उत्पीडन विरुद्धको आवाज

सुनीता साखकर्मी

काठमाडौँ — चरम गरिबीको चपेटामा फसेको मान्छेले के सम्म गर्न सक्ला ? चोरी, डकैती, लुटपाटदेखि मानिसले आफ्नै छोराछोरीलाई पनि बेच्न पछि पर्दोरहेनछ ।

पुतली गाउँमा बस्ने शुक्लीकी हजुरआमाले पनि पैसा र जग्गा अधियाँ कमाउन पाइने लोभमा गाउँकै चलाख साहु दयारामलाई आफ्नी जेठी नातिनी बेचिदिन्छिन् । यो थाहा पाएर शुक्ली दिदी छुटाउन आफू पनि दयारामको घरमा पुग्छिन् । के शुक्ली दिदीलाई छुटाउन सफल हुन्छिन् त ? राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा चलिरहेको नाटक ‘पिँजडाको चरी’ यसैमा केन्द्रित छ ।

फ्रान्सेली निर्देशक म्याक्सिम सिसडले नेपालका सामाजिक कथाहरूलाई समेटेर नाटक ‘पिँजडाकी चरी’ तयार पारेका हुन् । कथा सामान्य छ । गाउँमा साहुमहाजनले आफ्नो चलाखीमार्फत सोझा गाउँलेलाई ठगेको र शोषण गरेको कथा नाटकमा छ । गम्भीर विषयमा नाटकलाई हास्य शैलीमा प्रस्तुत गरिएको छ । कलाकारका अभिनयले दर्शक हाँस्न बाध्य हुन्छन् । जब नाटक विषयको गहिराइमा छिर्दै जान्छ तब दर्शकको हृदयमा हलचल उत्पन्न गराइदिन्छ ।

नेपाल कृषिप्रधान देश भनिए पनि कृषिले मात्रै खान नपुग्ने पनि नेपालमा थुप्रै छन् । कृषि कामकै लागि ऋण लिन साहु–महाजन नै गुहार्नुपर्ने हालतमा कतिपय होलान् । तर साहुहरूले झूटो तमसुकमा सोझा किसानको जग्गा हडप्ने, मालपोतमा गई अर्काको जग्गा आफ्नो बनाउने गरेर दु:ख दिएका छन् ।

अहिले पनि मुलुकको ग्रामीण कर्जा प्रवाह उही परम्परागत नै छ । यही कारण मालिकको जग्गा अधियाँ कमाउन पाइने लोभमा आफ्नै सन्तान कमैया, कम्लरी पठाउने चलन नै विकास भएको थियो । शुक्ली र उनकी दिदी बेचिनुले पनि यही संकेत गर्छ ।

कानुनी रूपमा १९८२ सालमा नै चन्द्रशमशेरले दासप्रथा अन्त्यको घोषणा गरेका हुन् । २०५७ मा कमैया मुक्तिको घोषणा भयो । कम्लरीले सञ्चालन गर्दै आएको आन्दोलनलाई सम्बोधन गर्दै नेपाल सरकारले २०७० मा कम्लरी प्रथा अन्त्यको घोषणा गर्‍यो । तर उनीहरूका लागि बाँच्न उपयोगी स्रोत र साधनको परिपूर्ति भने गरिएन ।

आर्थिक अभावको कारण पेट पाल्न कतिपय पुन: कमैया बस्न गएका समाचारहरू यदाकदा आइरहन्छन् । आफ्नोजग्गा अरूले हडपेपछि नाटकको मोहन पात्र विद्रोही बन्छ । मन्त्रीदेखि साहुमहाजनलाई परास्त गर्न ऊ सफल हुन्छ । नाटकको मोहन पात्र हेर्दै गर्दा ‘कि त जोत् हलो, कि त छोड् थलो, यदि होइन भने अब छैन भलो’ भन्दै साहु–महाजनलाई चुनौती दिने भीमदत्त पन्तको याद मोहनले दिलाउँछन् । साहु–महाजनले मनपरी ब्याज बढाउँदै जाली तमसुक लेखेर भीमदत्त र उनका गाउँलेलाई दु:ख दिएको र भीमदत्तकै नेतृत्वमा जाली तमसुक जलाइएको घटना नेपाली इतिहासमा पढ्न पाइन्छ । यतिबेला भने ‘पिँजडाकी चरी’ ले दर्शकलाई मोहनको विद्रोही स्वभावमार्फत भीमदत्तकै याद दिलाइदिन्छ ।

मुलुकमा २५ प्रतिशत जनता अझै पनि भूमिहीन अवस्थामा छन् । २०२१ सालमा भूमिसुधारले जमिनदारी प्रथालाई कानुनी रूपमा समाप्त गरे पनि व्यावहारिक रूपमा भने त्यो कायमै रह्यो । २०५८ मा द्वैध स्वामित्व अन्त्य गर्न हदबन्दी तोके पनि कतिपय जमिनदारहरूले आफ्नै परिवारभित्र अंशबन्डा गरी जमिन वितरण गरेपछि भूमिहीन र सकुम्बासीलाई जमिन प्रदान गर्न राज्य असमर्थ रह्यो । त्यस्तै मोही किसानको अवस्था ज्यँुका त्यँु छ । सरकारले पटकपटक मोही र तल्सिङको जग्गा छुटाउने समय थपे पनि त्यो सुल्झिन सकेको छैन । व्यावहारिक रूपमा अहिले पनि मुलुकमा जर्जर सामन्तवाद र जमिनदारी प्रथा कायमै छ ।

गहन विषयलाई पनि रोचक ढंगले प्रस्तुत गर्न नाटक सफल छ । मञ्चमा पाश्लाक्पा शेर्पा, मनोज महर्जन, भूमिका थारू, सुनीता बाडे छन् । चार कलाकारले मञ्चमा थुप्रै पात्र चरित्र निर्वाह गरेका छन् । तर पात्र बदलिने सिलसिलालाई पनि निर्देशकले चलाखीपूर्वक हास्यात्मक बनाइदिएका छन् । जसले गर्दा नाटक हेर्ने दर्शकको ध्यान भड्किन पाउँदैन । प्रप्सको प्रयोग औचित्यपूर्ण छ । दुइटा लालटिन, दुई लट्ठी, एक पिँजडाको सुगा र कपडाका टुक्राबाटै पनि सुन्दर गाउँको बस्तीदेखि, मन्त्रीको आलिसान क्याबिन, दयाराम साहुको भव्य कोठाको सजावटको झल्को दिन्छ ।

गतवर्ष भएको अन्तर्राष्ट्रिय एकल नाटक महोत्सवमा निर्देशक म्याक्सिम नेपाल आएका थिए । उनले त्यति बेला नेपाली कलाकार र वाद्यवादकसँग केही दिनको तयारीपछि एउटा एकल नाटक निर्माण गर्ने अवसर पाए । कलाकार भूमिका थारूले थारू समुदायमा आधारित रहेर एउटा नाटक गर्ने इच्छा व्यक्त गरेपछि थारू समुदायमा विद्यमान विभेदी व्यवस्थाका बारेमा जानकारी लिएर नाटक गर्न आएको उनले बताएका थिए ।

‘नाटकले कुनै सीमा नभएको कथा, मानवबाट मानव उत्पीडित गरिने कथा बोकेको छ,’ उनले भनेका छन्, ‘मैले यस नाटकलाई तरंगका रूपमा कल्पना गर्ने गरेको छु, जीवन नै तरंग हो भन्ने विश्वास म राख्छु । नाटकमा युवा कलाकारलाईलिएर आपसी विकास र समृद्धिको उद्देश्यले निर्देशन गरेको छु ।’

रंगमञ्चमा प्रकाश परिकल्पना रूपेन्द्र शिवाकोटीले गरेका हुन्भने प्रकाश परिचालन धीरज थापामगरले । यस्तैध्वनि परिचालन आशिष काफ्लेलेगरेका छन् । नेपथ्यमा आरुषजंग सारु, कृष्णगोपाल कक्षपतीले सहयोग गरेका छन् । सिनोग्राफी समीक्षा राई र कृपा खड्गीले गरेका छन् । स्टेज म्यानेजमेन्ट आदित्य शर्माले गरेका छन् । समग्रमा नाटकराम्रो बनेको छ । फागुन ४ गतेसम्म सर्वनाममा चल्नेछ ।

प्रकाशित : माघ २७, २०७५ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्

महाकवि पुत्री

मैतीदेवी घरमा यदाकदा शास्त्रीय संगीतप्रेमीको माहोल बन्ने गथ्र्यो । शास्त्रीय उस्तादसितै महाकवि देवकोटा पनि रागका आलाप गुन्गुनाउँथे । त्यही माहोलले छोरी अम्बिकालाई संगीतपट्टि झुकाव बढायो ।
सुनीता साखकर्मी

काठमाडौँ — बुबा प्रख्यात साहित्यकार । घरमा प्राय: साहित्यिक माहोल जम्ने गथ्र्यो ।

तर, उनले साहित्यिक बाटो रोजिनन् । बुबाले बेलामौकामा बजाउने गरेको हारमुनियमको धुनले उनलाई लठ्यायो । उनले शास्त्रीय संगीतकै बाटो पछ्याइन् । अनि वसन्त रागमा तरना गाउने पहिलो महिला गायिका बनिन्– अम्बिकादेवी रिमाल ।


महाकाव्य, कविता, निबन्धबाटै महाकवि लक्ष्मीप्रसाद देवकोटा चिनिएका छन् । तर, महाकविको शास्त्रीय गायन र संगीतको मोहबारे थोरै मात्र परिचित रछन् । महाकवि बुबाकै प्रेरणाले उनकी माइली छोरी अम्बिका शास्त्रीय गायनतिर लागेकी हुन् ।


७६ वर्षीया अम्बिकादेवीका अनुसार यदाकदा मैतीदेवी घरमा शास्त्रीय संगीतप्रेमीको माहोल बन्ने गथ्र्यो । शास्त्रीय उस्तादसितै देवकोटा पनि रागका आलाप गुन्गुनाउँथे । त्यही माहोलले अम्बिकालाई संगीतपट्टि झुकाव बढायो । छोरीको संगीतप्रतिको झुकाव देखेरै देवकोटाले शास्त्रीय संगीतकर्मी चेतनाथ शर्मासित ट्युसन राखिदिए । ‘बिहानको एक घण्टा म गुरुसित सिक्थेँ,’ अम्बिकाले सम्झिन्, ‘शास्त्रीय राग र संगीतको आधारभूत कुरा चेतनाथ गुरुले मलाई सिकाउनुभयो ।’


अम्बिका १५/१६ वर्षको छँदा देवकोटाको निधन भएको थियो । त्यसैले महाकवि बुबासित अम्बिकाको धेरै लामा संस्मरण छैनन् । बुबाको सम्झना मन–मस्तिष्कमा उत्रनासाथ अम्बिका बुबाले बजाउने गरेको जीर्णकाय हार्माेनियम सुम्सुम्याउन पुग्छिन् उनी । बुबाको चिनोको रूपमा उनीसित हार्माेनियमबाहेक अन्य केही चीजबीज छैनन् ।

देवकोटाको निधन भएकै वर्ष अम्बिकाको एसएलसी परीक्षा थियो । अम्बिकालाई पढाउने, गाइड गर्ने कोही पनि भएन । बुबाको निधनपछि एक दिन आमाले कोठा सफा गर्दैगर्दा एसएलसीका नोटहरू लेखिराखेको भेट्टाएकी थिइन् । अनि अम्बिकालाई त्यो सबै दिइन् । ‘त्यही पढेर पास भएकी हुँ,’ उनले भनिन् ।


एसएलसी पास गरेपछि पद्मकन्यामा पढ्दै थिइन् उनी । त्यहाँ शिक्षिका इन्दिरा पाण्डे बरोदाबाट भर्खर शास्त्रीय संगीत पढेर आएकी थिइन् । कार्यक्रमतिर अम्बिकाले गाएको सुनेपछि उनैले ‘तपार्इंको शास्त्रीय गायन राम्रो छ, भारतमा गएर पढ्नुस्’ भन्ने सल्लाह दिइन् । त्यसपछि अम्बिकाले बरोदाको विद्यालयमा आवेदन दिइन् र, छात्रवृत्ति पाएर पढ्नका लागि भारत गइन् । त्यहाँ शास्त्रीय संगीतमा स्नातक गरेर नेपाल फर्किएपछि उनले संवत २०२६ सालमा रेडियो नेपालमा प्रवेश पाइन् । त्यहाँ उनले शास्त्रीय संगीत गाउन थालिन् । २०२८ मा उनी त्यहाँ स्थायी भइन् । यसरी नै २०३२ सालसम्म रेडियो नेपालमा उनले निरन्तर शास्त्रीय गीत, संगीत गाइन् । कतिवटा गीत गाइन् भन्ने संख्या यकिन उनलाई याद छैन । ‘अहिले त्यो रेकर्ड हुनुपर्ने हो, मेटियो होला अब त,’ अम्बिकाले सुसाउँदै भनिन् ।


त्यसबेला काठमाडौंमा वसन्त रागमा ‘तरना’ गाउने महिलामा अम्बिका एक्लै थिइन् । नारायणहिटी दरबारभित्र तत्कालीन राजा महेन्द्रका छोराहरू वीरेन्द्र, ज्ञानेन्द्र र दुई शाहज्यादीको विवाहमा शास्त्रीय संगीतको प्रस्तुति उनले दिएकी थिइन् । ‘मेरो पालो अन्तिममा थियो । मभन्दा अघि गाउनेले गाइसकेपछि कार्यक्रम सिद्धियो भनेर सबै दर्शक फुतुफुतु निक्किन थाले,’ उनले भनिन्, ‘मैले वसन्त रागमा तराना गाउन थालेपछि उठेर जान खोजेका बसे, गइसकेका पनि फेरि फर्किएर आए ।’ गाउँदै गर्दा महेन्द्रलाई उनको गायकी मनपरेपछि ‘अर्काे एउटा नि गाऊ’ भन्दै फर्माइस गरेका थिए ।


रेडियो नेपालमा अम्बिकालाई शम्भु मिश्र, होमनाथ गुरुहरूले साथ दिन्थे । पूर्णप्रसाद प्रधानलाई उनी शास्त्रीय गायनको नक्षत्र नै मान्छिन् । एक पटक संस्कृति मन्त्रालयअन्तर्गत नाचघरमा कार्यक्रममा पूर्णप्रसादले अम्बिकाको परीक्षासमेत लिए । ‘कत्तिको सिकेर आउनुभयो ? खै, मसित गाउनुस् त’ भन्दै तानपुरा लिएर बसे । अनि अम्बिकालाई गाउन लगाए । गाउँदागाउँदै पूर्णप्रसादले बीचमा ‘विसम’ मारे । त्यसपछि ‘तपाईंले सिकेर चाहिं आउनुभएको रैछ । अब विसम पनि मार्न सिक्नुपर्छ’ भन्दै प्रोत्साहित गरेका थिए रे । अम्बिकाले बुबा लक्ष्मीप्रसादको ‘कुन मन्दिरमा जान्छौ यात्री..’ कवितालाई तोडी रागमा रेडियो नेपालमा धेरैचोटि गाएकी छन् । हंस ध्वनिमा बुबाका कविताहरू गाउँथिन् उनी । देवकोटाको एउटै ‘पुतली’ कविता थुप्रै शास्त्रीय रागमा गाएको उनलाई अहिले सपनाजस्तै लाग्छ ।


अम्बिका अहिले उनी गाउन सक्दिनन् । ‘गीत गाउन खोज्दा दमले उनको घाँटीलाई रोकिदिन्छ, गीत गाउन नसक्दा दिक्क लाग्छ,’ उनले भनिन्, ‘पहिलेको गायन र गायकी सम्झँदा आफैंलाई दु:ख लाग्छ ।’ अहिले उनी कान पनि कम सुन्छिन्, कानमा मेसिन नलगाएसम्म उनले सुन्न सक्दिनन् । ‘न आफ्नो गीत अरूलाई सुनाउन सक्छु, न म अरूको गीत खुला कानले सुन्न सक्छु,’ उनले भनिन् ।


मैतीदेवीमा रहेको देवकोटा निवास केही महिनाअघि मात्रै सरकारलाई संग्रहालयको रूपमा दिने सम्झौता उनले गरेकी छन् । देवकोटाले यो घर आफ्नी कान्छी छोरीलाई दिएका थिए । कान्छी बहिनीको निधन भइसकेकाले दाजुहरूसित सल्लाह गरी अम्बिकाले यो निर्णय लिएकी हुन् । त्यही संग्रहालयमा बुबाको अन्तिम चिनोको रूपमा रहेको हार्माेनियम पनि हस्तान्तरण गर्ने सोच अम्बिकाको छ ।


प्रकाशित : माघ १९, २०७५ १२:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्