कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

थिमिमा नाच्दै छन् भैरव

सुनीता साखकर्मी

भक्तपुर — सुरुमा उनीहरू बाजाको तालमा सुस्तरी नाच्दै थिए । जब रिदमले उचाइ लियो, पाँच जना भैरव (भैल:) को शारीरिक हाउभाउ बदलिँदै गयो । रौद्र रूपमा उनीहरू यसरी देखा परे, मानौं दर्शकहरू डराएर भागिहाल्छन् । तर, यति बेला थिमिमा भैरवलाई हेरेर रमाउनेहरूको भीड लागिरहेको छ ।

थिमिमा नाच्दै छन् भैरव

तर, यति बेला थिमिमा भैरवलाई हेरेर रमाउनेहरूको भीड लागिरहेको छ । यहाँको चर्चित लोकनाच ‘भैल:’ मा भैरव बन्नेहरू चाहिँ तन्नेरी छन् । ‘भैल: नाचमा अचम्मको शक्ति हुन्छ,’ संस्कृतिविद् प्रदीप जामन श्रेष्ठ भन्छन्, ‘नाच्नेहरूको इनर्जी त छँदै छ, दर्शकमा पनि शक्ति सञ्चार भको महसुस हुन्छ ।’


थिमिको नासननी (टोल/गल्ली) बाट मंगलबार रातिदेखि भैल: नाचको थालनी भएको छ । प्रदीपका अनुसार, भैल: नाच थिमिको मौलिक एवं पौराणिक महत्त्व बोकेको प्राचीन र परम्परागत नाच हो । गाईजात्राको भोलिपल्ट भाद्र कृष्ण द्वितीयादेखि पञ्चमीसम्म चार दिन मध्यपुर थिमिका टोलटोलमा यो नाच निकालिन्छ ।


यस वर्ष प्रजापती समुदायको थिमि भैल: प्याखँ समितिले नाचको आयोजना गरेको समितिका अध्यक्ष चन्द्रकृष्ण प्रजापतीले बताए । उनका अनुसार यो नाचमा दाग, भुस्या, पोङ्गा र मुआली जस्ता मौलिक नेवारी बाजाको तालमा भैरव बन्नेहरू नाच्दै नगर परिक्रमा गर्छन् ।


संस्कृतिविद् प्रदीपका अनुसार, यो नाच कहिलेदेखि प्रचलनमा आयो भन्ने यकिन नभए पनि मल्लकाललाई थालनी विन्दु मानिन्छ ।


‘यो नाचसँग सम्बन्धित कथाले मल्लकालकै संकेत गर्छ,’ उनले सुनाए, ‘त्यो समय थिमि क्षेत्रका जनतालाई भूतप्रेत (खराब तत्त्व) ले अत्यधिक दु:ख दिइरहेको रहेछ । डरले गर्दा दिउँसोसमेत खेतमा काम गर्न नसक्ने भएपछि किसानहरू डराए । देशमा हाहाकार मच्चियो । जनताहरू दरबारमा राजा गुहार्न गए । राजाले तान्त्रिक, विद्वान्, शास्त्रज्ञहरूसँग छलफल गर्दा तान्त्रिक रूपमा भैरवनाथ जगाई क्रोधित मुद्रामा टोलटोलमा नाच निकालेर भूतप्रेतलाई लखेट्ने निर्णय भएछ । यही किंवदन्ती अहिलेसम्म प्रचलित छ ।’


प्रधान, श्रेष्ठ, प्रजापती लगायत थिमिका विभिन्न समुदायले पालैपालो यो नाच निकाल्ने परम्परा रहेको समितिका सचिव विकास प्रजापतीले बताए । जुन सुमदायको पालो आउँछ, त्यहीँबाट नाच निकालिन्छ । सिकाउनेमध्येका तान्त्रिक गुरु ८८ वर्षीय श्रीगोपाल प्रजापतीको अनुरोधमा यस पटक नासननीबाट नाच निकालेको उनले बताए ।


यो वर्ष विकासकै घरमा नाचको प्रशिक्षण भयो । पहिले थिमि राज्यका रूपमा छँदा कुनै पनि समुदायले यो नाच ननिकाले लायकु (दरबार) बाट हटक गर्ने चलन रहेको विकासले जनाए ।


भैरव नाच मल्लकालकै तान्त्रिक विधि आधारित लोकनृत्य रहेको समिति अध्यक्ष चन्द्रले बताए । उनका अनुसार, नाचमा न्हापा भैल:, ल्यू भैल:, न्हापा दागीँ, ल्यू दागीँ र ज्यापुङ गरी पाँच भैरव हुन्छन् । ज्यापुङलाई कुमारको प्रतीकका रूपमा लिइन्छ । भैल: नाचका अरू कलाकारसँग मखुन्डो हुन्छ तर ज्यापुङ मखुन्डोबिना नाच्छन् । नाच्ने क्रममा भैरव र कुमारी क्रोधित हुँदा ज्यापुङले देवगणलाई कपासको बियाँले हानी शान्त बनाउने गर्छन् ।


नाचका तान्त्रिक गुरु कृष्ण प्रजापतीका अनुसार, नाच सिकाउने क्रममा अन्य मानिस जानु हुँदैन, जुन घरमा सिकाएको हो, त्यो घरको घरमूली पुरुष र महिलाबाहेक । ‘घरमूलीले रातभरि नसुती भए पनि बत्ती निभ्न दिन हुन्न,’ उनले भने, ‘निभ्यो भने तन्त्र विद्यामा असर पर्ने विश्वास छ ।’ उनका अनुसार, नाच सिकिसकेपछि भैरवहरूलाई कोठामा पंक्तिबद्ध राखेर सुपारी, सात गेडा अक्षता र फूल रहेको कपडाको पोको दिइन्छ । त्यसपछि जिउँदो माछालाई आगोमा सेकाएर नचपाई निल्नुपर्छ ।


‘नाचको सबैभन्दा गाह्रो पक्ष भनेको सिंगो माछा खानु हो,’ उनले भने, ‘माछा जति ठूलो भए पनि नचपाई निल्नु पर्छ ।’ भैरव नाचको उल्लास शुक्रबार रातिसम्म रहनेछ ।

प्रकाशित : भाद्र १३, २०७५ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?