सिक्किमे महोत्सवमा नेपथ्य- मनोरञ्जन - कान्तिपुर समाचार

सिक्किमे महोत्सवमा नेपथ्य

कान्तिपुर संवाददाता

काठमाडौँ — केही दिनअघि स्वयम्भूमा गुन्जेको लोकरक ब्यान्ड नेपथ्य अब भारतको सिक्किममा सुनिने भएको छ । आफ्ना पुराना प्रशंसकहरूको क्षेत्र सिक्किमको राबाङमा ब्यान्डले मंगलबार नेपाली लोकरक घन्काउँदै छ  ।

राबाङ टुरिज्म फेस्टिभलका अवसरमा नेपथ्यले प्रस्तुति दिन लागेको हो ।

केही साताअघि मात्रै पहिलो विमानस्थल सञ्चालनमा आएपछि सिक्किम यति बेला भारत र छेउछाउका गन्तव्य पर्यटकहरूको केन्द्र बन्दै गएको छ । संयोगले उक्त विमानस्थल बनाउने चरणमै पाक्योङले केही वर्षअघि नेपथ्यलाई निम्त्याएको थियो ।

सिक्किमको पाक्योङस्थित सेन्ट जेभियर्स स्कुलको विशाल मैदानमा त्यति बेला प्रस्तुत हुँदै गर्दा नेपथ्यका अगुवा अमृत गुरुङले त्यस राज्यको थप समृद्धि र विकास अब निकै नजिक आइपुगेको भन्दै सयौं दर्शकश्रोतालाई बधाई तथा शुभकामना दिएका थिए ।

‘सिक्किमका डाँडाकाँडामा नेपथ्यको संगीत गुन्जँदै आएको छ । नेपथ्यको संगीत यहाँका युवा र प्रौढ सबै पिँढीमाझ लोकप्रिय छ,’ राबाङ पर्यटन महोत्सवका अध्यक्ष जिग्मे वाङचुक भुटियाले विज्ञप्तिमा भनेका छन्, ‘रेडियो र टीभीमा सुन्दै हेर्दै आएको लोकप्रिय ब्यान्डलाई राबाङमा प्रत्यक्ष हेर्न सुन्न हामी आतुर छौँ ।’

सिक्किम कन्सर्टमा अमृतलाई ड्रममा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाउनेछन् ।

प्रकाशित : कार्तिक ९, २०७५ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्

जुर्मुराउँदै अर्केस्ट्रा

‘अर्केस्ट्रा म्युजिक संवाद पनि हो । एउटा समूहले बजाएको सुनेर अर्कोले त्यही अनुरूप बजाउनुपर्छ । अर्काको काममा ध्यान दिनुपर्छ ।’
कान्तिपुर संवाददाता

काठमाडौँ — दसैंको सन्दर्भ पारेर नयाँ बानेश्वरको प्रज्ञा कुञ्ज स्कुलमा हालैको सातासम्म भायोलिन बजिरहयो  । त्यहाँ नर्वे र नेपालका वाद्यवादकले ‘च्याम्बर म्युजिक पर्फरमेन्स’ का लागि अभ्यास गरेका थिए  ।

अर्केस्ट्रा म्युजिकमा नर्वे र नेपालले विगत तीन वर्षदेखि सहकार्य गर्दै आएका छन् । हरेक वर्ष सिम्फोनी अर्केस्ट्रा गर्दै आएकोमा यसपालि च्याम्बर म्युजिक प्रस्तुत गरिएको समूहको नेतृत्व गरिरहेको भायोलिन गुरु राजकुमार श्रेष्ठले जानकारी दिए ।

च्याम्बर म्युजिकमा ५० भन्दा कम वाद्यवादक संलग्न हुन्छन् । टोलीमा ४२ जना थिए । यिनले विभिन्न समूहमा विभाजित भएर धुन सुनाए । सोलो, डयु र ट्रियो राखिएनन् । क्वार्टेट अर्थात् चार जनाको समूहदेखि माथिले मात्रै प्रस्तुति दिए ।

प्रज्ञा कुञ्जमै भएको कार्यक्रममा पश्चिमा धुन सुनाइए । मोजार्टदेखि मेन्डेलसोन, टेलम्यान र चाइकोभस्कीका कम्पोजिसन प्रस्तुत गरिएको श्रेष्ठले जानकारी दिए । केटाकेटीका समूहले भने विभिन्न राइम्स सुनाए । नेपालमा अर्केस्ट्रा म्युजिकको माहोल जुर्मुराउँदै गरेको श्रेष्ठले बताए ।

‘भर्खर थाहा हुँदै छ मान्छेलाई,’ उनले भने, ‘हामी यो विधाको विकासका लागि कोसिस गरिरहेका छौं । पहिलेभन्दा सुधार भएको छ ।’

अघिल्लो वर्ष नर्वे–नेपाल प्रोजेक्ट अन्तर्गत सिम्फोनी अर्केस्ट्रा प्रस्तुत गरिँदै आएकोमा यसपालि च्याम्बर अर्केस्ट्रा मुख्य अकर्षण थियो । सिम्फोनीमा वुडविन्ड्स, ब्रास, पर्कसन र स्ट्रिङ समूहका बाजा समेटेर ५० भन्दा बढी वाद्यवादकले प्रस्तुति दिए । च्याम्बर सानो समूह हो । यसमा एउटा मात्रै परिवारका बाजा (जस्तो– स्ट्रिङ वा वुडविन्ड) बाट प्रस्तुति दिन सकिन्छ ।

‘सिम्फोनी गर्दा कसले कस्तो बजायो भनेर ध्यान दिन गाह्रो पर्‍यो,’ श्रेष्ठले सुनाए, ‘च्याम्बरमा प्रत्येक वाद्यवादकलाई परख गर्न सकिन्छ । हामी प्रस्तुतितिरभन्दा शिक्षणमा बढी केन्द्रित हुन खोज्दै छौं ।’ घरका एक–एक सदस्यलाई बलियो बनाए सिंगो परिवार सशक्त हुने ठानेर टिचिङमा जोड दिएको उनको भनाइ थियो ।

अर्केस्ट्रा विधाले मान्छेलाई सामाजिक हुन सिकाउने श्रेष्ठको बुझाइ छ । समूहमा रहँदा एकोहोरो हुन नपाउने र सहकार्यको अर्थ बुझिने बताए । ‘अर्केस्ट्रा म्युिजक संवाद पनि हो’, उनले थपे, ‘एउटा समूहले बजाएको सुनेर अर्कोले त्यहीअनुरूप बजाउनुपर्छ । अर्काको काममा ध्यान दिनुपर्छ ।’

प्रकाशित : कार्तिक ९, २०७५ ०८:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×