आरम्भ डबली ‘अब नरोकिने’

सुनसरी — दर्जनौं नटक मञ्चन र अनेक कलाकार जन्माए पनि आरम्भ नाट्य डबली आर्थिक अभाव, कलाकार पलायन जस्ता कारणले थिलथिलिएको थियो । आफ्नो तीसौं स्थापना दिवसमा आरम्भ लामो समयपछि नाटक लिएर पुस अन्तिम साता देखा परेको थियो ।

आरम्भ डबली ‘अब नरोकिने’

रंगमञ्च पारखीहरूलाई खुसीको खबर ! आरम्भले अब मासिक रूपमा नाटक मञ्चन गर्ने भएको छ । पूर्वको रंगमञ्चमा खडेरी आएका बेला यस्तो घोषणा गर्दै आरम्भका अध्यक्ष तथा नाट्य निर्देशक गोपाल देवानले भनेका छन्, ‘धरान र धराने रंगमञ्चलाई विगतमा झैं फेरि राष्ट्रिय रंगकर्मको आधारशिविर बनाएर नियमित नाटक मञ्चन गर्ने संकल्प गरेका छौं ।’


रंगमञ्चको दुनियाँमा समाज निर्माणकै लागि प्रयास गरिरहेको उनले बताए । दर्जनौं नाटक मञ्चन र अनेक कलाकार जन्माएको आरम्भले सिर्जनशीलतालाई व्यवसायीकरण गर्न चुकेको अनुभवलाई पाठका रूपमा सम्झिने पनि उनले सुनाए । ‘पछिल्लो समयमा नयाँ कलाकार पनि जन्मिएकाले हामी आधुनिक प्रविधि र साजसज्जासाथ दर्शकश्रोतामाझ आउने तयारीमा जुटेका छौं,’ उनले भने ।


धरानमा नाटक मञ्चनको इतिहास विसं १९९७ सालसम्म पुग्छ । दुई दशक अघिसम्म नेपाल प्रज्ञा प्रतिष्ठानसँग समानान्तर रूपमा नाटक प्रदर्शन गरे पनि सुविधायुक्त रंगमञ्चीय हल वा नाटक घर भने धरानमा निर्माण भएको छैन । देवान भन्छन्, ‘काठमाडांैलाई रंगमञ्चमा चुनौती दिने धरानसँग सुविधायुक्त हल नहुनु अत्यन्त दु:खद र दुर्भाग्यपूर्ण स्थिति हो । यसमा राज्यको नकारात्मक सोचले मुख्य भूमिका खेलेको छ । तैपनि हामीले हार मानेका छैनौं ।’


धरानको रंगमञ्चबाटै नवीन सुब्बा, प्रेम सुब्बा, शोभा खजुम, शारदा सुब्बा, शारदा शाक्य, शशि थापा सुब्बा, सुरज नाल्बो, सुरज थापा, नवीन मेन्याङबो, राजेन्द्र रिमाल, अल्पना कर्माचार्य, विनोद तखाछे, कुलचन्द्र न्यौपानेलगायत फिल्मी कलाकार र निर्देशकसम्म भएर उदाए । आरम्भले प्रज्ञा प्रतिष्ठान र पूर्वका विभिन्न हलमा ‘आदि बिनाको अन्त्य’, ‘अधुरो क्यानभास’, ‘त्याग’, ‘पृथक् पृथक् खोजहरू’, ‘अब बाँसुरी बज्दैन’, ‘यिनीहरू देश खोजिरहेछन्’ जस्ता नाटक मञ्चन गरेको थियो ।


राज्यले साहित्य, कला र रंगमञ्चलाई अनुत्पादक र आफ्नो विरोधी सत्ता मान्ने गरेको भन्दै देवान पछिल्लो राजनीतिक परिवर्तनपछि कलाकारमा आशा पलाएको बताउँछन् ।


आरम्भले स्थापना दिवसमा हालै ‘यातनाको अन्त्य’ नाटक प्रदर्शन गरेको थियो । टिकट दुई सय रुपैयाँ राखिए पनि होटल रत्नहिनको दुई सय जना क्षमताको हलमा उक्त नाटक पहिलो पटक ‘हाउसफुल’ भएको थियो । दर्शकश्रोताकै अनुरोधमा माघ ११ मा फेरि दुई सो मञ्चन गरिएको थियो ।

प्रकाशित : माघ २४, २०७५ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?