चुनौतीपूर्ण कथा, दर्शकले रुचाउने आशा

काठमाडौँ — सुरुवाती नाम ‘रोजी’ फेरेर ‘रोज’ बनेको र भदौ २२ मा रिलिज हुन लागेको फिल्मले सुटिङ अवधिदेखि नै झमेला बेहोर्नुपर्‍यो । प्रेमिका हत्याका आरोपी प्रेमीको सत्यकथा भनिएकोले र नामका कारण पनि यस्तै प्रकृतिको रोजी महर्जन हत्याकाण्ड र उनका परिवार यसबारे सचेत भए ।

चुनौतीपूर्ण कथा, दर्शकले रुचाउने आशा

रोजीका अभिभावकले फिल्मको नाम र ‘सत्य घटनामा आधारित’ वाक्यांशमा आपत्ति जनाएपछि सुटिङ अवरुद्ध भयो । यति बेला फिल्मकी मुख्य पात्र नाम पनि ‘रोजिना’ को ठाउँमा ‘रोज’ राखेपछि साविक मितिमा रिलिज हुने भएको छ ।

प्रेमिका हत्यारा अभिजंग थापाको भूमिकामा देखिएका अभिनेता प्रदीप खड्का भने अझै पनि फिल्मको कथा र रोजी हत्याकाण्डबीच कुनै समानता नरहेको दाबी गर्छन् । बुधबार फिल्मबारे जानकारी दिन आयोजित पत्रकार भेटघाटमा उनले भने, ‘रोजी हत्याकाण्डसँग फिल्म मेल खाँदैन । समानता केही छ भने प्रेमीद्वारा प्रेमिकाको हत्या भन्ने मात्रै छ ।’ उनले फिल्मको कन्सेप्ट सुन्दै पृथक लागेपछि अभिनय गर्न खोजेजस्तो चरित्र पाएको ठानेका रहेछन् ।

‘लभस्टोरी जानराका दर्शकका लागि सायद रुचिकर नलाग्न पनि सक्ला । तर कहिलेकाहीं कलाकारले यस्ता चुनौतीपूर्ण भूमिकामा पनि देखिनुपर्छ । अरूलाई यसले अभिनय पनि गर्न सक्छ भन्ने लागोस्,’ प्रदीपले थपे, ‘दर्शकले मबाट हेर्न चाहिरहेको लभस्टोरी फिल्म नै हो भने पनि मेरा एक/दुई गल्ती माफ गरिदिनुहुन्छ होला भनेर मैले यो जोखिम मोलेको हुँ । मलाई यसको ओपनिङ, इन्टरभल र क्लाइमेक्स तीन चिज मन परेको हो । फिल्मको स्क्रिप्टले त जे पनि बनाउन सकिन्छ तर यी तीन चिज सोचेभन्दा भिन्न लागे ।’

निरक पौडेल निर्देशित ‘रोज’ केदार भुसालले लेखेका हुन् भने प्रदीपसहित मिरुना मगर र पारामिता राज्यलक्ष्मी राणाको मुख्य अभिनय रहेको छ । ‘लालपुर्जा’ डेब्यु गर्ल मिरुनाले यसमा वकिलको भूमिका निर्वाह गरेकी छन् । अभिजंगका पक्षमा वकालत गरेकी मिरुनाले कानुनी भाषा र लवजमा संवाद बोल्नुपर्दा नौलो लागेको सुनाइन् । ‘खासगरी म सानो स्वरमा बोल्छु । तर वकिलले बहसमा चिच्याएर बोल्नुपर्ने रहेछ । शब्द पनि बोलीचालीको भन्दा फरक,’ उनले यसअघि यस्तो बहस नदेखेको उल्लेख गदै भनिन्, ‘यूके बस्दा म प्राय: अंग्रेजी बोल्ने गर्थें । तर मलाई जटिल शब्द सिक्न मनचाहिँ पथ्र्यो । फाइदै भयो ।’ त्यसो त उनलाई सुरुमा न्यायाधीशलाई श्रीमान्भन्दा पनि अप्ठयारो लागेको रहेछ ।
पारामिता भने रोजको भूमिकामा छिन् ।

प्रदीपले फिल्म मल्टिन्यारेसनमा रहेको जानकारी दिँदै हत्याकाण्डबारे साक्षी पात्रका आआफ्ना प्वाइन्ट अफ भ्युबाट कथा अघि बढ्ने बताए । ‘एआईजीको छोरा अभिजंग, एकदम सोझो र साधारण केटो, जसले कमिला मार्न पनि सक्दैन, त्यसले कसरी मान्छे मार्ने हिम्मत जुटायो ? अथवा, किन त्यो निर्णयमा पुग्यो ? फिल्मको मुख्य थिम नै यही हो,’ प्रदीपले अदालतमा अभिजंग हत्यारा हो वा होइन भन्नेमा बहस, पैरवी भइरहे पनि दर्शकमा भने अभिजंगले किन र कसरी प्रेमिकालाई मार्‍यो भन्नेमा उत्सुकता रहने दाबी गरे । थपे, ‘यो एउटा चरित्रको मनोविज्ञान हो । के कति परिस्थितिले उक्त केटा त्यो अवस्थामा पुग्छ भन्ने हो । ध्यान दिएर फिल्म हेर्नेका लागि ‘रोज’ मन पर्छ ।’

प्रदीपले फिल्ममा ३२ टेकसम्म दिएको सुनाए । ‘अदालतमा मलाई आजीवन कारावास सजाय सुनाउँदाखेरी मेरो पीडा देखाउने सट दिने क्रममा धेरै टेक खाएँ,’ निर्देशक अनुपस्थित रहेको कार्यक्रममा प्रदीपले भने, ‘निर्देशकले लाउड भयो भनेपछि घटाउँदा घटाउँदै ठिंगै न्युट्रल भई उभिएको छु । मेरो हिसाबले त त्यो एक्टिङ नै हैन । तर निर्देशकको हिसाबले त्यो भयंकर एक्टिङ भयो । अब दर्शकले त्यसलाई कुन हिसाबले मूल्यांकन गर्नुहुन्छ भन्ने कुरा हो ।’

त्यसो त उनले निर्देशकलाई सन्तुष्ट बनाउन आफूले जे पनि गर्न तयार हुने पनि बताए । फिल्ममा धोखा पाएको प्रेमीको भूमिका निर्वाह गरेका प्रदीप वास्तविक जीवनमा भने प्रेमसम्बन्धलाई सिरियसली नलिने बताउँछन् । ‘म विकल्पसहित चल्छु । धोका दिएको छैन, पाएको छु । प्लस टु पढ्दाताका मेरो गर्लफ्रेन्ड थिइन् । ६ महिनाजति प्रेम चलेपछिको भ्यालेन्टाइन्स डेमा गिफ्ट दिन जानुअघि अर्कैले बाइकमा फिल्मी स्टाइलमा उडाइदियो,’ ब्रेकअपको त्यो पहिलो तनाव बेहोरेका ‘प्रेमगीत’ स्टारले भने, ‘मसँग पनि बाइक भइदिएको भए छोडेर जाँदैनथिन् कि जस्तो लाग्यो । त्यसपछि बाइक पनि किनें । तर पछि त्यस्तो प्रेम सम्बन्ध भएन । अरु साथीभाइका ट्राजेडी देखेर पनि यो चिज गर्न हुने हैन जस्तो लाग्यो ।’

प्रकाशित : भाद्र १४, २०७५ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?