कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

“नाच फिरिरी...” ले चिनिए महेश

काठमाडौँ — असारे झरीको एक दिन । महेश काफ्ले घरकै झयालमा बसेर बाहिरी माहोलमा रमाइरहेका थिए । हावाको एक झोक्काले दिमाग हल्लायो । कलम चलाए— ‘हावा चल्यो सिरिरी...’ । उनले त्यही मेलोडीमा गीत पनि भर्दै गए र जन्म्यो— ‘नाच फिरिरी...’ ।

“नाच फिरिरी...” ले चिनिए महेश

महेशकै रचना, संगीत र गायन रहेको उक्त गीतले युटयुबमा अपलोड गरिएको चार महिनाभित्र ३ करोड ११ लाखभन्दा बढी भ्युज पाइसकेको छ । महेश रातारात चम्किएका छन् ।


‘गीत राम्रो बनाउँm भन्ने थियो । बनाउने क्रममा जसजसले सुने र प्रशंसा गर्न थाले, त्यति बेला ए राम्रै बनेको होला भन्ने त लागेको थियो, तर यो तहको सफलता पाउला भनेर सोचेकै थिइनँ,’ महेशले कान्तिपुरसँग भने ।


महेशको पारिवारिक पृष्ठभूमि सांगीतिक नै छ । बुबा भोजराज लोक संगीतमै छन् । दाइ दिनेश पनि ‘आमा, रातो सारी चुरा पोते किन नलाको...’ गाएपछि श्रोतामनमै छन् । ‘सानैदेखि मलाई गाउन मन थियो, तर पनि डयाडीको मप्रति ध्यान थिएन,’ महेशले सुनाए, ‘ममीलाई गएर म पनि गाउँछु भनेर करकर गर्थें । पछि डयाडीले ४/५ गीत गाउन दिएर रहर मेटाइदिनुभयो ।’ महेशको गाउने रहर भने त्यसपछि झन् जाग्दै गएको थियो । तर पढे, म्यानेजमेन्ट अनि पेसा रोजे खेलकुद पत्रकारिता । संगीतबाट झन्डै दस वर्ष टाढिए । ‘पत्रकारिता गर्दै जाँदा मैले आफैंलाई चिन्दै गएँ,’ उनले भने, ‘मेरो रुचि संगीत नै हो भन्ने अनुभूति भयो । संगीतमा नै मैले केही गर्नुपर्छ भन्ने लाग्दै गयो ।’


महेशले त्यसपछि जागिर छोडिदिए । छँदाखाँदाको जागिर छोड्दा साथीभाइ मात्रै नभई घरकै पनि छक्क परे । ‘दस दिनअघिसम्म म साथीभाइका लागि खेलकुद पत्रकार नै थिएँ,’ उनले सुनाए, ‘एकाएक यो गीत आउँदा साथीहरूले नै अचम्म माने । घरमा समेत म संगीतमै लाग्छु भनेर भनेको थिइनँ । जागिर छोड्ने कुरा पनि धेरैपछि भनेको थिएँ ।’


‘नाच फिरिरी...’ युटयुबमा अपलोड हुनु के थियो, सुरुवातबाटै भ्युअर्स बटुल्न थाल्यो । संगीतका जानकारहरूबाट गीतले भन्न खोजेको कुरामा प्रस्टता र मौलिक गायन यसको बलियो पक्ष रहेको प्रतिक्रिया पाउँदा महेश दंग छन् । ‘यस्ता कुराले सुरुसुरुमा खुसी लाग्दो रहेछ । तर बिस्तारै त्यही

कुरा बोझ बन्दै जाने रहेछ । अर्को झन् खतरा आउनुपर्छ भन्ने आशा बोक्ने रहेछ यसले,’ ३/४ महिनाभित्र अर्को गीत ल्याउने तयारीमा रहेका उनले भने ।


संगीतका तीनै विधामा हात हाले पनि महेश आफू गायक अझै हुन नसकेको ठान्छन् । भने, ‘गायकको रूपमा म आफैंलाई पनि ठीक लाग्दिनँ । बरु कम्पोजर र लिरिसिस्टमा बढी सहज महसुस गर्छु ।’ हुन पनि उनी गीतको लय र रचना साथसाथै गर्ने भएकाले यही प्रक्रियामा आफूलाई सहज मान्ने रहेछन् । गीत सुन्नेहरूले भने उनको पृथक् गायनलाई बढी प्रशंसा गरेको उनलाई पनि थाहा छ ।


‘नाच फिरिरी...’ गायनमा उनलाई गायिका मेलिना राईले साथ दिएकी छन् । गीतको भिडियो निर्देशक निश्चल बस्नेतले बनाएका हुन् । भिडियोमा स्वस्तिमा खड्कासँग बस्नेतले नै अभिनय पनि गरेका छन् ।

प्रकाशित : मंसिर ११, २०७५ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?