गोविन्दा नेपाल आउँदै

काठमाडौँ — वरिष्ठ फिल्मकर्मी किशोर राना र बलिउड अभिनेता गोविन्दा पुरानै साथी हुन् । १५ वर्ष मुम्बईमा बिताएका किशोरले हिन्दी फिल्मसँगै भोजपुरी फिल्ममा समेत काम गरे ।

गोविन्दा नेपाल आउँदै

अहिले मृगौलाको उपचार गरिरहेका किशोरलाई एउटा अवार्ड दिन उनकै पुरानो मित्र गोविन्दा नेपाल आउने भएका छन् । आउँदो आइतबार राजधानीमा हुन लागेको ‘एलजी सिनेमा सर्कल अवार्ड’ को विशेष पाहुनाका रूपमा गोविन्दा आउन लागेका हुन् । उनैले किशोरलाई लाइफटाइम अचिभमेन्ट अवार्ड दिनेछन् ।


सिनेमा सर्कलका अध्यक्ष दिनेश डीसीका अनुसार, गोविन्दा शनिबार आइपुग्नेछन् । उनीसँगै छोरा यश पनि हुनेछन् । पत्नी सुनीता र छोरी टिना भने शुक्रबारै नेपाल आउँदै छन् । ‘गोविन्दाको नेपाल बसाइ तीन दिनको हुनेछ,’ डीसीले भने, ‘सपरिवार होटल याक एन्ड यतीमा बस्नेछन् ।’ अवार्ड समारोहको भोलिपल्ट बिहान पशुपतिनाथको पूजाआजाको कार्यक्रम रहेको डीसीले बताए । अवार्डको यो तेस्रो संस्करण हो ।


मनोनयन सार्वजनिक
एलजी सिने सर्कल अवार्डको विधागत उत्कृष्टको नाम पनि आइतबार सार्वजनिक गरिएको छ । जसमा उत्कृष्ट फिल्मतर्फ सात फिल्महरू ‘छक्का पञ्जा २’, ‘पञ्चायत’, ‘शत्रुगते’, ‘लिलिबिली’, ‘भुइँमान्छे’, ‘मंगलम’ र ‘तिमीसँग’ प्रतिस्पर्धामा रहेका छन् । उत्कृष्ट निर्देशकतर्फ पनि यिनै फिल्मबाट क्रमश: दीपाश्री निरौला, शिवम् अधिकारी, प्रदीप भट्टराई, मिलन चाम्स, नवराज बुढाथोकी, नवल नेपाल र शिशिर राणा परेका छन् ।


फिल्म निर्देशक किशोर रानालाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गर्न लागिएको उक्त अवार्डमा अभिनेतातर्फ दयाहाङ राई, अनमोल केसी, प्रदीप खडका, पुष्प खडका, सरोज खनाल, राज कटुवाल र नाजिर हुसेनबीच प्रतिस्पर्धा चल्दा अभिनेत्री विधातर्फ साम्राज्ञी राज्यलक्ष्मी शाह, नीता ढुंगाना, बेनिशा हमाल, शिल्पा पोखरेल र प्रियंका कार्कीमध्ये एकले अवार्ड थाप्नेछन् । अवार्डमा उत्कृष्ट अनस्क्रिन जोडी, चर्चित अभिनेता, अभिनेत्रीदेखि उत्कृष्ट स्टन्ट, भीएफएक्स, ट्रेलर, पोस्टरजस्ता विधासहित २२ विधामा अवार्ड दिइने उल्लेख छ ।

प्रकाशित : भाद्र २५, २०७५ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?