२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

‘जय भोले’ निर्देशकलाई ‘ग्लानि हुन्छ अचेल’

कान्तिपुर संवाददाता

काठमाडौँ — दुई फिल्मको प्रदर्शन मिति एकै दिन भएपछि ‘छक्का पञ्जा ३’ र ‘जय भोले’ बीच टकराव हुने देखिएको थियो  । तर, आपसी सहमतिमा ‘जय भोले’ को रिलिज मिति ‘छक्का पञ्जा’ भन्दा पर सारियो  ।

‘जय भोले’ निर्देशकलाई ‘ग्लानि हुन्छ अचेल’

यस्तो गरेकोमा ‘जय भोले’ का निर्देशक अशोक शर्माले अचेल आफूलाई ग्लानि महसुस हुने बताएका छन् ।

‘एकै दिन भएको भए अझ बेटर हुने रहेछ,’ उनले भने, ‘सुरुमा छक्का पञ्जा सुनसान थियो । राम्रो रिभ्यु आएपछि मात्रै फिल्म चलेको हो ।’ सँगै रिलिज गरेको भए आफ्नो फिल्मले थप व्यापार गर्ने उनको आशय थियो । दसैंका बेला आफ्नो मात्रै फिल्म रिलिज गर्छु भन्नु अब सम्भव नभएको उनले बताए । ‘यो बेला फिल्मको व्यापार राम्रो हुन्छ,’ उनले भने, ‘सोलो फिल्म लाउनेबारे कसैले नसोचे हुन्छ ।’

आगामी वर्ष दसैंमै शर्माको ‘रातो टीका निधारमा’ रिलिज हुने तय भइसकेको छ । फिल्मको खाकाबाहेक केही तयार भएको छैन । तिहारपछि स्क्रिप्ट लेख्न सुरु गर्ने उनले जानकारी दिए । दोस्रो हप्तामा प्रदर्शनरत ‘जय भोले’ को व्यावसायिक प्रगति विवरण सुनाउनुका साथै फिल्मसम्बन्धी अन्य समसामयिक विषयमा कुरा गर्न बुधबार शर्माले पत्रकार सम्मेलन गरेका थिए ।

फिल्म वितरण संस्था डिजिटल सिनेमा नेपाल (डीसीएन) की संकलन तथा वितरण शाखा प्रमुख सीता मैनालीको दाबीअनुसार, ‘जय भोले’ ले पहिलो सातामा ३ करोड २ लाख ७२ हजार २ सय ४९ रुपैयाँ ग्रस कलेक्सन गरेको छ । असोज ३० मा रिलिज भएको फिल्म देशभरिका हल गरी जम्मा ११५ स्क्रिनमा देखाइएको थियो । बुधबारदेखि तीन वटा स्क्रिन थपिएको शर्माले जनाए ।

शर्माले फिल्मबाट आफू निकै सन्तुष्ट रहेको बताएका थिए । ‘छक्का पञ्जा’ जस्तो ब्रान्डसँग रिलिज गराउँदा फिल्मले यत्तिको व्यापार गर्ला भन्नेमा आफू ढुक्क नरहेको सुनाए । ‘मैले यति कमाइ होला भन्ने सोचेको थिइनँ,’ उनले भने, ‘प्रतिक्रिया भने मिश्रित आइरहेका छन् । म आफ्नो हरेक फिल्मबाट पाठ सिक्छु । अर्को पटक के–के सुधार गर्ने भन्नेबारे बुझ्दै छु ।’

कार्यक्रममा उपस्थित कलाकार बुद्धि तामाङले अहिले प्रदर्शनमा रहेका दुवै फिल्म आफैंमा राम्रो भएको प्रतिक्रिया दिए । ‘छक्का पञ्जा’ र ‘जय भोले’ मध्ये एउटा रोज्न आग्रह गर्दा उनले यस्तो बताएका थिए ।

फिल्म वितरकसमेत आफैं भएकाले शर्माले ‘छक्का पञ्जा’ भन्दा आफ्नो फिल्मलाई बढी स्क्रिन दिएको भन्नेबारे उनीसँग जिज्ञासा राखिएको थियो ।

‘अहिलेको जमानामा कसैले ढाँट्न सक्दैन,’ शर्माले भने, ‘हो, सुरुमा जय भोलेलाई २४ र छक्का पञ्जालाई १७ सो दिइएको थियो । तर, अहिले छक्का पञ्जाको धेरै सो छ ।’ दीपाश्री निरौलाको फिल्मले राम्रो व्यापार गरिरहेको छ भने त्यही फिल्म लगाउन आफूले हलवालाहरूलाई सल्लाहसमेत दिएको शर्माको दाबी छ । ‘मेरो फिल्मलाई अर्को हलमा सिफ्ट गर्दा हुन्छ भनेको थिएँ,’ उनले भने ।

प्रकाशित : कार्तिक ८, २०७५ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?