कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

मुहारचित्रले प्रसिद्धि

मेस्सी, रोनाल्डिन्हो, ग्रिगम्यान, लुकाकु, जेभियर हर्नान्डेज, हयारी केन, सिन्जी कागावा जस्ता विख्यात खेलाडीका मुहारचित्र बनाएर अन्तर्राष्ट्रिय ख्याति कमाएका छन् सनिल चित्रकारले ।
सजना बराल

काठमाडौँ — विभिन्न फुटबल खेलाडीका मुहारचित्र (पोट्रेट) कोरेर फेसबुक र युटयुबतिर राख्दै आएका छन् सनिल चित्रकारले । यति बेला उनको चर्चाचाहिँ चुलिएको छ भने, उनका कलाकृति फिफा वल्र्डकपले आफ्नो आधिकारिक फेसबुक पेजमा सेयर गरेको छ ।

मुहारचित्रले प्रसिद्धि

उनले तयार पारेको भिडियो ल्याप्समा मेस्सी, ग्रिगम्यान, लुकाकु, जेभियर हर्नान्डेज, हयारी केन, सिन्जी कागावाजस्ता विख्यात खेलाडीका चित्र देखिन्छन् । ४५ सेकेन्डको उक्त भिडियो झन्डै तीन हजार पटक सेयर भएको छ ।

यसअघि ब्राजिलियन मिडफिल्डर रोनाल्डिन्होले पनि सनिलको पेजमा आफ्नो चित्र देखेपछि त्यसलाई इन्स्टाग्राममा पोस्ट गरेका थिए । उनले क्याप्सनमा सनिललाई धन्यवाद पनि दिएका छन् । चित्र कोर्दै गर्दाको उक्त भिडियोमा ४४ लाख भ्युज छ । ‘अहिलेसम्म सबैभन्दा बढी भ्युज आएको ड्रइङ त्यही हो,’ सनिलले कान्तिपुरसँग भने, ‘रोनाल्डिन्होले सेयर गर्दा धेरै खुसी लागेको थियो । वल्र्ड फेमस खेलाडीसँग मेरो सम्पर्क बढिरहेको छ, योभन्दा ठूलो कुरा के होला ?’

फुटबल क्लब आर्सनलका मेसुट ओजिल, म्यान्चेस्टर युनाइटेडका पल पोग्बा, स्पेनका पूर्व गोलरक्षक आइकर कासिलस लगायतले पनि सनिलले कोरेका आफ्ना चित्रमा रुचि देखाउने गरेका छन् । ती चित्र फेसबुक, इन्स्टाग्राम वा ट्वीटरमा राख्दा उनीहरू लाइक वा फेभरेट गर्न भुल्दैनन् । पेन्सिल स्केचमार्फत खेलाडीको लुक्स उतार्न माहिर सनिल चित्र बनाउँदाको भिडियो खिचेर सामाजिक सञ्जालमा राख्छन् । चित्र र भिडियो दुवैमा प्रतिक्रिया प्रशस्त आउने गरेको छ ।

हाल अमेरिकामा रहेका सनिल पूर्णकालीन व्यावसायिक चित्रकार बनेका छन् । उनलाई फुटबलका ठूलठूला टिम र खेल आयोजकले खेलाडीका चित्र बनाइदिन आग्रह गर्छन् । पछिल्लो पटक जर्मनीको बुन्डासलिगाका लागि उनले खेलाडीको पोट्ेरट बनाउने ठेक्का पाए । त्यसपछि बेल्जियमको पत्रिका ‘हेट न्युजब्लाद’ ले आफ्नो खेल परिशिष्टांकका लागि उनलाई सम्पूर्ण खेलाडीको तस्बिर तयार पार्न भन्यो । ‘एक दर्जन खेलाडीको एक–एक पक्ष नियालेर स्केच बनाएको थिएँ,’ सनिलले भाइबरमार्फत कान्तिपुरसँग भने, ‘उनीहरूसँग नजिक भएको आभास भएको छ । अर्जेन्टिना हारेपछि म बेल्जियमको पक्षमा छु अहिले ।’


काठमाडौंको बागबजारका सनिल पहिलेदेखि नै अर्जेन्टिनाका फयान थिए । लियोनल मेस्सी उनका मन पर्ने खेलाडी । कलाकारितामा ‘सनिल आर्टिस्ट’ का नामले परिचित उनले मेस्सीका अनेक भावभंगिमाका चित्र कोरेका छन् । गएको मार्चमा मेस्सीको फेसबुक पेजबाट उनलाई एउटा प्रस्ताव आयो । त्यसमा ‘मेस्सी आर्ट कम्पिटिसन’ बारे जानकारी दिँदै भाग लिन आग्रह गरिएको थियो । सनिलले आग्रह स्वीकार गरे र २५ हजार मतसहित पहिलो पनि भए । त्यसबापत् उनले कोरेको चित्रमा मेस्सीले हस्ताक्षर गरिदिए र नेपालको झन्डासहितको तस्बिर फेसबुक पेजमा राखे ।

‘म यस्तो आर्टिस्ट होउँला, खेलाडीहरूको चित्र बनाएर यहाँसम्म पुगुँला भन्ने सोचेको थिइनँ,’ सिभिल इन्जिनियरिङमा स्नातक गरेका सनिलले सुनाए, ‘यो सबै मेरी छोरी एमीका कारण भएको हो । होइन भने म चुपचाप रेस्टुरेन्ट चलाएर बसिरहेको हुन्थेँ ।’

सन् २००६ मा उच्च शिक्षाका लागि जापान पुगेका सनिल दम्पतीले योकोहामामा रेस्टुरेन्ट खोलेका थिए । सन् २०१४ मा छोरी जन्मिएपछि सनिलले दिनभर छोरी रुँग्नुपर्‍यो, श्रीमती जागिरे । त्यही बेला उनी आफ्नो पुरानो रुचि अर्थात् चित्रकारितातर्फ फर्किए ।


‘छोरी सुतेका बेला म चित्र कोर्थें,’ उनले भने, ‘ती चित्र फेसबुकमा पोस्ट गर्न थालेँ । जसले पनि तारिफ गथ्र्यो । कतिले चाहिँ चित्र भनेर पत्याएनन्, फोटो हो भने । अनि भिडियो नै पोस्ट गर्न थालेँ ।’ तिनमा भ्युज चुलियो र उनलाई चित्र बनाइमाग्नेको संख्या बढ्यो । सेलेब्रिटी खेलाडी, गायकगायिका, कलाकारलगायतका चित्रसँगै उनले अर्डरबमोजिम सर्वसाधारणका तस्बिर पनि बनाउन थाले । पछि त यति व्यस्त भए कि, रेस्टुरेन्ट जानै भ्याएनन् ।

‘दुई वर्ष भयो, सबै थोक छोडेर ड्रइङ गरिरहेको छु,’ उनले भने, ‘अझै केही वर्ष मिहिनेत गर्छु । हेरूँ, कहाँसम्म पुगिन्छ !’

पहिले–पहिले एउटा चित्र बनाउन दुईतीन दिनसम्म लाग्नेमा उनी अहिले पाँचदेखि आठ घण्टाभित्र बनाउन सक्ने भएका छन् । कलर पेन्सिलमार्फत पोट्रेट तयार पार्छन् । ट्राइपडमा क्यामरा अडयाएर आफैंले भिडियो खिच्छन्, फुटेज जोडेर टाइम ल्याप्स बनाउँछन् अनि युटयुबमा अपलोड गर्छन् । ‘यसले मेरो प्रचार भइरहेको छ,’ उनले भने, ‘आम्दानी पनि गरिरहेको छु । महिनाको दुई लाखदेखि चार लाखसम्म कमाइ हुन्छ ।’ उनी दिनको कम्तीमा एउटा चित्र बनाउँछन् ।

पोट्रेट बनाउँदाजति आनन्द अन्य विधाका चित्र कोर्दा नहुने उनले बताए । ‘रुख–बिरुवा, हिमाल त जस्तो बनाए पनि हुन्छ,’ उनले भने, ‘पोट्ेरटमा मनलाग्दी गर्न पाइँदैन । फेरि, जस्ताको तस्तै उतार्नु पनि भएन । चित्रकारले आफ्नोपन दिन सक्नुपर्छ । म तस्बिर हेरेर पोट्रेट बनाउँदिनँ । मान्छेको लुक्स याद गर्छु अनि उसलाई कुन कोणबाट राम्रो देखिन्छ भन्ने पहिल्याउँछु । अनि, त्यहीअनुसार चित्र कोर्छु ।’

प्रकाशित : असार २२, २०७५ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?