कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाली चलचित्रको गीतमा सन्नी लियोन 

नविन पोखरेल

लन्डन — चर्चित बलिउड नायिका सन्नी लियोन निर्माणाधिन नेपाली चलचित्र ‘पासवर्ड’ को एउटा गीतमा छायांकन गरेर लन्डनबाट मुम्बइ फर्किएकी छन् ।

सन्नीसहित अन्य कलाकारहरु सहभागी गीतको छायांकन दुई दिन लगाएर गत साता लन्डनको किङस्टनस्थित प्रिज्म नाइट क्लबमा गरिएको थियो ।


सन्नीले विक्रम जोशीको रचना र अर्जुन पोख्रेलले संगीतवद्ध गरेको ‘आजको शाम बेबी...’ भन्ने गीतमा नृत्य गरेकी हुन् । चर्चित भारतीय कोरियोग्राफर विष्णु देवा पनि मुम्बइबाट लियोनसंगै आएका थिए कोरियोग्राफीका लागि । देवा दबंग २, बडीगार्ड, राउडी राठोर, ओ माइ गड, बेबी लगायत बलिउन सिनेमाका कोरियोग्राफर हुन् । उक्त गीतको छायांकनका लागि मात्र करिब ५ करोड रुपैयाँ खर्च भएको र सन्नीको खर्च साढे ३ करोड रुपैयाँ लागेको निर्माण पक्षको दावी छ ।


कलाकारको पारिश्रमिक तथा अन्य खर्च जोड्दा लन्डनमा छायाँकन गरिएको सो गीत नेपाली चलचित्रकै अहिलेसम्मकै सबैभन्दा खर्चिलो गीत भएको निर्माताको दावी छ ।


३ वटा क्लब र ९ वटा बार रहेको प्रिज्ममा संसारकै चर्चित डिजे तथा कलाकारहरुले कार्यक्रम गर्ने गरेका छन् ।


‘नेपाली चलचित्र पासवर्डको नृत्य सिक्वेन्समा सहभागी हुन पाउँदा मलाई निकै खुसी लागेको छ’, शुटिङ सकेर मुम्बइ फर्कनुअघि लियोनले भनिन् ‘मलाई नेपाल निकै मन पर्छ र मलाई विश्वास छ नेपाली दर्शकहरुले यो चलचित्र मन पराउनुहुनेछ ।’


चलचित्रका एकजना नायक तथा सह निर्माता विक्रम जोशीले बेलायतमा चलचित्रको सुटिङ सकिएको र यही डिसेम्बरभित्र पोस्ट प्रोडक्सनको काम सक्ने योजना रहेको बताए । चलचित्र सन् २०१९ मा रिलिज हुने बताइएको छ ।


सिनेम्याक्स लन्डन लिमिटेडसंगको सहकार्यमा बनाउन लागिएको सो पहिलो फिल्ममा चलचित्र ‘हयाप्पी डेज’ मार्फत अभिनयमा डेब्यु गरेका विक्की जोशी, दुई नवनायिका परी राना, लिसा सुनार, छुल्ठिम गुरुङ, अनुपविक्रम शाही, रविन्द्र झा, बुद्धि तामाङ र विक्रान्त बस्नेत मुख्य कलाकार छन् । विक्की फिल्मका क्रिएटिभ निर्देशकसमेत हुन् ।


सस्पेन्स, एक्सन र थ्रीलरले भरिपूर्ण उक्त फिल्मको निर्देशन सम्राट बस्नेतले गरेका छन् । यसअघि सम्राटले दर्जनौं फिल्ममा एक्सन कोरियोग्राफी गरिसकेका छन् । पासवर्डमा सौरभ लामाको छायांकन जिम्मेवारी छ भने फिल्मलाई सीमा गुरुङ, एलिस अधिकारी, विक्की जोशी र सम्राट बस्नेत मिलेर लेखेका हुन् ।


झण्डै ९० प्रतिशत भन्दा बढी छायांकन बेलायतमा र अरु नेपालमा गरिएको यो फिल्मलाई नेपालको चलचित्र विकास बोर्डसहित ब्रिटिश फिल्म इन्स्टिच्यूटमा समेत दर्ता गरिएको छ ।


नेपालबाट आएका २० जना कलाकार तथा प्राविधिकहरुको टोलीले लन्डन, बर्नमाउथ, ससेक्सलगायतका ठाउँमा फिल्मको छायांकन गरेको थियो ।


शुरुमा १३ करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न गर्ने योजना रहेको उक्त फिल्मको कुल निर्माण खर्च ३० करोड रुपैयाँ पुग्ने दावी निर्माताको छ । यो अहिलेसम्मकै सबैभन्दा बढी लागतको नेपाली चलचित्र हुने निर्माता जोशीले बताए । हिरल जोशी र अमित बस्नेतले फिल्ममा लगानी गरेका छन् ।


प्रकाशित : मंसिर ५, २०७५ ११:०४

प्रतिक्रिया
पठाउनुहोस्

बेलायत सहमति बिनै इयूबाट बाहिरिन पनि तयार

नविन पोखरेल

लन्डन — बेलायत सरकारले कुनै सहमति बिना नै युरोपीयन युनियन (इयू) बाट बहिर्गमन भए यसबाट पर्न सक्ने असरबारे यहाँका जनता र ब्यवसायीलाई वैकल्पिक सल्लाह सामाग्री प्रकाशित गरेको छ ।

बेलायतको प्रमुख प्रतिपक्षी दल र बहुमत ब्यवसायीहरुले बिना सम्झौता बेलायत बाहिरिए ठूलो आर्थिक तथा सामाजिक समस्या बेहोर्नुपर्ने चेतावनी दिइरहंदा सरकारले पहिलो चरणमा २५ कागजातको ‘नो डिल ब्रेक्जिट एड्भाइस’ आएको हो ।

बेलायत सरकारले इयूसंग सहमतिका लागि प्रयास सधैं जारी राख्ने तर जस्तोसुकै परिस्थिति सामना गर्न तयार रहनुपर्ने भएकाले सावधानी गराउन जरुरी रहेको बताएको छ ।

इयू विरोधीहरुले भने विश्व ब्यापार संघसंग निकटतालगायत बेलायतको आफ्नै व्यापारिक नीति तय गर्न सकिने तर्क अघि सार्दै इयूको डरबाट बाहिर आउनुपर्ने बताएका छन् ।

इयूले भने आफ्नो तयारी पहिले नै गरिसकेको छ । बेलायत आगामी मार्च २९, २०१९ देखि इयूबाट औपचारिक रुपमा बहिर्गमन हुँदैछ । यसपछि बेलायत र इयूबीच के कस्तो सम्बन्ध हुने भन्ने सम्झौताको निक्र्यौल हुन बांकी नै छ । कुन शर्त राखेर बेलायत इयूबाट निस्कने भन्नेमा बेलायतभित्र चर्को मतभेद छ । बेलायत सरकारले इयूसंग फ्री मुभमेन्ट अन्त्य गरि सामान र सेवाका लागि मात्र इयू कमन मार्केटमा रहिरहने शर्त अघि सारेको छ । तर, बेलायतको यस्तो प्रस्ताव इयूले अस्वीकार गरिसकेको छ । इयूको फ्री मुभमेन्टले इयू आप्रवासी संख्या बेलायतमा निकै बढेपछि इयू विरोधी जनमत बढेको विश्वास गरिन्छ ।

बेलायतको जम्मा निर्यात ब्यापार यस वर्षको मार्चसम्ममा सबैभन्दा उच्च ६२० दशमलब २ अर्ब पाउण्ड पुगेको छ । सामानको १० प्रतिशत र वित्तीय एवं ट्राभल गरि सेवामुलक ४ दशमलब २ प्रतिशतले वृद्धि भएको छ ।

आयात र निर्यात गरि करिब ५० प्रतिशत बेलायतको ब्यापार इयूसंग रहेकाले बिना सम्झौता बेलायत बाहिर निस्के आर्थिक रुपले मुल्य चुकाउनुपर्ने लन्डनस्थित अर्थ ब्यवस्थापन बिज्ञ विकलचन्द्र आचार्य बताउँछन् । इयू कमन मार्केट छोडी बिश्व ब्यापार संघको नियममार्फत ब्यापार गर्न महंगो हुने र केहि समयका लागि बेलायत अस्थिरतातर्फ उन्मुख हुने ब्रेक्जिट जानकार आचार्यको विश्लेषण छ ।

बेलायतको स्वास्थसेवा, सुरक्षा, कृषि, वित्तीय आदि क्षेत्रमा इयूको भूमिका उल्लेखनीय छ । युरोपियन युनियनबाट आउने कामदारको सहज आपूर्तिबिना बेलायतको ब्यवसायमा प्रतिकुल असर पर्ने ब्यवसायीहरुले बताउंदै आएका छन् ।
सन् २०१६ जुनमा भएको जनमत संग्रहमा ५२ प्रतिशतले इयू छोड्नुपर्नेमा मतदान गरेका थिए । ब्यवहारिक झन्झट, आर्थिक उथलपुथल, नियम कानुनको झमेला तथा वार्तामा सोचे अनुरुप प्रगति हुन नसकेका कारण इयू छोड्नुपर्ने भन्ने बेलायती जनमतमा केहि ह्रास आएको विश्लेषकहरु बताउँछन् । इयू छोड्नुपर्ने पक्षधरको मुल मुद्दा भने बढ्दो आप्रवासी संख्या कम गर्न कडा ब्रेक्जिट सम्झौता नै हुनुपर्ने अडान छ ।

बेलायतमा हाल करिब ३० लाख इयू देशका आप्रवासी छन् । उत्तरी आयरल्याण्डको सीमा समस्या समाधानबारे पनि सहि नीति अवलम्बन गर्नुपर्ने हुन्छ । सन् १९९८ मा भएको शान्ति सम्झौता अनुरुप आइरिस रिपब्लिक एवं उत्तरी आयरल्याण्डबीच कुनैपनि चेक पोष्ट राख्न नपाउने प्रावधान छ । आउँदो अक्टोबरभित्र इयूको कमन मार्केट एवं भन्सार संघ बेलायत रहने वा छोड्ने अथवा कुन सर्तमा रहने भन्ने कुराको निक्यौल गर्नुपर्ने छ । यस अवधिसम्म प्रधानमन्त्री टेरेजा मेको नेतृत्वको परीक्षण हुने आंकलन गरिएको छ ।

आगामी मार्च २०१९ मा आधिकारिक रुपले बेलायत इयूबाट बहिर्गमन भएपनि अर्को दुई वर्ष संक्रमणकालीन सम्झौता अनुरुप बेलायतले इयूको सबै नियम कानुन मान्नुपर्ने कुरामा सहमति भइसकेको छ । बेलायतको सत्तारुढ दल कन्जरभेटिभ पार्टीसंग संसदमा स्पष्ट वहुमत नभएकाले आफ्नो ब्रेक्जिट नीतिमा अडिक रहिरहन प्रधानमन्त्री मेलाई सहज छैन् ।

प्रकाशित : भाद्र ८, २०७५ १७:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×