१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

हिमालयन कन्क्लेभसँगै जी सिने अवार्ड हुने

काठमाडौँ — दक्षिण एसियाली मुलुकमा फिल्म सुटिङका लागि एकद्वार प्रणाली अपनाउने रणनीति बनाउन काठमाडौंमा उक्त मुलुकका फिल्मकर्मी सम्मिलित बृहत् फिल्म सम्मेलन हुने भएको छ ।

हिमालयन कन्क्लेभसँगै जी सिने अवार्ड हुने

‘हिमालयन कन्क्लेभ’ आउँदो मंसिर २० मा गर्ने निश्चित भएको उक्त सम्मेलनको संयोजन गरिरहेका फिल्म निर्देशक दिनेश डीसीले बताएका छन् ।

डीसीका अनुसार, कन्क्लेभमा सुटिङका लागि मात्रै नभई फिल्म जाँचपासका लागि पनि सहज उपायको खोजी गरिनेछ । नेपाली फिल्मले भारतमा सेन्सर पासका लागि अझै पनि महिनौंको झमेला बेहोर्नुपर्ने हुन्छ भने भारतीय फिल्म रिलिजको पूर्वसन्ध्यामै ल्याएर पनि पास गर्ने गरिन्छ । ‘कन्क्लेभको एउटा उद्देश्य सेन्सरको झमेला हटाउनु पनि हो,’ डीसीले भने, ‘त्यसबाहेक विदेशी फिल्म सुटिङका लागि ट्राभल एजेन्सीका माध्यमबाट आउने प्रचलन छ । त्यस्तै, हाम्रा फिल्मकर्मी विदेश सुटिङमा जाँदा पनि थुप्रै समस्या झेल्नुपर्छ । यी सबै समस्या हल गर्न यो कन्क्लेभ गर्न लागिएको हो ।’ दक्षिण एसियाकै फिल्म क्षेत्रको वर्तमान अवस्था, सम्भाव्यता अध्ययन र दक्षिण एसियाली क्षेत्रमा संयुक्त लगानीमा फिल्म निर्माणसँगै प्रदर्शनीका लागि एकद्वार प्रणाली विकास गर्नेबारे छलफल हुने पनि बताइएको छ ।

प्रधानमन्त्री केपी ओलीले भारत भ्रमणका बेला राज्यसभा सदस्य अमर सिंहले दिएको रात्रि भोजमा ‘हिमालयन कन्क्लेभ’ का लागि प्रस्ताव गरेकामा यति बेला पारित भएको डीसीले बताए । अमर सिंहसहित एस्सेल ग्रुपका अध्यक्ष तथा जीटीभी नेटवर्कका डा. सुवास चन्द्र र पूर्व राज्यसभा सदस्य तथा कलाकार जया प्रदा सम्मिलित भारतीय टोलीले नेपालको भ्रमण गर्नुका साथै प्रधानमन्त्री ओलीलाई भेटेर हिमालयन कन्क्लेभ र काठमाडौंमा जी सिने अवार्ड गर्ने पक्का गरिसकेको पनि डिसीले जनाए ।

भारतका दुई सय कलाकार र त्यत्तिकै प्राविधिकको संलग्नता रहने जी सिने अवार्ड भने मंसिर २२ मा तय भएको उनले बताए । ‘टोली हिमालयन कन्क्लेभका लागि आए पनि सुवास चन्द्रले नै अवार्डका लागि पनि चासो दिनुभएपछि प्रधानमन्त्री मन्जुर हुनुभएको छ,’ निर्देशक डीसीले उक्त अवार्डमा नेपाल फिल्म क्षेत्रलाई समेत सम्बोधन गर्ने गरी विधा थप्ने प्रसंग उठे पनि निक्र्योल भने भइनसकेको खुलाउँदै थपे, ‘नेपाली विधामा समेत अवार्ड दिने भन्ने कुरा सुवास चन्द्रजीको व्यक्तिगत धारणा हो । तर हामीले त्यसमा एनालाइसिस नगरी निर्णय गर्न मिल्दैन । सायद नेपाली विधा हुँदैन ।’

जी सिनेले यस वर्ष दुबईमा गर्ने भनेको उक्त अवार्ड कार्यक्रम रद्द गरी नेपालमा गर्न चासो देखाएको हो । उक्त अवार्डका लागि सम्भवत: अमिताभ बच्चन, शाहरूख खान, सलमान खानदेखि आलिया भट्टसम्मका दुई सय कलाकारको उपस्थिति हुने बताइएको छ ।

सरकारले २०२० लाई भ्रमण वर्षका रूपमा मनाउन लागेका कारण यसको प्रवद्र्धनका लागि पनि हिमालयन कन्क्लेभ र अवार्ड कार्यक्रम गर्न खोजेको हो । यसलाई सरकारले गतिलो प्लेटफर्मका रूपमा प्रयोग गर्न सक्ने अनुमान गरिएको छ । अवार्डका लागि नेपालले भने कार्यक्रम हल र सुरक्षा प्रदान गर्नेछ । झन्डै पाँच हजार दर्शक क्षमताको अवार्ड सञ्चालन हल गट्ठाघर वा भैंसेपाटीमा तयार गर्नेबारे कुरा चलिरहेको पनि डीसीले बताए । हिमालयन कन्क्लेभ भने परराष्ट्र मन्त्रालयको सहयोगमा हुन लागेको हो ।

प्रकाशित : श्रावण ८, २०७५ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?