१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

जीवन अर्थ्याउन कपाल र काइँयो

‘कुनै वस्तु जस्तो देखिन्छ त्यस्तै उतार्नु कला होइन । त्यसलाई रूपान्तरण गरेर प्रस्तुत गर्न सक्नुचाहिँ कलाकारको खुबी हो ।’

ललितपुर — सम्बन्धको खास अर्थ कस्तो हुन सक्छ ? काइँयो र कपाल जस्तो ? यी दुई वस्तुलाई मानिसको जीवनसँग जोडिएर आउने व्यक्तिगत, सामाजिक या सांस्कृतिक सम्बन्धको गहिराइ अथ्र्याउने हिसाबले कसरी हेर्न सकिन्छ ?

जीवन अर्थ्याउन कपाल र काइँयो

चित्रकार सविता डंगोलका पछिल्ला सिर्जना अवलोकनपछि तपाईंका मनमा यस्तै प्रश्न उठ्न सक्छन् । दैनिक जीवनमा प्रयोग हुने, हाम्रै समाज वरिपरि देखिरहने/भेटिरहने अनेक वस्तुलाई उनले प्रतीकात्मक रूपमा क्यानभासमा उतारेकी छन्, ‘इन्टरकनेक्टेड एफेक्सन’ थिममा । पुलचोकस्थित जिजी मचान रेस्टुरेन्टमा उनका कलाकृतिहरूको प्रदर्शनी चलिरहेको छ । चित्रहरूमा जीवनका विभिन्न आयामको छनक पाउन सकिन्छ ।


केही दिनअघि प्रदर्शनीमा पुगेकी थिइन् नेपाल–ब्रिटिस सोसाइटीकी अध्यक्ष प्रतिमा पाण्डे । उनले काइँयो र कपाललाई सम्बन्धको प्रतीक बनाएर कोरिएको चित्र मन पराइन् । १ लाख ९५ हजार रुपैयाँ मोल राखिएको उक्त चित्र उनले बुक पनि गरिहालिन् । सविताका अनुसार, त्यो चित्र बनाउन कैयौं दिन लागेको थियो । ‘भनेकै मूल्यमा चित्र बिकेपछि कुन चाहिँ कलाकार दंग नपर्ला ?’, उनले भनिन्, ‘खुसीले फुरुंग छु ।’


प्रदर्शनीमा राखिएका काइँयो र कपाल आकृतिका अरू तीन चित्रसहित ३ लाख रुपैयाँका चित्र बिक्री भइसकेको सविताले जनाइन् ।


सविताको यो चौथो एकल प्रदर्शनी हो । उनले केही चित्रमा नेवारी परम्पराअनुसार बिहे गर्दा बेहुलाको घरको ढोकामा प्रयोग गरिने अष्टमंगलका आकृतिसमेत उतारेकी छन् । साथै कुनै चित्रमा परम्परागत टुँडालका बुट्टा आफ्नै शैलीमा बनाएकी छन् ।


‘पुर्खाले आफ्नो सिर्जना टुँडालमा देखाए, अब हाम्रो मौलिकता के त ?’ उनको भनाइ छ, ‘यो चित्र बनाउँदै गर्दा दिमागमा यस्तै प्रश्न आयो । अनि परम्परागत टुँडालहरूमा आफ्नै शैली मिसाएँ ।’


उनको विचारमा, मानिसको दिनचर्यामै कलाको सुन्दर पक्ष लुकिबसेको हुन्छ । काइँयोले जसरी बिग्रिएको कपाल मिलाएर चिटिक्क बनाउँछ, त्यसरी नै जीवनको हर समस्याको समाधान निस्किन सक्छ । ‘मान्छेले सम्बन्धको बारे सिक्न काइँयो र कपाल नै काफी छ,’ उनले भनिन् ।


सविताका प्राय: चित्रमा काइँयो र कपाल क्यानभासको केन्द्रविन्दुमा छन् । त्यससँगै दुई महिला र पुरुषको एकतर्फी आकृति देख्न सकिन्छ । त्यहाँ विम्बका रूपमा फूल, मयूर, हात्ती, चरा लगायतका आकृति छन् । तिनमा कल्पनाशीलताको पनि आधिक्य छ । विम्बहरू दुरुस्त निकाल्न खोज्ने भने कलाकारिता नै नरहने मान्यताकी उनले भनिन्, ‘कुनै वस्तु जस्तो देखिन्छ त्यस्तै उतार्नु कला होइन । त्यसलाई रूपान्तरण गरेर प्रस्तुत गर्न सक्नु चाहिँ कलाकारको खुबी हो ।’


नेवार समुदायमा धर्मचक्र, चमर, माछा, कलश, झन्डालगायतका प्रतीकचिह्न भएका अष्टमंगल को प्रयोग बिहेका सन्दर्भमा गरिन्छ । ‘यी सबै सम्बन्धका प्रतीक हुन्,’ उनले भनिन्, ‘नेवार संस्कृतिमा अष्टमंगल राखियो भने शुभ हुने विश्वास गरिन्छ । त्यसैले सम्बन्धको सन्दर्भमा म सकारात्मक सांस्कृतिक प्रतीकहरूमा बढी लोभिएँ ।’


उनले कपाल र काइँयोबीचमा पनि शुभ संकेतका रूपमा अष्टमंगल जोडेकी छन् । पति वा पत्नीको अल्झिएको जीवन शुभ बनाउन काइँयो समाधानको प्रतीकका रूपमा उनले प्रयोग गर्न चाहेकी हुन् । ‘काइँयो समस्या हैन, समाधान हो,’ उनले भनिन्, ‘सम्बन्धमा पनि समस्या हैन, समाधानको पाटो बढी खोज्नुपर्छ ।’सविताले चित्रैपिच्छे कपालको आकृति फरक बनाएकी छन् । मान्छेपिच्छे स्वभाव पनि फरक हुन्छ नि त !

आफ्ना चित्रमा घरायसी वस्तुहरूलाई प्रतीकका रूपमा उभ्याउने टुंगोमा पुग्न निकै समय लगाएको उनले सुनाइन् । ‘ठूलो विषय नै खोज्नुपर्छ भन्ने रहेनछ,’ पछि उनलाई बोध भयो, ‘आफ्नै दैनिक जीवनमा थुप्रै वस्तु यस्ता हुँदा रहेछन्, जसमार्फत मानवीय सम्बन्धका कथाहरू भन्न सकिने रहेछ ।’


एक साता चल्ने प्रदर्शनीमा एक दर्जन चित्र छन् ।

प्रकाशित : भाद्र १३, २०७५ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?