३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

पश्चिमका महिलाको सुखदु:खको साथी डेउडा

मेनुका ढुंगाना

अछाम — निर्मला जैसीलाई डेउडा दोहोरी खेल्न कसैले भेटदैन । मंगलसैन ६ की उनी गाउँघरमा हुने विवाह, व्रतबन्धमा प्राय: छुटदिनन् । नाचगान (रत्यौली) मा डेउडा कहाँ छुटनु !

पश्चिमका महिलाको सुखदु:खको साथी डेउडा

‘डेउडामा मायाप्रेम, सुखदु:ख, हाँसो र पीडाको भाव समेटिएको हुन्छ,’ उनी भन्छिन्, ‘सुदूर र मध्यपश्चिमका विभिन्न जिल्लामा बिहे र व्रतबन्धमा अनिवार्य रूपमा डेउडा अनिवार्य रूपमा खेल्ने गरिन्छ । हामी महिलाको सुखदु:खको साथी हो यो ।’


सुख, राति छ जंगलको बाटो, सर्प चिल्ला कि
भाइको भाग बुवाको अंश, माग्या मिल्ला कि
एकै खर्क दुई बौरानी जेठी छुइ जान्या हो
छोरी भई जन्मनुभन्दा गर्भ तुइ जान्या हो...
छोरी भएकै कारण दु:ख पाएकाहरूले अझै पनि मेलापात, घाँसदाउरा, पानीपँधेरो, खेतबारी जाँदा यस्तै मार्मिक डेउडा गीत गाउने गर्छन् । महिनावारी हुँदा टाढाको छाउपडी गोठमा जानुपर्ने बाध्यता, पराईघर जाने भनेर जन्मेदेखि हरेक कुरामा गरिने भेदभाव, छोरीलाई काम मात्रै लगाउनुपर्छ भन्ने मान्यता बढी रहेका सुदूरपश्चिमका गाउँमा महिलाहरूको दु:ख बिसाउने मेलो हुने गरेको छ डेउडा । गोठालो जाँदा, महिनावारी भएर सबै छोरी एउटै गोठमा बस्नु परेका बेला डेउडा सहारा हुने गरेको छ ।


डेउडालाई कर्णाली प्रदेशको मुख्य पहिचानको रूपमा लिने गरिन्छ । ठाडी भाका, न्याउले, डेउडा दोहारीमा धेरैजसो सुखदुु:खका भाव व्यक्त गर्ने गरिन्छ ।
जूनभन्दा तेपाया राम्डा, तारा किरीकिटी
दूध भनी लायाको माया, किन छिरबिटी...
‘आकाशको तारा चन्द्रमाजति चम्किलो हुन्न,’ निर्मला अथ्र्याउँछिन्, ‘त्यस्तै सुरुमा माया दूधझैँ पवित्र हुने भए पनि पछि अनेक बाध्यताले गर्दा सम्बन्धले मूर्त रूप पाउन सक्दैन, छरपस्ट हुन्छ भन्ने भाव दिएको छ यो डेउडाले ।’


अछाम लगायत सुदूर पश्चिमका प्राय: जिल्लाका धेरैजसो पुरुष धन कमाउन भारत जाने गर्छन् । सबैले एकनाले कमाउन सक्दैनन् । कोहीकोही घरपरिवार छोडेर उतै भासिन बाध्य पनि हुन्छन् । डेउडा गीतमा त्यस्ता सन्दर्भ पनि आउने गरेको निर्मला सुनाउँछिन् ।


आउने क्वै नाइँ जाने क्वै नाइँ,
क्या कराउँछै काग
परदेशी हँु, परदेशै छु, परदेश मेरा भाग...
डेउडा पश्चिम नेपालको चिनारीको महत्त्वपूर्ण अंग भए पनि प्रविधिको विकाससँगै पारम्परिक हिसाबको भाकाप्रति युवा पुस्तामा रुचि घटै गएको मंगलसैन(७ का कित्थे दमाईं बताउँछन् । ‘अहिले गाउँघरमा हुने बिहे, व्रतबन्धमा खेलिने रत्यौली पनि हराउने अवस्थामा पुगेको छ,’ उनी भन्छन्, ‘यो पुस्ता रहुन्जेल मात्र यो संस्कृति रहनेछ । त्यसपछि यसको परिचय नै भेट्टाउन मुस्किल हुन्छ कि जस्तो लाग्छ । अहिलेका छोराछोरीले डेउडाको बारेमा चासो लिँदैनन् । यस्ता गीतहरू रेडियोमा बज्दा बेन्ड बदलिहाल्छन् । यो दु:खद पक्ष हो ।’

‘डेउडा र देउडा फरक हो’
डेउडा र देउडालाई एउटै मान्छन् अचेलका धेरै संगीतकर्मी । ‘तर यी दुइटै शब्दले फरकफरक अर्थ दिन्छन्,’ सुदूरपश्चिमका पुराना डेउडा गायक सुरत रावत ‘डोटेली कान्छा’ भन्छन्, ‘डेउडा भनेको माया, प्रेम, सुखदु:ख, पीडालाई गीतको माध्यमबाट बाहिर ल्याउने कला हो । देउडा भनेको भगवान्सम्बन्धी गीत हो, सांगीतिक उपासना हो ।’ उनले देउडाको उदाहरण दिँदै गाए :
शिवकी पार्वती राम्री, रामचन्द्रकी सीता
देश भन्दो घरबारी होइजा,
कर्म भन्दो बिता...
डेउडामा आममानिसका सन्दर्भ आउने उनले सुनाए :
जेठ वैशाख गर्मी महिना, काफल खाई हेल्नु
गैली सेल बसीखेर, पिरती लाई हेल्नु...
‘पहिलो गीतमा भगवानो प्रसंग उक्काइएको छ । दोस्रो गीतमा जेठ(वैशाखमा गर्मी हुने भएकाले छाया परेको ठाउँमा बसेर पिरतीका कुरा गर्नु भनिएको छ,’ रावत भन्छन्, ‘पछिल्लो समयमा सुदूरपश्चिमका कलाकारहरूले नै यो संस्कृतिमा विकृति मिसाएका छन् । बोलचालका एकदुई शब्द मिसाएर गीत गाउँदैमा संस्कृतिको संरक्षण भएको मानिन्न । आफ्नो संस्कृति, रीतिरिवाज, चालचलनको बारेमा अध्ययन पनि हुनुपर्छ ।’


रावतका अनुसार, देउडा र डेउडा खेल्दा पोसाक र गरगहना छुट्टाछुट्टै हुने गरेका भए पनि अहिले त्यस्ता गरगहना पनि लोप हुँदै गएका छन् ।

प्रकाशित : आश्विन १०, २०७५ १२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?