१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सपना देख्न सिकाउने गोपी

काठमाडौँ — कर्णाली प्रदेशकी कृषिमन्त्री कमला केसी बुधबार काठमाडौं आउँदै थिइन्, 
‘गोपी’ को कर्पोरेट शोको निम्तो पाइन् । उनको यात्रा सोझियो कमलपोखरीस्थित सिटी सेन्टरतिर ।

सपना देख्न सिकाउने गोपी

‘यो फिल्ममा गाई पाल्नेको कथा छ भन्ने सुनेकी थिएँ’, फिल्म सो हुनुभन्दा अगाडिको छोटो औपचारिक कार्यक्रममा उनले भनिन्, ‘कर्णालीलाई अग्र्यानिक प्रदेश बनाउने योजना भइरहेको बेला फिल्ममा के रहेछ भनेर चासो बोकेर यहाँ आएँ ।’ उनले कर्णालीमा पशुपालनको सम्भावना ठूलो भए पनि दूध आपूर्तिमै समस्या रहेको र मान्छेहरू रक्सीतिर बढी तानिएको बताउँदै थपिन्, ‘रक्सी हैन, दूध पिऔँ भन्ने नारा नै बनाइरहेका छौं हामी । युवाहरूलाई रक्सीबाट छुटाउन यो एउटा उपाय हुन सक्छ ।’


फिल्म हेरेर निस्केपछि उनै मन्त्रीले भनिन्, “गोपी’ ले युवाहरूलाई सपना देख्न सिकाउने रहेछ । सपना साकार पार्न मिहिनेत पनि गर्न सिकाउने रहेछ ।” उनले युवाहरूको श्रम विदेश पलायन भइरहेको बेला मुलुकभित्रै केही गर्नुपर्छ भन्ने सन्देश दिने ‘गोपी’ युवाहरूका लागि त झनै अर्थपूर्ण रहेको दाबीसमेत गरिन् । ‘विदेशमा टाइलेट सफा गर्ने तर मुलुकमा केही पनि गर्न नचाहने प्रवृत्तिमाथि पनि प्रहार छ यो फिल्ममा,’ उनले भनिन् ।


केसीसँगै संघीय सरकारका कृषिमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले पनि क्यापिटल म्यागजिनले गरेको कर्पोरेट सोमा फिल्म हेरेका थिए । कुनै समय आफू पनि कलाकार रहेको उल्लेख गर्दै उनले ‘गोपी’ हेरेपछि नीतिगत रूपमा सरकारले गर्नुपर्ने धेरै पक्षबारे पत्तो पाएको बताए । ‘पशुपालक उद्यमीहरूका समस्या नजिकबाट महसुस गरें,’ उनले भने, ‘बजार व्यवस्थापन, बिमादेखि

ऋण प्रवाहीकरणसम्मका नीतिलाई कसरी व्यावहारिक बनाउने भन्ने बोध भएको छ ।’


कृषिमन्त्रीले यसो भन्दै गर्दा उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले ‘गोपी’ ले औंल्याएजस्तै कृषिलाई रोजगारी उत्पादन र आत्मनिर्भर हुने क्षेत्रका रूपमा सरकारले अघि

बढाउनुपर्ने सुझाइन् ।


उता दुग्ध उद्योगी सुमित केडियाले ‘दूध उत्पादकहरूको समस्याले छोएपछि आफू दोस्रो पटक फिल्म हेर्न आएको’ बताए । उनले सोमबारको विशेष सोमा पनि ‘गोपी’ हेरेका थिए । ‘फिल्ममा जस्तो दूधमा पानी हालेर बेच्नेहरू पनि थुप्रै छन्,’ उनले भने, ‘यो सामान्य समस्या पक्कै हैन । किसानको पीडाको गहिराइ बोल्छ फिल्मले ।’ कलाकार र निर्देशकतिर नियाल्दै उनले भने, ‘हामीजस्ता उद्यमीहरूको समस्या पनि अब फिल्ममा आउनुपर्‍यो ।’


उद्यमीहरूबीच बहस चल्दै गर्दा निर्देशक दीपेन्द्र लामा भने मख्ख थिए । सामान्य कथावस्तु समातेर पनि धेरै महत्त्वपूर्ण सामाजिक समस्यालाई बहसमा ल्याउन सकिन्छ भन्ने देखाउन उनी फिल्ममा सफल पनि छन् । यसअघि अन्तरजातीय विवाहको कथावस्तु समातेर ‘घामपानी’ बनाएका उनको यो दोस्रो फिल्म हो ।


‘यो फिल्मको अवधारणा एउटा पुस्तक पढेपछि विकास भएको थियो,’ टेलिभिजन पत्रकार रोहित भण्डारीको पुस्तक ‘नेपालमै सकिन्छ’ को नाम लिँदै उनले भने, ‘मुलुकभित्रै युवाहरूलाई कसरी उद्यमशील बनाउन सकिन्छ भन्ने सन्दर्भमा घोत्लिँदै जाँदा यो फिल्म तयार भएको हो ।’


विपिन कार्की, वर्षा राउत र सुरक्षा पन्तको मुख्य भूमिका रहेको ‘गोपी’ मा गाईपालक कृषकको कथा समेटिएको छ । फिल्मले दृढ इच्छाशक्ति र निरन्तरको प्रयासले मुलुकभित्रै सफल उद्यमी बन्न सकिन्छ भन्ने सन्देश दिन्छ । गोपीका रूपमा विपिनले गरेको अभिनयको धेरैले प्रशंसा गरे ।


यसअघि ‘प्रसाद’ मा पनि उनको भूमिकालाई धेरैले मन पराएका थिए । विश्वविद्यालयको गोल्ड मेडलिस्ट उनी मुलुकबाहिरको ठूला सम्भावनालाई समेत लत्याएर कसरी सफल गाईपालक बन्न संघर्ष गर्छन् ? फिल्मले यही कथा भन्छ ।


फिल्मको पटकथा लेखेका हुन् सामीप्यराज तिमल्सिनाले । मणिकर्ण केसी निर्माता र श्रीधर पौडेल कार्यकारी निर्माता रहेको फिल्म शुक्रबारदेखि मुलुकभर रिलिज हुँदै छ ।


प्रकाशित : माघ १७, २०७५ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?