१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

सम्झनामा आमा

काठमाडौँ — “कपडाहरूसँगको माया”मेरो किशोर अवस्थाको धेरैजसो समय होस्टलमै बित्यो । जब म बिदामा घर आउँथें, आमालाई अनौठो रूप र भंगिमामा देख्दा म तीनछक पर्थें । आमाले त मेरो न्यास्रो मेटाउन कहिले मेरो स्वीटर त कहिले सल ओढेर बस्ने गर्नुहुँदो रहेछ । सन्तानप्रतिको माया र मोहको सायद त्यो निकै अब्बल उदाहरण थियो । एक दिन मैले सोधें, ‘हजुरको लुगा छैन र ?’

सम्झनामा आमा

“कपडाहरूसँगको माया”
मेरो किशोर अवस्थाको धेरैजसो समय होस्टलमै बित्यो । जब म बिदामा घर आउँथें, आमालाई अनौठो रूप र भंगिमामा देख्दा म तीनछक पर्थें । आमाले त मेरो न्यास्रो मेटाउन कहिले मेरो स्वीटर त कहिले सल ओढेर बस्ने गर्नुहुँदो रहेछ । सन्तानप्रतिको माया र मोहको सायद त्यो निकै अब्बल उदाहरण थियो । एक दिन मैले सोधें, ‘हजुरको लुगा छैन र ?’


उहाँले पुलुक्क मतिर स्नेही नजर फ्याँक्दै भन्नुभयो, ‘तिम्रा लुगा लगाउँदा तिमी सधैं मेरो काखैमा भएको महसुस हुन्छ ।’


त्यति बेला आमाको त्यो जवाफलाई मैले हावामा उडाइदिएकी थिएँ । जब म स्वयं आमा भएँ, त्यसपछि मात्रै मैले उहाँले दिनुभएको जवाफभित्रको मर्म बुझ्न थालें । वर्षदिनअघि उहाँको स्वर्गवास भयो । अहिले पनि मलाई त्यो मर्मस्पर्शी जवाफ र मेरै स्वीटर लाउँदै मलाई पर्खिबस्ने आमाको अनुहारको सम्झना आउँछ । अझ अल्पायुमै संसार छाडेकी आफ्नी छोरीलाई सम्झिँदा म भावशून्य हुन्छु ।


मेरो लागि सर्जक र गुरु दुवै हुनुहुन्थ्यो आमा । ‘छोराछोरीलाई दु:ख दिनु हुँदैन, माग्नु पनि हुँदैन, बरु उल्टै सहयोग गर्नुपर्छ’ भन्ने धारणा राख्ने हुनाले आमाले मसँग कहिल्यै केही माग्नुभएन । तर, आमाको मुख हेर्ने दिन म प्राय: उहाँकै इच्छा बुझेर उपहार दिने गर्थें । पाँच कक्षासम्मको औपचारिक शिक्षा लिनुभएकी उहाँको जीवनशैली स्वावलम्बी प्रकृतिको थियो । घरको कामकाज गरेरै पनि सम्पत्ति जोड्न सक्ने क्षमता उहाँमा थियो । कहिल्यै अरूका अघिल्तिर सहयोगको हात फैलाउनुभएको मैले देखिनँ । यहाँसम्म कि, उहाँले आफ्नो काजकिरिया गर्न भनेर बैंकमा केही रकम जम्मा पार्नुभएको थियो ।


छोरी गुमाएको पीडामा मैले आँसु झार्दै गर्दा आमाले मलाई सान्त्वना दिँदै भन्नुभएको थियो, ‘पृथ्वी भनेको मृत्युलोक हो । सबैले एक दिन जानैपर्छ । सम्झनामै खुसी हुन जान्नुपर्छ । दु:खी कहिल्यै हुनु हुन्न ।’ आज जब छोरीको सम्झना आउँछ, म आमाको यही वचन सम्झन्छु र मनलाई बलियो बनाउने गर्छु । दिवंगत छोरी र आमाका कपडाहरू सम्हालेरै राखेकी छु मैले । कहिलेकाहीँ अत्यास लागेका बेला ती कपडाहरू लाएर सुत्ने गर्छु ।

“चित्रकार भएपछि आमा दंग”


ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ निमा ग्याम्जो बल लामा र उनकी आमा साम्देन डोल्मा ।

स्कुल जाँदै गर्दाका दिनहरू सम्झिन्छु । म प्राय: कापीमा चित्र कोरिरहन्थें । कहिले भगवान् त कहिले रुख र पातपतिंगरका चित्र पानाका छेउछाउ हमेसा हुन्थे । यतिसम्म कि, स्कुल जान हतार–हतार भात खाइरहेका बेला पनि बायाँ हातले भने म भुइँमा कोरिरहेको हुन्थें । यी सब देखेपछि आमाले गाली गर्नुहुन्थ्यो, ‘यसरी चित्र कोर्नु हुन्न । रिन लाग्छ ।’
तर, आज म जहाँ छु, चित्रकै कारणले छु । यसमा आमाको घुमाउरो उत्प्रेरणा छ । थाङका चित्रमा हासिल गरेको ज्ञानकै कारण प्राज्ञ म भएँ । सहरमा घर ठड्याएँ । आमालाई बुढेसकालसम्म सुखले पाल्न सकें । पहाड घर सिन्धुपाल्चोकको लिसंखुमा हो, तर आमा धेरैजसो मसँग (स्वयम्भू) बस्नुभयो । बेला–बेला म आमालाई थाङकाको विषयलाई लिएर जिस्क्याउँथे । आमा बाल्यकाल सम्झेर हाँस्नुहुन्थ्यो । खुसीले रमाउनुहुन्थ्यो ।


उहाँ आँपको खुब सौखिन हुनुहुन्थ्यो । म जहाँ पुग्दा पनि उहाँलाई ताजा आँप ल्याइदिन्थें । हरेक आमा खुवाउने औंसीको दिन म उहाँको यही इच्छा पूरा गर्ने प्रयत्न गर्थें । आँपबाहेक उहाँलाई ब्रोइलर कुखुराको मासु पनि असाध्यै मन पथ्र्यो । लुगाफाटामा उहाँ खासै सोखिन हुनुहुन्नथ्यो । औंसीको दिन अरू पाहुनाहरूले लुगाफाटा ल्याउँदा पनि उहाँले सधैं ‘पर्दैन’ भन्नुहुन्थ्यो ।


आज (आइतबार) आमा बित्नुभएको ३५ औं दिन । डुक्पा रिन्पोछेको गुम्बाका आनीहरूलाई बोलाएर पूजा गरें, आमालाई सम्झें । यस पटकको औंसी आमाविहीन हुनुपर्‍यो ।

“आमाकै कारण कुलपति भएँ”


साहित्यकार एवं संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त आमा लक्ष्मी श्रेष्ठसँग गत वर्ष मातातीर्थ औंसीमा ।


सबैभन्दा मन पर्ने चाडपर्वको नाम लिनुपर्‍यो भने म सधैं आमाको मुख हेर्ने औंसी सम्झिने गर्छु । यो चाड मलाई विशिष्ट र मौलिक लाग्छ । जन्मदिने व्यक्तिको पूजन गर्ने दिनको महत्त्व अरूभन्दा भिन्न हुन्छ । यो आत्मीयता र प्रेम जोडिएको चाड हो । तर, यस पालि पहिलो चोटि शून्य–शून्य महसुस हुँदै छ । गएको मंसिर पहिलो साता आमाले हाम्रो साथ छोड्नुभयो । साढे तीन वर्षअघि बुवा बित्नुुहुँदा आमा हुनुहुन्छ भनेर मन अडिएको थियो । तर आमाले पनि छोडेर जानुभएपछि घरमा एक किसिमको सन्नाटा छाएको छ । मैले ६२ वर्षसम्म आमाको माया र आशीर्वाद पाइरहेँ, यो नै ठूलो कुरा हो । तर, आमाको माया जति भए पनि नपुग्ने रहेछ ।


आमा एकदमै विचारशील स्वभावकी हुनुहुन्थ्यो । पढाइलेखाइबाट वञ्चित तर व्यावहारिक रूपमा भने एकदमै चुस्त । आमाले बोल्दा प्रयोग गर्ने उखानटुक्का पढेलेखेकाले पनि बुझ्दैनथे । एकदम चिन्तनशील र वैचारिक हुन्थे उहाँका उखानटुक्का । आमाको त्यही स्वभाव ममा सरेको हुनुपर्छ । त्यही भएर म जे छु, आमाकै प्रेरणा ठान्छु ।


संगीत–नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपति आमाकै कारण हुन पुगेँ । साढे तीन वर्षअघि बुवा बित्नुभएको थियो । म कोरामा थिएँ । सातौं दिन मन्त्रालयबाट ‘कुलपति बनिदिनुपर्‍यो’ भनेर फोन आयो । पितृशोकमा डुबिरहेको बेला मैले ‘सक्दिनँ होला’ भनेछु । आमाले सुनिरहनुभएको रहेछ, नजिकै आएर हौसला दिनुभयो, ‘राज्यले सुुम्पिन खोजेको यो जिम्मेवारी तिम्रा बुवाको आशीर्वाद पनि हो । अघि बढ ।’ यसपछि म तेह्रौं दिनको काम सकेर चौधौं दिन काठमाडौं आएँ र पन्ध्रौं दिन प्रधानमन्त्री निवासमा शपथ लिन पुगेँ । आमासँगको अन्तिम समय अहिले पनि सम्झन्छु । म पोखरामै थिएँ । निमोनियाँका कारण आमालाई अस्पताल लगिएको थियो । मंसिर ५ गते बिहानको तीन बजे उहाँको मुटुको धडकन अचानक बन्द भयो । उहाँको एउटा इच्छा सदाका लागि अधुरै रह्यो । आमा र बुवाको ८४ वर्षमा जङकु गर्ने सपना थियो । बुवा बित्नुभएपछि आमाको भए पनि गर्ने सपना पूरा गर्ने सोचेका थियौं । त्यो पूरा हुन सकेन । आमाबुवा दुवै जना ८२ वर्षकै उमेरमा बित्नुभयो ।

प्रकाशित : वैशाख ३, २०७५ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?