेको छ ।

‘यस्ता लिड मानव स्वास्थ्यसँगै धातु वा भौतिक सामग्रीका लागि पनि हानिकारक छन्,’ रसायनविद् शाहले भने ।

संस्कृतिविद् धौभडेलका अनुसार, पहिले अबिर प्राकृतिक हुनथ्यो, चूनमा रंगरंगका फूल मिसाएर बनाइन्थ्यो । ‘शरीरमा घाउचोट लाग्दा त्यस्तो अबिरले औषधिको पनि काम गथ्र्यो,’ उनले भने ।

पहल संरक्षणको
प्राचीन स्मारक संरक्षण ऐन, २०१३ ले इतिहास, कला, विज्ञान, वास्तुकला वा स्थापत्यकलाको दृष्टिकोणले महत्त्व राख्ने एक सय वर्ष नाघेका मन्दिर, स्मारक, घर, देवालय, मठ, गुम्बा, विहार, स्तूप, हस्तलिखित वंशावली, ग्रन्थ, स्वर्णपत्र, ढुंगा, काठ, माटो, हाड, काँच, कपडा, धातु लगायतलाई प्राचीन स्मारक तथा पुरातात्त्विक वस्तुमा राखेको छ ।

यसको संरक्षणमा पुरातत्त्व विभाग वा स्थानीय निकाय लाग्नुपर्ने उल्लेख छ । स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय (पुरातत्त्व विभाग), भक्तपुरका प्रमुख मोहनसिंह लामाका अनुसार, भक्तपुरको स्वर्णद्वार मर्मतका लागि विभागले केन्द्रमा पत्राचार गरेको छ ।

‘हाम्रो तहबाट कोसिस थालिरहेका छौं,’ उनले भने,‘तर मूर्ति पुन: राखिसकेपछि मानिसहरूले छुँदै पूजा गर्न थाले फेरि उस्तै हुन्छ । इतिहास बचाउन सर्वसाधारण पनि जिम्मेवार हुनुपर्छ ।’

प्रकाशित : फाल्गुन १, २०७५ ०९:२५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×