लन्डनपछि स्वयम्भूतर्फ नेपथ्य

काठमाडौँ — बेलायतस्थित ओटु ब्रिक्सटनमा शनिबार सांगीतिक कार्यक्रम गरेको नेपथ्यले अबको कन्सर्ट असोजमा नै काठमाडौंकै स्वयम्भूमा गर्ने जनाएको छ ।

लन्डनपछि स्वयम्भूतर्फ नेपथ्य

तेस्रोपटक बेलायतमा कन्सर्ट गर्ने क्रमलाई नेपथ्यले आफ्नो दसौं एल्बमको गीत ‘कुरूप अनुहार हो...’ बाट थालनी गरेको थियो । सरुभक्तको रचना र विक्रम गुरुङको संगीत रहेको उक्त गीतलाई नेपथ्यले पृथक शैलीमा एकोहोरोपनामा ढालेको छ ।

कार्यक्रममा नेपथ्यले भर्खरै तयार पारेको ‘शिरफूल शिरैमा होस्...’ देखि ‘पल्ला घरका बईका...’, ‘आँगनै भरि...’, पस्केको थियो । पाँच वर्षअघि पहिलोपटक बेलायतको विम्बले एरेनामा प्रस्तुति दिएको नेपथ्यले त्यसपछि दोस्रो पनि अहिलेकै ओटु ब्रिक्सटनमा दिएको थियो ।

‘जतासुकै पुग्दा पनि नेपथ्यका श्रोताहरूबाट पाउने गरेको न्यानो मायाले हामीलाई छुन्छ,’ नेपथ्यका मुख्य गायक अमृत गुरुङले भने । दुई घण्टा लामो प्रस्तुतिमा अमृतले विभिन्न भेगको यात्राका क्रममा भोगेका घटनाहरू पनि दर्शकलाई सुनाउन भ्याएका थिए । उनले नेपालीकै हातबाट राष्ट्रको पुननिर्माण हुनुपर्ने उल्लेख गर्दै यसका निम्ति मुलुकबाहिर बसेका नेपालीको पनि सहयोगको खाँचो पर्ने बताए ।

स्वयम्भूको कन्सर्ट असोज १३ मा हुने नेपथ्यले जनाएको छ । ‘ब्यान्डले स्वयम्भूमा आफूलाई उभ्याउन तयार भएकोमा म असाध्यै खुसी छु,’ स्वयम्भू नै घर भएका नेपथ्यका ड्रमसेट वादक ध्रुव लामा भन्छन्, ‘स्वयम्भू क्लबले आयोजनाको जिम्मा लिएको कन्सर्ट त्यस क्षेत्रको सम्पदा संरक्षण सहयोगार्थ गरिनेछ ।’

बेलायत कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुवसहित किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए ।

प्रकाशित : भाद्र १८, २०७५ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?