कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

गोल्डेन डोरमा ‘सेलफोन’

काठमाडौँ — प्रविधि र सांस्कृतिक मान्यताबीचको संघर्ष समेटिएको छोटो फिल्म ‘सेलफोन’ अमेरिकाको आठौं गोल्डेन डोर इन्टरनेसनल फिल्म फेस्टिभल अफ न्युजर्सीमा छानिएको छ ।

गोल्डेन डोरमा ‘सेलफोन’

यही सेप्टेम्बर २० देखि हुने तीनदिने फेस्टिभलको फयामिली ड्रामा विधाअन्तर्गत ‘सेलफोन’ छानिएको हो । फूलमान वलको निर्देशन रहेको १५ मिनेट लामो ‘सेलफोन’ मा ढयाङग्रो बेचेर मोबाइल फोन किन्ने एक युवकको संघर्ष समेटिएको छ ।


बजार र प्रविधिका कारण परम्परागत मूल्यमान्यतामाथि आइलागेको चुनौती प्रस्तुत गरिएको यो छोटो फिल्मले केही वर्षअघि राजधानीमा सम्पन्न नेपाल अन्तर्राष्ट्रिय आदिवासी फिल्म फेस्टिभलमा अवार्ड पाएको थियो ।


त्यस्तै चीन, बंगलादेश, अमेरिका, कोलम्बिया लगायतका मुलुकका आधा दर्जन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरूको अफिसियल सेलेक्सनमा परिसकेको छ । ङिमा पाख्रिन (अमेरिका), चन्द्रमाया बमजन (इजरायल) लगायत निर्माता रहेको ‘सेलफोन’ मा उमेश तामाङ, शान्ति वाइबा, प्रेम लोप्चन लगायतले अभिनय गरेका छन् । ‘संस्कृति र आधुनिकताबीचको संघर्ष तेस्रो विश्व मात्रै हैन, संसारभर नै छ,’ अमेरिकामै रहेका निर्माता ङिमा पाख्रिनले भने, ‘सेलफोनले भने तामाङ समुदायको समस्या उठाएको छ ।’


त्यस्तै, फेस्टिभलको म्युजिक भिडियो विधामा नेपालबाटै गायक रामकृष्ण ढकालको ‘अचेल पाइलै पिच्छे...’ बोलको गीत छानिएको छ । कृसु क्षेत्रीको शब्द रहेको यो गीतसँगै फेस्टिभलका लागि विश्वभरबाट झन्डै एक सय म्युजिक भिडियो छानिएका छन् ।


हिमाल सागरको संगीत रहेको गीतको म्युजिक भिडियोको निर्देशन बिक्की पुलामी खडगले गरेका छन् । गीतमा मानवीय जीवनको सफलता र असफलतालाई तुलना गरिएको छ ।

प्रकाशित : भाद्र २९, २०७५ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?