पहिचान अभावमै अघि बढ्दै के–पप

‘के–पप आफैं विभिन्न संस्कृति र संगीतबाट प्रभावित भएकाले हामीलाई यो विधा बिगारेको आरोप लाउनु व्यर्थ छ । के–पप जापानी र अमेरिकी संस्कृतिको मिश्रण हो’

काठमाडौँ — के–पप आर्टिस्ट बन्न कोरियान मूलकै हुनुपर्छ ? यही प्रश्नको उत्तर खोज्न बोरा किमले ‘ईएक्सपी एडिसन’ समूह निर्माण गरेकी थिइन् । शैक्षिक प्रयोजनका लागि स्थापना गरिएको समूह अहिले आएर विश्वकै पहिलो गैरकोरियाली कोरियन–पप ब्यान्ड बन्न पुगेको छ । तर, यो आलोचित छ ।

पहिचान अभावमै अघि बढ्दै के–पप

सांस्कृतिक विचलनको आरोप लगाइएको छ । सदस्यलाई ज्यानकै धम्की आउँछन् । तथापि तीन वर्षदेखि ब्यान्ड तगडा रूपले अघि बढेकै छ ।


दक्षिण कोरियामा हुर्किएकी किमले विद्यालय जीवनमा के–पप सुनिन् । पप, हिप–हिप, कोरियन र अंग्रेजी घोलिएका गीत–संगीतले उनीजस्ता हजारौं पारखीलाई आकर्षित गरेका छन् । नेपालमै पनि के–पप पछयाउने युवा जमात ठूलो छ । सन् २०१४ मा अमेरिका गएर कोलम्बिया युनिभर्सिटीमा पढ्न थालेपछि किमले के–पपको वास्तविक परिभाषा खोज्न थालिछन् ।


‘कोरिया बाहिरकाले पनि कोरियन संस्कृति आत्मसात् गर्छन् भन्ने थाहा पाएँ,’ उनले बीबीसीसँग भनेकी छन्, ‘कोरियनले गाए मात्रै के–पप हुन्छ र भन्ने लाग्यो । अरूलाई पनि यसमा सहभागी गराउन चाहेँ ।’

उनले गैरकोरियन संगीतकर्मी भेला पारेर के–पप ब्यान्ड सुरु गर्ने सुर कसिन् । यही ब्यान्डमाथि शोधपत्र तयार गर्दैगर्दा उनी ब्यान्डलाई कसरी विस्तार गर्ने भन्नेमा द्विविधा भएको स्मरण गर्छिन् ।


‘अडिसन लिएर छ जना छान्यौं अनि ईएक्सपी एडिसन नाम राखियो,’ उनले भनिन्, ‘२०१५ मा मेरो थेसिस प्रेजेन्टेसनका लागि ब्यान्डले नयाँ गीत सार्वजनिक गर्नुपरेको थियो । तर, कोरियन भाषा नबुझ्ने, के–पप संस्कृतिसँग खास नभिजेका सदस्य भएकाले गाह्रो पर्‍यो ।’ समूहमा क्रोएसियन मूलका सिम कोस्टा, पोर्चुगलका फ्रांकी डापुन्टे, जापानी–जर्मनी कोकी टमलिसन र न्यु योर्कका हन्टर कोल र दा आबद्ध छन् ।


कोरियामा आर्टिस्टहरूलाई ठूला म्युजिक कम्पनीले ग्रुम गराउने चलन छ । के–पप जगतमा पाइला चाल्नुअघि तिनलाई गम्भीर प्रशिक्षणमार्फत टिलिक्कै टल्काउने गरिन्छ । सामान्य स्तरका के–पप आर्टिस्ट पनि नृत्य र गायनमा कुशल बन्छन् । के–पप आर्टिस्ट बन्नका लागि ईएक्सपी एडिसनले केही महिनाकै तालिममा भर पर्नुपरेको थियो, अरूले वर्षाैं लगाएर गर्ने तालिम तिनले केही महिना मात्र गर्न पाए । किमसँग भाषा सिके, नृत्य र गायनका कक्षा लिए । केही महिनापछि ‘लभ/रङ....’ बोलको पहिलो गीत सार्वजनिक गरे ।


गीत खास नचले पनि लाइभ सोमार्फत ब्यान्ड चिनिन थाल्यो । किमको पढाइ सकिएपछि ब्यान्ड थप ऊर्जासाथ संगीतमा लागिपर्‍यो । घरपरिवार र देशै छोडेर अमेरिकी युवा किमसँगै कोरिया आए । ‘त्यो ब्यान्डका लागि सबैभन्दा ठूलो निर्णय थियो,’ किमले भनिन्, ‘यो कदम नचाले पछुतो हुनेछ भन्ने महसुस भएपछि हामी सबै कोरिया आयौं ।’


२०१७ मा ब्यान्डले म्युजिक भिडियो सार्वजनिक गर्‍यो । स्थानीयले आफूहरूलाई सहयोग र समर्थन गरेको किमले सम्झिन् । ‘कतिले त हामीलाई के–पपबारे पुनर्विचार गर्न सिकायौ भने,’ उनले भनिन्, ‘तर, यो कदापि के–पप बन्न सक्दैन भन्नेहरू पनि छन् ।’


नक्कली के–पप भन्दै ब्यान्ड सदस्यलाई धम्की आउने गरेको छ । सामाजिक सञ्जालमा ब्यान्डको खिल्ली उडाउनेदेखि घृणा फैलाउनेसम्म गरिन्छ । ‘हामीले कोरियन संस्कृति बिगारेको आरोप लगाउनेहरू छन्,’ किमले भनिन्, ‘हामीले के–पपकै बेइज्जत गरेको भन्छन् ।’


के–पप आफैं विभिन्न संस्कृति र संगीतबाट प्रभावित भएकाले आफूहरूलाई यो विधा बिगारेको आरोप लाउनु व्यर्थ भएको किमको भनाइ छ । ‘के–पप जापानी र अमेरिकी संस्कृतिको मिश्रण हो,’ उनले तर्क गरिन्, ‘यसमा गायन, र्‍याप, नृत्यलगायत विविध विधाको फयुजन गरिन्छ ।’ ग्लसी म्युजिक भिडियो यसको अर्को पहिचान हो ।


ईएक्सपी एडिसनले के–पपलाई नयाँ ध्वनि प्रदान गर्न सक्ने लिभरपुल युनिभर्सिटीका हायकुङ उमले बीबीसीलाई बताएका छन् । ‘यसलाई के–पप मान्ने कि नमान्नेमा द्विविधा छ,’ उनले ब्यान्डबारे भनेका छन्, ‘कोरियाबाहिर स्थापना भएको समूह हो जुन के–पप स्टायलबाट प्रभावित छ । कोरियाबाहिर अथेन्टिक के–पप उत्पादन गर्ने समूह हो यो ।’


ब्यान्ड के हो भन्ने प्रश्नले नै यो ब्यान्डको नाम फैलाइरहेको छ ।


–एजेन्सी

प्रकाशित : मंसिर २१, २०७५ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?