जुर्मुराउँदै अर्केस्ट्रा

‘अर्केस्ट्रा म्युजिक संवाद पनि हो । एउटा समूहले बजाएको सुनेर अर्कोले त्यही अनुरूप बजाउनुपर्छ । अर्काको काममा ध्यान दिनुपर्छ ।’
कान्तिपुर संवाददाता

काठमाडौँ — दसैंको सन्दर्भ पारेर नयाँ बानेश्वरको प्रज्ञा कुञ्ज स्कुलमा हालैको सातासम्म भायोलिन बजिरहयो  । त्यहाँ नर्वे र नेपालका वाद्यवादकले ‘च्याम्बर म्युजिक पर्फरमेन्स’ का लागि अभ्यास गरेका थिए  ।

जुर्मुराउँदै अर्केस्ट्रा

अर्केस्ट्रा म्युजिकमा नर्वे र नेपालले विगत तीन वर्षदेखि सहकार्य गर्दै आएका छन् । हरेक वर्ष सिम्फोनी अर्केस्ट्रा गर्दै आएकोमा यसपालि च्याम्बर म्युजिक प्रस्तुत गरिएको समूहको नेतृत्व गरिरहेको भायोलिन गुरु राजकुमार श्रेष्ठले जानकारी दिए ।

च्याम्बर म्युजिकमा ५० भन्दा कम वाद्यवादक संलग्न हुन्छन् । टोलीमा ४२ जना थिए । यिनले विभिन्न समूहमा विभाजित भएर धुन सुनाए । सोलो, डयु र ट्रियो राखिएनन् । क्वार्टेट अर्थात् चार जनाको समूहदेखि माथिले मात्रै प्रस्तुति दिए ।

प्रज्ञा कुञ्जमै भएको कार्यक्रममा पश्चिमा धुन सुनाइए । मोजार्टदेखि मेन्डेलसोन, टेलम्यान र चाइकोभस्कीका कम्पोजिसन प्रस्तुत गरिएको श्रेष्ठले जानकारी दिए । केटाकेटीका समूहले भने विभिन्न राइम्स सुनाए । नेपालमा अर्केस्ट्रा म्युजिकको माहोल जुर्मुराउँदै गरेको श्रेष्ठले बताए ।

‘भर्खर थाहा हुँदै छ मान्छेलाई,’ उनले भने, ‘हामी यो विधाको विकासका लागि कोसिस गरिरहेका छौं । पहिलेभन्दा सुधार भएको छ ।’

अघिल्लो वर्ष नर्वे–नेपाल प्रोजेक्ट अन्तर्गत सिम्फोनी अर्केस्ट्रा प्रस्तुत गरिँदै आएकोमा यसपालि च्याम्बर अर्केस्ट्रा मुख्य अकर्षण थियो । सिम्फोनीमा वुडविन्ड्स, ब्रास, पर्कसन र स्ट्रिङ समूहका बाजा समेटेर ५० भन्दा बढी वाद्यवादकले प्रस्तुति दिए । च्याम्बर सानो समूह हो । यसमा एउटा मात्रै परिवारका बाजा (जस्तो– स्ट्रिङ वा वुडविन्ड) बाट प्रस्तुति दिन सकिन्छ ।

‘सिम्फोनी गर्दा कसले कस्तो बजायो भनेर ध्यान दिन गाह्रो पर्‍यो,’ श्रेष्ठले सुनाए, ‘च्याम्बरमा प्रत्येक वाद्यवादकलाई परख गर्न सकिन्छ । हामी प्रस्तुतितिरभन्दा शिक्षणमा बढी केन्द्रित हुन खोज्दै छौं ।’ घरका एक–एक सदस्यलाई बलियो बनाए सिंगो परिवार सशक्त हुने ठानेर टिचिङमा जोड दिएको उनको भनाइ थियो ।

अर्केस्ट्रा विधाले मान्छेलाई सामाजिक हुन सिकाउने श्रेष्ठको बुझाइ छ । समूहमा रहँदा एकोहोरो हुन नपाउने र सहकार्यको अर्थ बुझिने बताए । ‘अर्केस्ट्रा म्युिजक संवाद पनि हो’, उनले थपे, ‘एउटा समूहले बजाएको सुनेर अर्कोले त्यहीअनुरूप बजाउनुपर्छ । अर्काको काममा ध्यान दिनुपर्छ ।’

प्रकाशित : कार्तिक ९, २०७५ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?