२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

लेखक फुरूक्क, निर्देशक ढुक्क

फिल्म

काठमाडौँ — सुविन भट्टराईलाई उपन्यासकारका रूपमा चिनाएको थियो, ‘समर लभ’ ले । खासगरी युवा पाठकमाझ । सोही कृतिमा आधारित रही मुस्कान ढकालले निर्देशन गरेको फिल्म ‘समर लभ’ शुक्रबारदेखि प्रदर्शनमा आउने तरखरमा छ ।

लेखक फुरूक्क, निर्देशक ढुक्क

यति बेला सबैभन्दा बेचैनी कसैलाई भए सुविनलाई नै होला । टेलर हेरेर खासै उत्साहित नभएका उनी फिल्म हेरेपछि भने फुरुक्क परेछन् ।


‘अढाई घण्टाको फिल्ममा पूरा उपन्यास अटाउन सम्भव नहुँदो रहेछ,’ हालैको भेटमा भट्टराईले भने, ‘तर उपन्यासको मर्मलाई फिल्मले त्यति धेरै मर्न दिएको छैन ।’ उनले फिल्म आशा गरेभन्दा माथि बनेको टिप्पणी गर्दै थपे, ‘इंगेजिङ, इन्टरटेनिङ र इमोसनल यी तीन चीजलाई फिल्मले कतै पनि छुटाएको छैन । बाँकी अरू कतिपय कुरामा असमझदारी अहिले पनि छ । फिल्म हेरिसकेपछि भने प्रसन्न छु । लेखकका नाताले मैले लेखेका कतिपय कुरा फिल्ममा ठ्याक्कै आएका छन् । इमोसनल पार्टमा मेरा आँखा पनि लगभग रसाए ।’


फिल्मको टेलर आएपछि आफ्ना पाठकको प्रतिक्रिया सकारात्मक पाएका छैनन् भट्टराईले । ‘मेरै रेस्पोन्स राम्रो थिएन । क्यारेक्टर भएन, एक्टिङ भएन, एक्सप्रेसन भएन भन्ने जस्ता कमीकमजोरी मेरा पाठकले औंल्याउनुभएको छ । मेरो धारणा पनि त्यही थियो । तर फिल्म हेरेपछि त्यो धारणामा म अलिकति परिवर्तन भएँ,’ फिल्मको पटकथामा समेत सहयोग गरेका उनले भने, ‘फिल्मप्रति अलिकति पोजिटिभ भएको छु ।’


लेखकसँगै रहेका निर्देशक ढकालले भने चर्चा बटुलिसकेको कथामा फिल्म बनाउनु साँच्चै गाह्रो काम भएको सुनाए । तैपनि फिल्मले दर्शकलाई निराश नबनाउनेमा उनी आशावादी छन् । ‘कुनै चर्चित कृतिमा फिल्म बनाउनु धेरै नै गाह्रो काम रहेछ,’ उनले भने, ‘धेरैले पढेको र रुचाएको पुस्तकबारे धेरै थाहा हुन्छ । तर मैले पुस्तकलाई फिल्ममा ठ्याक्कै उतारेको छु भन्ने लाग्छ ।’ त्यसो भए ‘समर लभ’ नै किन ताके त उनले ? उनी जवाफिए, “समर लभ’ भन्दा राम्रा उपन्यास अरू पनि नभएका हैनन्, तर फिल्मका लागि यसैलाई छान्नुको पछाडि यो बढी क्याजुअल भएर हो । सयौं वर्षअघिका कुरा देखाउनभन्दा क्याजुअल कुरा देखाउन सजिलो हुने भएकोले यसलाई छानेको हुँ । यो उपन्यासमा आम मानिसको जीवनशैली छ ।’


फिल्मलाई सम्पादन टेबलमा हेरिसकेपछि भट्टराईलाई फेरि त्रिवि परिसर घुम्न मन लागेको रहेछ । भने, ‘पुस्तक पढेपछि पाठकलाई टीयू घुम्नै पर्छ भन्ने भाव पैदा भएजस्तै फिल्म हेरेपछि मलाई पनि त्यही भयो । फिल्म हेरेर पग्लिहाल्ने, रोइहाल्ने मान्छे त म हैन, तर यो हेर्दा त्यस्तो भएको छ ।’


अझै पनि भट्टराई आफ्ना पात्र अतीत र सायामा अभिनीत कलाकारलाई लिएर ‘डाउट’ नै छन् । ‘किताबकै जस्तै ठ्याक्कै भेटे कस्तो हुन्थ्यो होला भन्ने त लाग्छ, लेखकका हिसाबले त्यो स्वाभाविक पनि होला, तर फिल्म हेरिसकेपछि भने यो कास्टिङ पनि राम्रो छ भन्नेमा पुगेको छु,’ उनले भने । फिल्ममा अतीत शर्माको भूमिकामा आशिष पिया र साया शाक्यको भूमिकामा रेवती क्षत्रीले अभिनय गरेका छन् । दुवैका लागि ‘समर लभ’ पहिलो फिल्म हो ।


भट्टराई ‘समर लभ’ का पाठकले भन्दा उपन्यास नपढेका दर्शकले फिल्म बढी रुचाउने ठान्छन् । पाठकका लागि फिल्म जजमेन्टल हुन सक्ने उनको धारणा छ । भने ‘कमीकमजोरी खोज्ने र तुलना गर्ने हुन सक्छ । यहाँ यो दृश्य आएन भन्ने हुन सक्छ । पुस्तकका कति दृश्य फिल्ममा अटाएका छैनन् । सबै अटाउनुपर्छ भन्नु मूर्खता पनि हो । तैपनि फिल्म त राम्रै बनेछ है भन्ने उहाँहरूलाई पनि लाग्छ । पुस्तक नपढेकाहरूले भने निश्चय पनि बढी रमाइलो मान्नुहुनेछ ।’

प्रकाशित : माघ २४, २०७५ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?