जीवन बदल्न रंगमञ्च

‘सुरुमा नाटक हेर्दा मैले ध्यान दिनै सकेको थिइनँ । जब आफैं संलग्न भएँ, मैले आफू कारागारभित्र छु भन्ने नै बिर्सिएँ । नाटकले मलाई अन्त कतै पुर्‍याइदियो । अर्को जीवन बाँच्न पाएझैं लाग्यो ।’
कान्तिपुर संवाददाता

काठमाडौँ — कैदी बन्दीको मनोरञ्जनका लागि कारागारभित्र विभिन्न गतिविधि हुन्छन् भन्ने थाहै छ । सेलेब्रिटीहरू बोलाएर प्राय: सांगीतिक सांस्कृतिक कार्यक्रम गर्ने चलन प्राय: बढी छ ।

जीवन बदल्न रंगमञ्च

तर, अमेरिकाको न्युयोर्क प्रिजनमा भने कलाकार निम्त्याएर रमाइलो गर्नुको सट्टा जेल जीवन भोगिरहेकाहरूलाई नै कलाका विभिन्न गतिविधिमा सामेल गराइन्छ । यसै साता कैदीबन्दी अभिनीत ‘अफ माइस एन्ड मेन’ नाटक देखाइयो ।

रिहाबिलिटेसन थ्रु द आट्र्स (आरटीए) अर्थात् कलाका माध्यमबाट पुन:स्थापना भन्ने कार्यक्रममार्फत कैदीबन्दीलाई रंगमञ्चमा उतारिएको हो । यो कार्यक्रम मनोरञ्जनका लागि मात्र नभएर काराबासमा रहेकाहरूलाई आत्मविश्लेषण गर्ने माध्यम बनोस् भन्ने उद्देश्यले सञ्चालन गर्ने गरिएको छ । हड्सन नदीको किनारमा रहेको सिङसिङ करेक्सन फयासिलिटी (बन्दीगृह) को थिएटरमा रोचक त के भने सहरका उच्च प्रशासनिक व्यक्ति एवं राजनीतिकर्मीहरू पनि नाटक हेर्न आउने गरेका छन् ।

कलाले मान्छेलाई बहुआयामिक बनाउने र आफूभित्रको सकारात्मक पक्ष उजागर गर्न मद्दत गर्ने भएकाले यसमार्फत कैद जीवन बिताइरहेकाहरूलाई असल मार्गमा प्रोत्साहन गराउन खोजिएको आरटीएको वेबसाइटमा उल्लेख छ । ‘यसले हामीलाई फरक तरिकाले सोच्न सिकाइरहेको छ,’ एक कैदीको भनाइ उद्ध्रृत गर्दै वेबसाइटमा लेखिएको छ, ‘हामी राम्रो व्यवहार सिक्दै छौं । पुन:स्थापनाको सही अर्थ मेरा लागि बानी परिवर्तन गर्नु हो, जुन नाटकमार्फत भइरहेको छ ।’

सन् २००३ मा आफ्नै साथीको हत्या गरेर १७ वर्षका लागि थुनामा परेका चाल्र्स मुर अहिले आरटीए कार्यक्रममा निर्माताका रूपमा संलग्न छन् । उनी कारागारमा नाटक उत्पादन गर्न ठूलो धैर्य चाहिने दाबी गर्छन् । पछिल्लो पटक देखाइएको ‘अफ माइस एन्ड मेन’ कै सन्दर्भ जोडेर उनले भने, ‘हलमा दर्शक आइसक्नुभएको थियो । म सबैथोक तयारी अवस्थामा छन् कि छैनन् भनेर जाँच्दै थिएँ । यसो हेर्छु त मुख्य अभिनेता नै थिएटरमा थिएनन् । सुरक्षा अधिकारीले कहिले हलमा पुर्‍याइदेला भनेर उनी त आफ्नै बन्दी कोठामा कुरेर बसेका रहेछन् । बल्लतल्ल आइपुगे ।’

मुरलाई सुरुमा सत्र वर्षसम्म कसरी जेलभित्र बस्ने होला भनेर ठूलो पीर परेको रहेछ । उनी त्यहाँको माहोल देखेर निकै आत्तिएका रहेछन् । पहिलो पटक आरटीएले बनाएको नाटक हेर्दा उनलाई त्यसले खासै आकर्षण पनि गरेको थिएन । उनी उकुसमुकुस भएर बसेका थिए । तर, जब आफैं नाटकमा संलग्न भए, उनको जीवन फेरियो । ‘सुरुमा नाटक हेर्दा मैले ध्यान दिनै सकेको थिइनँ,’ उनले रोलिङस्टोन म्यागाजिनसँग भनेका छन्, ‘तर, जब आफैं संलग्न भएँ, मैले आफू कारागारभित्र छु भन्ने नै बिर्सिएँ । नाटकले मलाई अन्त कतै पुर्‍याइदियो । अर्को जीवन बाँच्न पाएझैं लाग्यो ।’

सानैमा अनाथ बनेपछि हजुरआमाको सानिन्ध्यमा हुर्किएका मुर पछि गएर लागूऔषधको अम्मली हुँदै हत्यारा बनेका थिए । नाटकमार्फत आफूभित्रको मानवता फिर्ता ल्याउन सकेको भन्दै उनी अचेल खुसी छन् । ‘हामी सबै एकजुट भएर यस्ता अद्भुत कार्यक्रम निर्माण गर्छौं,’ उनी भन्छन्, ‘यसले हामीलाई हामी अपराधी मात्र होइनौं भन्ने आभास गराउँछ । समाजले हामीलाई जुन नाम दिएको छ हामी त्योभन्दा बेग्लै पनि छौं ।’

प्रकाशित : श्रावण १७, २०७५ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?