२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

इन्द्रायणीलाई खुसी पार्न सिद्धपोखरी झिलीमिली

सुनीता साखकर्मी

भक्तपुर — ‘यस पालि हावाले निकै दु:ख दियो,’ बाल्दै गरेको दियो निभेपछि उर्मिला हाकुदुवालले भनिन् ।
जवाफमा उनकी साथी बोलिन्, ‘भजन गायो भने निभ्दैन कि ?’ अनि उनीहरूले विभिन्न देवदेवताका भजन गाउन थाले । संयोग पनि हुन सक्छ, तर हावा रोकियो । सिद्धपोखरीभरि क्रमश: दियोको झिलीमिली छायो ।

इन्द्रायणीलाई खुसी पार्न सिद्धपोखरी झिलीमिली

इन्द्रजात्राका अवसरमा सोमबार साँझ हाकुपटासीमा सजिएर ४९ वर्षीया उर्मिला भक्तपुरको सिद्धपोखरीमा बत्ती बाल्न पुगेकी थिइन् । देवी इन्द्रायणीलाई खुसी पार्न यसरी दियो बाल्ने चलन छ । अष्टमातृकामध्ये एक देवी मानिन्छ इन्द्रायणीलाई । भक्तपुर नगरका चारैतिर स्थापना भएका पीठमार्फत अष्टमातृकाले सुरक्षा दिइरहेको जनविश्वास छ । नगरको पश्चिममा भने इन्द्रायणी देवी छिन् ।


‘वर्षभरि नगरलाई सुरक्षा दिइरहेकी देवीलाई एक दिन नगरबाहिर ल्याई पूजा गरी सम्मान गर्ने चलन हो यो,’ उर्मिलाले नेपाली र अंग्रेजी मिसाउँदै भनिन्, ‘देवीलाई रिफ्रेसमेन्ट टाइपको अनुभूति गराउन खोजेको होला ।’


इन्द्रजात्राका अवसरमा भक्तपुरको सिद्धपोखरीमा सोमबार साँझ दीप प्रज्ज्वलन गर्दै विद्यार्थीहरू । तस्बिर : सुनीता


भक्तपुरको खौमा टोलस्थित पीठबाट इन्द्रायणी देवीलाई खटमा हाली आधा नगरको परिक्रमा गराउँदै सिद्धपोखरीमा ल्याउने चलन छ । उर्मिलाका अनुसार, सुरुमा दियो बाल्ने परम्परा थिएन । ‘इन्द्रायणीलाई खुसी पार्न झन्डै २० वर्षअघिदेखि मात्रै यो परम्परा सुरु भएको हो,’ उनले भनिन्, ‘दियो बाल्दा झिलीमिली हुनुका साथै प्रकृतिलाई पनि राम्रो हुन्छ । सोचाइ पनि पजेटिभ हुन्छ ।’


दियो झिलीमिली हुँदै गर्दा सिद्धपोखरी घुम्दै इन्द्रायणी पूजा गर्नेहरूको भीड ठूलो थियो । दाफा खल: र विभिन्न समूहले भजन प्रस्तुतिसमेत दिँदै थिए । मंगलबार सिद्धपोखरीमा पौडी खेल्न छुट हुन्छ । यहाँका श्रेष्ठ र मल्ल समुदायले यो चलन चलाउँदै आएका छन् ।


विद्यालय पोसाकमा रहेका एक हूल बालबालिका पनि सोमबार सिद्धपोखरीमा दियो बाल्दै थिए । सनसाइन नेसनल स्कुलकी शारदा देवकोटा अपराह्न साढे पाँच बजेदेखि नै आएर दियो बाल्ने काम गर्दै थिइन् । हजारौँको संख्यामा बलेका दियोमध्ये सयभन्दा बढी चाहिँ आफूले बालेको भनेर उनी गर्वसाथ साथीहरूलाई सुनाउँदै पनि थिइन् । उनको विद्यालयले नै उनीहरूलाई त्यहाँ पठाएको रहेछ ।


‘बिहान आएर दुई घण्टा सिद्धपोखरीवरिपरि सफा गर्‍यौं,’ शारदाले भनिन्, ‘अहिले दियो बाल्दै गर्दा खुसी लागेको छ । कल्चर पनि जोगिन्छ, रमाइलो पनि हुन्छ ।’ नेपालगन्ज घर भए पनि बच्चैदेखि भक्तपुरमा बसेकाले यहाँको संस्कृति आफ्नैजस्तो लाग्ने पनि उनले बताइन् ।


इन्द्रको स्त्रीशक्तिका रूपमा इन्द्रायणीलाई पूजा गरिने संस्कृतिविद् ओम धौभडेलले जनाए । भने, ‘कुनै पनि देवताको पुरुष र स्त्री दुवै स्वरूप मिलेपछि मात्रै शक्तिशाली हुने मान्यताअनुसार भक्तपुरमा इन्द्रको स्त्रीशक्तिका रूपमा इन्द्रायणीलाई पूजा गरिएको हो ।’


अचम्म के भने, भक्तपुरमा इन्द्रलाई कमजोर र इन्द्रायणीलाई समर्थवान् दैवी शक्तिका रूपमा पुजिन्छ । भक्तपुरमा चलिआएको मिथक काठमाडौंभन्दा फरक छ । भक्तपुरका नेवार समुदायले इन्द्रका छोरा जयन्तलाई छुटाउन आउँछन् र पछि इन्द्र आफंै पनि समातिन्छन् । त्यसपछि इन्द्रको ऐरावत हात्ती दुवैलाई छुटाउन आउँछ । इन्द्रसँगै स्वर्ग जाने इच्छाका कारण दुई युवतीले इन्द्रलाई सहयोग गरेको मिथक छ ।


‘त्यसैले भक्तपुरमा महिलालाई प्राथमिकता दिइएको हुन सक्छ,’ धौभडेलले अड्कल गरे ।


धौभडेलका अनुसार सिद्धपोखरीलाई इन्द्रदह पनि भनिन्छ । नेपाल संवत् २३९ मा लिच्छवि राजा इन्द्र देवले मानवनिर्मित दह बनाएकाले यसको नाम नै इन्द्रदह रहन गयो । नगरलाई सुरक्षा दिइरहेकी इन्द्रायणीको पीठ नजिकै रहेकाले इन्द्रायणीलाई घुमाउन इन्द्र दह लाने चलन सुरु भएको उनले बताए ।


‘भक्तपुरमा इन्द्रजात्राको सुरुवात लिच्छवि राजा आनन्द देवले गरेका हुन्,’ धौभडेलले भने, ‘भक्तपुरका मल्लकालीन २४ टोलहरूमा लिंगो उठाउने परम्परा रहेकोमा अहिले बर्सेनि १७ टोलमा लिंगो उठाउने गरिन्छ ।’


काठमाडौँका भित्री भागमा देवीनाच प्रस्तुत गर्ने क्रममा भैरव

चण्डी

बेताल

कंकाल ।


तस्बिर : इलिट जोशी

प्रकाशित : आश्विन १०, २०७५ १२:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?