२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

अभिनय हुँदै निर्देशनतिर

काठमाडौँ — नाटक कस्तो लाग्यो ?’ सो सकिनेबित्तिकै रंगकर्मी सविन कट्टेल दर्शकको प्रतिक्रिया लिन थाल्छन् । दर्शकको ‘थम्स अप’ पाएपछि उनी दङ्ग ।

अभिनय हुँदै निर्देशनतिर

अभिनय यात्रासँगै पहिलो पटक नाटक निर्देशन गरेका सविनले यति बेला आफ्नो परीक्षाको नतिजा दर्शकबाट पाइरहेका छन् । बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा उनी निर्देशित नाटक ‘मुनामदन’ को मञ्चन जारी छ ।

पाँचवर्षे रंगमञ्च यात्रामा डेढ सयभन्दा बढी सडक र केही स्टेज नाटकमा काम गरिसकेपछि सविनले यति बेला आफूलाई पहिलो पटक निर्देशकका रूपमा उभ्याएका हुन् । तैपनि निर्देशनमा हात हाल्नु धेरै तरिकाले चुनौती मोल्नु रहेको उनी ठान्छन् । एकातिर सिक्नकै लागि पनि निर्देशन गर्नु जरुरी ठान्छन् भने अर्कोतर्फ परिपक्व बन्न समेत काम गर्नुपर्ने बाध्यता छ ।

‘दर्शकले राम्रै छ भनेका छन्,’ उनी भन्छन्, ‘सिनियर रंगकर्मीले केही सुझाव दिनुभएको छ । त्यो अर्को पटक सुधार गर्छु ।’ सविनले यति बेला आफू नाटक खेल्दा निर्देशकहरूले गरेको गाली सम्झन्छन् । त्यो गाली वास्तवमा गाली नभएको उनले अहिले महसुस गरेका छन् । ‘निर्देशकले यो भएन त्यो भएन भन्दा खुब रिस उठ्थ्यो,’ उनी भन्छन्, ‘अहिले आफूले निर्देशन गर्दा थाहा पाएँ, गाली नगरी नहुँदो रहेछ ।’


रंगमञ्चमा एक दशक बिताएपछि विकास जोशीलाई निर्देशनमा आउन मन लाग्यो । उनी तीन वर्षदेखि नाटक निर्देशनमा लागेका छन् । उनले ‘आरोप’, ‘मीरा मिराज’ देखि हालै अनामनगरस्थित मण्डला थिएटरमा मञ्चित ‘सके तिरौला नत्र फिरीमा’ गरी तीनवटा नाटक निर्देशन गरिसके ।

अभिनयभन्दा निर्देशनमा धेरै कुरा सिक्ने अवसर मिल्ने विकासलाई पनि लाग्छ । ‘नाटक खेल्दा एउटा पात्रमा सीमित हुन्थें भने निर्देशन गर्दा सबै चरित्रसँग घुलमिल हुन सक्छु,’ विकास भन्छन् । नाटक निर्देशक बन्न उनलाई अभिनयले नै सिकाएको हो । निर्देशन परिपक्व भयो या भएन भन्ने कुरा काम गरेरै थाहा हुने उनको बुझाइछ । त्यसैले प्रत्येक वर्ष नाटक निर्देशन गर्दै जाने अनि सिकेरै परिपक्व हुने लक्ष्य बोकेका छन् उनले ।

रंगकर्मी पवित्रा खडकाले आठ वर्ष नाटकमा अभिनय गरिन् । त्यसपछि उनलाई निर्देशन गर्दा कस्तो हुन्छ ? अनुभव बटुल्न मन लाग्यो । सरुभक्तको लेखन रहेको नाटक ‘भृकुटी’ मञ्चन गरेपछि उनले आफूले आफैंलाई समीक्षा गर्ने मौका पाइन् । एक वर्षअघि मञ्चित यस नाटकबाट पवित्रा निर्देशनमा अझै परिपक्व हुन बाँकी रहेको महसुस गरिन् ।

यद्यपि निर्देशन नगरेको भए उनले रंगमञ्चका धेरै जटिल पाटासँग जुध्ने अवसरबाट वञ्चित हुन्थिन् । ‘निर्देशन गर्नैपर्छ तर अलि परिपक्व भएर गर्छु भन्ने लागेको थियो,’ उनी भन्छिन्, ‘तर आगोमा हात नहाले पोल्छ भन्ने कसरी थाहा हुन्छ ?’ रंगमञ्चमा अभिनय गर्दै नाटक निर्देशनसमेत सँगै लाने पवित्राको अबको योजना छ । दसैंतिहारपछि अर्को नाटक ल्याउने तयारी रहेको उनले बताइन् ।


रंगकर्मी प्रदीपकुमार चौधरीले पाँच कक्षा पढदादेखि नै नाटक खेल्न थाले । जानेर वा नजानेर उनी अभिनयमा जोडिए । आरोहण गुरुकुलमा आएपछि उनले रंगमञ्चको औपचारिकता बुझे । यस बीचमा उनले केही नाटक खेले । तर, अधिकांश नाटकमा नेपाली कला, संस्कृति र भाषाको सम्बोधन नभएको ठाने ।

त्यसपछि मौलिक संस्कृति उठान गर्ने उद्देश्यले उनी आफैं नाटक लेख्ने र निर्देशन गर्ने निधोमा पुगे । ७ वर्षदेखि प्रदीप निर्देशनमा पनि लागिरहेका छन् । अहिलेसम्म ‘विगत वर्तमान’, ‘घरबेटी आतंक’, ‘मसानटार’, ‘उठौं जागौं’ र ‘कालापत्थर’ गरी पाँच नाटक लेखन तथा निर्देशन गरेका उनले अभिनयमा पनि उत्तिकै समय दिएका छन् । अबको नाटक बहुभाषिक र बहुसांस्कृतिक पक्ष झल्काउने खालका हुनुपर्ने उनी बताउँछन् । भन्छन्, ‘हाम्रै परिवेशका कथा उठाउन मन लागेर लेखन, निर्देशनमा लागेको हुँ ।’

अभिनयमै आनन्द
रंगमञ्चमा डेढ दशक बिताएकी सिर्जना सुब्बालाई अभिनय गरेर अझै पुगेको छैन । उनको भने पात्रअनुसार नाटक गर्दाको रमाइलो निर्देशनबाट नपाइने धारणा छ । दुई वर्षअघि नाटक ‘युमा’ गरेपछि उनी आफू अझै नाटक निर्देशनमा परिपक्व नभएको महसुस गरिन् । नाटक खेलेरै तिखारिनुपर्छ भन्ने उनलाई लाग्छ ।

उनको विचारमा निर्देशन गर्नु र नगर्नु गलत वा सहीको कुरा नभए पनि क्षेत्र बुझेर लाग्नुपर्छ । सिर्जनाका अनुसार निर्देशकले नाटक देखाउनुभन्दा पनि विषयवस्तुप्रति न्याय गर्न सक्छु कि सक्दैन भन्ने सोच्नुपर्ने हुन्छ । हतारमा निर्देशनतिर लाग्नुभन्दा बुझेर लाग्नु उपयुक्त हुने सिर्जनाको मत छ ।

रंगकर्मी विजय बराललाई आफू नाटक खेल्नकै लागि जन्मेको लाग्छ । निर्देशनको पाटो उनी कहिल्यै सम्झन चाहँदैनन् । आफ्ना साथी मात्रै होइन, रंगमञ्चमा भर्खरै उदाएका नवप्रवेशीले समेत निर्देशन गर्न हतार गरेको देख्दा उनी अलमलमा पर्छन् । विजयका अनुसार एउटैले सबै क्षमता राख्नुपर्छ भन्ने छैन । निश्चित विषयमा निरन्तर लागेर त्यसैमा दक्षता हासिल गर्नु उचित लाग्छ उनलाई । त्यसैले विजय नाटक खेल्नेमै रमाइलो मान्छन् ।

प्रकाशित : भाद्र १९, २०७५ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?