कान्तिपुर आइकन : रंगमञ्चका नायक

दीपक अधिकारी

काठमाडौँ — ‘सरले हाम्रो फेस्टिभलमा एउटा सेसन चलाइदिनुपर्‍यो ।’ ‘म कम बोल्छु, तिमीलाई थाहा छ ।’ ‘हैन, सर कम बोल्नुहुन्छ तर जति बोल्नुहुन्छ, त्यो एकदमै गहन हुन्छ । विद्यार्थीले सिक्ने मौका पाउँछन्, आइदिनुपर्‍यो, सर ।’

ZenTravel


यो संवाद अनामनगरस्थित मण्डला थिएटरका निर्देशक राजन खतिवडा र नाट्यकर्मी सुनील पोखरेलबीचको हो ।

फागुन १३ देखि गर्न लागेको सातदिने अन्तर्राष्ट्रि्रय नाटक महोत्सव तयारीको धपेडीबीच खतिवडा उनका गुरु पोखरेलले ३ वर्षअघि छेवैमा खोलेको ‘ज्ञ’ नाटक घरमा यो अनुरोधसाथ हालैको बिहान आइपुगेका थिए ।

नेपाली रंगमञ्चका हस्ती पोखरेल काठमाडौंको यो कुनोबाट जीवनको अर्को अध्याय सुरु गर्दै छन् । त्यो पनि नेपाली वर्णमालाको अन्तिम अक्षरबाट नामकरण गरिएको नाट्य गृहबाट । यो नाम कसरी रहन गयो ? उनलाई सोधियो । ‘गुरुकुल भएन भने यो मेरो अन्तिम काम हो भनेर,’ उनी भन्छन्, ‘नाम जुराइदिएको चाहिँ कुमार नगरकोटीले ।’

फुलेको कपाललाई चुल्ठी पारेर बाँधेका यी ५५ वर्षे भेट्रान कलाकारका नजर तिखा छन्, उनका हरेक जवाफ नाटकका संवादजस्ता लाग्छन् ।

पुरानो बानेश्वरको एउटा थुम्कोमा पोखरेललेआफ्ना विद्यार्थी र सहकर्मीसँग मिलेर खोलेकोगुरुकुल झन्डै ९ वर्षसम्म चल्यो ।

त्यसले नेपाली नाट्य मञ्चन र प्रशिक्षणमा एउटा भिन्न मानक खडा गर्‍यो । आमकलाकर्मी र नाटकप्रेमीका लागि त एउटा तीर्थस्थलजत्तिकै थियो । पहिले लागूपदार्थ दुव्र्यसनीको अखडा रहेको ठाउँलाई पोखरेल नेतृत्वको टोलीले नाट्य मञ्चको केन्द्रमा रूपान्तरण गर्‍यो । जग्गाधनीले ठाउँ खाली गर्न भनेपछि धेरै राम्रा कुराहरूझैं त्यसको पनि असामयिक अन्त्य भयो । त्यसलाई भत्काउन कोही अघि नसर्दा पोखरेल आफैं अघि बढे घन बोकेर ।

त्यो दिन थियो, २०६८ पुस ३० । त्र जिन्दगीको एक दु:खद दिनको मिति उनी सम्झन चाहँदैनन् ।त्यस घटनाबाट उनी निकै विरक्तिए । केही वर्ष रंगकर्म नै त्यागिदिए । ३–४ वर्ष घरबाहिरै निस्केनन् । ‘त्यो मेरो जिन्दगीको जिरो आवर थियो,’ उनी सम्झन्छन्, ‘घरमा बस्थें, पढ्थें । रक्सी खान्थें, त्यो पनि बिहानैदेखि ।’

गुरुकुलका सुरुका वर्ष संघर्षमा बिते पनिनर्वेजियन कल्चरल फन्डबाट आर्थिक सहयोगआउन थालेपछि राम्रै भरथेग भएको थियो । गुरुकुल र पोखरेल दुवै उचाइमा पुगेका बेला त्यसको अवसान भयो । त्यसको शोकबाट तंग्रन उनलाई लामो समय लाग्यो । भन्छन्, ‘बुटवलमा समेत गुरुकुलखोल्ने योजना बनाएका थियौं । जग्गा मिलिसकेको थियो । अचानक बन्द गर्नुपर्‍यो । त्यसका लागि हामी तयार थिएनौं ।’

त्यो अन्तरालपछि उनले ३ वर्षयता ‘ज्ञ’ नाटकघरमार्फत आफ्नो अभियानलाई निरन्तरता दिइरहेका छन् । व्यक्तित्व विकासदेखि नाट्य कलाकारसम्म बन्ने लक्ष्यका साथ युवायुवती अनामनगरस्थित नाटकघरमा ३ महिने कोर्स गर्छन् । उनीप्रतिको सम्मान हामीले कुरा गर्दैगर्दा पनि देखिन्छ, उनका अगाडि टाउको निहुर्‍याएर अभिवादन गर्ने विद्यार्थीलाई आशीर्वाद दिन उनको एउटा हात व्यस्त रहन्छ ।

मण्डला थिएटरका संस्थापकमध्येका राजन खतिवडा सुनील पोखरेलले नेपाली रंगमञ्चमा ‘न्यु रेनेसाँ’ ल्याएको बताउँछ न् । ‘उहाँको नेतृत्वको आरोहण गुरुकुलले धेरै नाट्यकर्मी जन्मायो, त्यो उहाँको नेतृत्व र प्रेरणाका कारण सम्भव भयो,’ पोखरेलसँग ९ वर्ष काम गरेका उनी भन्छन् । खतिवडाका अनुसार गुरुकुल चालू रहँदा पोखरेलले देखेको सपना साकार पार्न उनका हितैषीको सहयोग मिलेको थियो ।

यसमा पोखरेल पनि सहमत छन् । ‘हाम्रा दर्शकको मुख्य स्रोत नै टीयू र कलेजका विद्यार्थी थिए, पछि त स्कुलका विद्यार्थी पनि आउन थाले,’ उनी भन्छन्, ‘टीयूका विद्यार्थी र शिक्षकले फ्रेन्ड्स अफ गुरुकुलसमेत बनाएका थिए ।’

नेपालको मध्यपहाडका आम किसान परिवारजस्तै उनको परिवार पनि पहाडबाट तराई बसाइँ सर्‍यो । खोटाङबाट विराटनगर नजिकै फराकिलो ठाउँ र जीविकाको खोजीमा बसाइँ सर्दा उनी ८ कक्षामा पढ्थे ।

‘पहाडमा साथी थिएनन्, घरहरू टाढा–टाढा हुन्थे,’ उनी भन्छन् । यो बसाइँसराइले उनमा दुइटा परिवर्तन ल्यायो– विराटनगरमा उनले अभिनयमा रुचि भएका साथी पाए, नाटकमा पनि रस बस्न थाल्यो । अन्तर्मुखी स्वभावका उनी सीमापारि भारतबाट आएका हिन्दी पत्रपत्रिकामा घोत्लिन्थे । कमलेश्वर, वेदप्रकाश शर्मा आदिका जासुसी उपन्यास पढेर हिन्दीमा पनि पोख्त भए ।

पोखरेलको कलाकारिताको वास्तविक सुरुवात २०३८ सालमा आरोहण स्थापना भएपछि भएको भन्न सकिन्छ । उनीसहित बद्री अधिकारी, समन्त कंसाकार, चन्द्रमाला शर्मा र प्रदीप श्रेष्ठ मिलेर आरोहण खोले । त्यही सेरोफेरोमा अशेष मल्लको अगुवाइमा सर्वनाम स्थापना भयो । पञ्चायतकालमा कतिपयले आरोहणलाई वामपन्थीनिकट र सर्वनामलाई प्रजातन्त्रवादी भने पनि दुवै नाट्य समूहले तत्कालीन पञ्चायती शासनविरुद्ध जनचेतना जगाउन भूमिका खेलेकामा दुई मत छैन ।

काठमाडौंमा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा जागिर खाइरहेका पोखरेलले एउटा जम्काभेटपछि भारतको नयाँदिल्लीस्थित नेसनल स्कुल अफ ड्रामा (एनएसडी) मा छात्रवृत्तिमा पढ्न पाए, जुन उनको नाट्य यात्रामा कोसेढुंगो सावित भयो । एक दिन प्रतिष्ठानमा मेकअप गर्न तीर्थ शेरचन आए ।

एनएसडीका स्नातक उनले कुरैकुरामा पोखरेललाई एनएसडीमा छात्रवृत्तिका लागि आवेदन दिन सुझाए । दुई रुपैयाँको टिकट राखेर आवेदन माग गर्नुपथ्र्यो । पहिलो वर्ष आएन । दोस्रो प्रयासमा उनलाई अन्तर्वार्ताका लागि नयाँदिल्ली बोलाइयो । हिन्दी फरर्र बोल्ने उनलाई कुनै सकस भएन । छात्रवृत्ति पाएर आवाससहित सम्पूर्ण सुविधामा दक्षिण एसियाकै उम्दा संस्थाबाट शिक्षा लिए । उनीपछि मात्र दुई जना नेपाली कलाकार (अनुप बराल र विमल सुवेदी) ले त्यो अवसर पाएका छन् ।

कुनै पनि क्षेत्रमा खरो उत्रन त्यसप्रतिको लगाव, मिहिनेत र प्रतिभाको सम्मिश्रण जरुरी हुन्छ । त्यो पोखरेलमा छ । अरू सुनील पोखरेलहरू जन्मिन नेपालमा पनि एनएसडीजस्तै संस्था चाहिन्छ । पोखरेलको गुरुकुल त्यसतर्फ लक्षित थियो तर यात्रा बीचैमा टुंगियो । एनएसडीजस्ता संस्था जन्माउन राज्यले लगानी गर्न‘पर्ने उनी बताउँछन् ।

शेक्सपियरले भनेका छन्, ‘अल द वर्ल्डस अ स्टेज ।’ पोखरेल पनि नाटक जीवनजस्तै हुने भएकाले आफू यसमा निरन्तर लागिरहेको स्विकार्छन् । उनी अभिनय गर्दा विभिन्न पात्रमा आफूलाई कसरी ढाल्छन् ? भन्छन्, ‘मान्छेमा हुने नीचता ममा पनि छ । त्यो म पात्रमार्फत फाल्छु । जीवनका भोगाइहरू अभिनयमा मिसाउँछु । नाटक सकिएपछि आनन्द आउँछ ।’ सायद नाटकमार्फत उनले कथार्सिस अर्थात् विरेचन अनुभव गर्छन् ।

प्रकाशित : फाल्गुन ३, २०७५ ०७:४३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

सिर्जना–कला विधाको कान्तिपुर आइकन घोषणा

कान्तिपुर संवाददाता

काठमाडौँ — कान्तिपुर फाउन्डेसनले ‘सिर्जना–कला’ विधाको कान्तिपुर आइकन नाट्यकर्मी सुनील पोखरेललाई प्रदान गरिने शुक्रबार घोषणा गरेको छ ।

४ विधामा प्रदान गरिने आइकनमध्ये यसअघि ‘विज्ञान–अन्वेषण’ विधामा वागवानी विज्ञ मुकुन्द रञ्जित र ‘समाज–राजनीति’ विधामा धुर्मुस–सुन्तलीलाई आइकन प्रदान गर्ने घोषणा गरिएको थियो ।

‘अर्थ–उद्यम’ विधाको आइकन शनिबार घोषणा गरिनेछ । जनही ५ लाख रुपैयाँ बराबरको स्वर्ण पदकसहितको उक्त सम्मान फागुन ६ गते काठमाडौंमा हुने विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदान हुने फाउन्डेसनले जनाएको छ ।

प्रकाशित : फाल्गुन ३, २०७५ ०७:४१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×