कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

लोकार्नोमा सिंगापुरको फिल्म अब्बल

कान्तिपुर संवाददाता

लोकार्नो (स्विटजरल्यान्ड) — ७१ औं लोकार्नो फिल्म फेस्टिभलमा सिंगापुरको फिल्म ‘द ल्यान्ड इम्याजिन्ड’ ले उत्कृष्ट फिल्मको गोल्डन लियोपर्ड जितेको छ । सिउ हुवाले निर्देशन गरेको यो फिल्मको लोकार्नोमा वल्र्ड प्रिमियर गरिएको थियो ।

लोकार्नोमा सिंगापुरको फिल्म अब्बल

चिनियाँ निर्देशक जिया ज्याङ किले नेतृत्व गरेको निर्णायक मण्डलले उत्कृष्ट फिचर फिल्मको प्रतिस्पर्धामा रहेका १५ फिल्ममध्ये यसलाई चुनेको हो । समुद्रलाई धकेल्दै निकालिएको जमिनमा काम गर्ने एक हराएको मजदुरको खोजीको कथा यसमा छ । फिल्मले चिनियाँ र बंगलादेशी कामदारको खोजी गर्ने सिंगापुरको पुलिस अफिसरको यात्रालाई देखाउँछ, जो आफैं भ्रमको संसारमा प्रवेश गरेर हराउन पुग्छ ।

उत्कृष्ट निर्देशकको अवार्ड भने चिलीकी डोमिंगा सोतोमयरले पाइन् । उनले फिल्म ‘टु लेट टु डाइ योङ’ का लागि यो अवार्ड पाएकी हुन् । दक्षिण कोरियाको फिल्म ‘होटल बाई द रिभर’ का लागि कि जुबोङले उत्कृष्ट अभिनेताको अवार्ड पाए । रोमानियाको फिल्म ‘एलिस टी’ का लागि आन्द्रा गुटीले उत्कृष्ट अभिनेत्रीको अवार्ड पाइन् भने महोत्सवमा फ्रान्सेली निर्देशक योलन्द जुवरम्यानको डकुमेन्ट्री ‘एम’लाई जुरी प्राइज दिइयो ।

लोकार्नोमा विशेष मानिने दर्शकको रोजाइको फिल्मको पुरस्कार भने अमेरिकी निर्देशक स्पाइक लीको फिल्म ‘ब्ल्याक क्लान्सम्यान’ ले पायो । लोकार्नोमा यो अवार्डलाई किन पनि विशेष मानिन्छ भने यहाँ एकसाथ ८ हजार जनाले खुला आकाशमुनि बसेर फिल्म हेर्छन् । पियाजा ग्रान्डी भनिने त्यही विशेष सोमा यो फिल्म देखाइएको थियो ।

कोलोराडो पुलिसमा भर्ती भएको एक अश्वेत प्रहरीले अतिवादी गोराहरूको समूहको निगारानी गर्ने कथा यसमा छ । पुरानो कथा भए पनि लीले अन्त्यमा त्यसलाई वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमको अनुदारवादी नीतिसँग जोडेका छन् । यस वर्षको क्यान्स फिल्म फेस्टिभलमा यो फिल्मले ग्रान्ड जुरी प्राइज पाएको थियो । बेलायती फिल्म ‘रे एन्ड लिज’ ले पनि स्पेसल मेन्सन अवार्ड पायो ।

कम्पिटिसन फर फिल्म मेकर्स अफ प्रिजेन्ट नामक अर्को प्रतिस्पर्धामा सिरियाका शरणार्थी महिलाहरूबारे सारा फतेहीले बनाएको डकुमेन्ड्री ‘चाओस’ ले अवार्ड पायो । नयाँ निर्देशकको अवार्ड टर्कीका तारिक अक्तसले ‘डेड हर्स नेबुला’ का लागि पाए । साइन अफ लाइफ नामक प्रतिस्पर्धामा चीनका लिन जीको फिल्म ‘द फ्रजाइल हाउस’ उत्कृष्ट ठहरियो । छोटा फिल्मको प्रतियोगिता पार्डी डी डोमेनीमा फ्रान्सेली छोटो फिल्म ‘क्यास्टल टु क्यास्टल’ उत्कृष्ट भयो । यो प्रतियोगिताको निर्णायकमा नेपाली निर्देशक दीपक रौनियार पनि थिए ।

प्रकाशित : श्रावण २७, २०७५ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?