१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

आ–आफ्नै भ्यानिटी भ्यान

कान्तिपुर संवाददाता

काठमाडौँ — कपिल शर्माका दिन फिरेका छन् । स्टयान्ड–अप कमेडियनका रूपमा उनी एकताका खुब छाए । तर, टीभी च्यानलसँगको विवाद र आफ्नै सहकर्मी सुनील ग्रोभरसँग झगडा गरेपछि उनको कार्यक्रम नै बन्द भयो । अहिले उनी पुन: नयाँ कार्यक्रमसहित आउन लागेका छन् । यसको प्रोमो बाहिर आइसकेको छ ।

आ–आफ्नै भ्यानिटी भ्यान

सोही कार्यक्रमका लागि कपिलले नयाँ भ्यानिटी भ्यान किनेका छन् । यसको अहिले औधी चर्चा छ । सुटिङका बेला आराम गर्न, पहिरन फेर्न, मेक–अप गर्न वा सुटिङ अवधिभर खान–बस्नका लागि यस्ता भ्यान प्रयोग गरिन्छन् । कपिलको भ्यानिटी भ्यान कुनै पाँचतारे होटलभन्दा कम नभएकाले यसबारे बढी हल्ला चलेको छ । बलिउड सेलेब्रिटीका गाडीहरू डिजाइन गर्ने व्यक्तिले नै उनको भ्यान तयार पारेका हुन् ।


किङ साइजको भ्यान बाहिरबाट जति भव्य देखिन्छ, भित्रपट्टि उत्ति नै विलासी रहेको बताइन्छ । कपिलले ट्वीटरमा पोस्ट गरेका यसका तस्बिरबाट पनि त्यो कत्तिको सुविधापूर्ण छ भन्ने अनुमान लगाउन सकिन्छ । त्यसको इन्टेरियर सानदार देखिएको छ । बलिउडमा शाहरूख खान, अक्षय कुमार, वरुण धवन, आलिया भट्ट, सोनम कपुर, हृतिक रोशन, सलमान खान र अजय देवगणका भ्यानिटी भ्यान निकै महँगा र भव्य मानिन्छन् ।


अक्षयले ‘सिंह इज ब्लिङ’ फिल्मको छायांकनका बेला बुल्गेरियाबाट भ्यान झिकाएका थिए । त्यसमा के मात्र सुविधा थिएन, मसाज गरिदिने आरामदायक कुर्सीदेखि घरकै जत्रो ठूलो बेडरुम, सम्पूर्ण सामग्रीसहितको आकर्षक भान्साकोठा, अत्याधुनिक शौचालय र बार्दलीसहितको कोठा उपलब्ध थियो । त्यो बेला उनको भ्यान देखेर सबै लोभिएका थिए ।


आलियाको भ्यानचाहिँ उनीजस्तै क्युट हुने गर्छ । रंगीचंगी रुमाल, टेडी बियर, खेलौना आदिले भ्यानभित्रका कोठा सजाइएका हुन्छन् । आलियाले सेयर गरेको एउटा तस्बिरमा उनको भ्यानमा नाइट ल्याम्प, कुसन र पोस्टरहरू देखिएका छन् । त्यो भ्यानलाई आलियाले आफ्नो दोस्रो घर बताउने गरेकी छन् ।


हृतिकको भ्यान भने हाई–टेक प्रविधियुक्त छ । फयुचरिस्टिक भ्यानको इन्टेरियरमा प्राय: नीलो रङ प्रयोग गरेको देखिन्छ । नीलै ग्लास लगाइनुको कारण के हो भने यो हृतिकको प्रिय रङ हो । त्यस्तै, अजय देवगण, सलमान र शाहरूखका भ्यान पनि लक्जरियसमध्येमा पर्छन् । यीमध्ये अजयको भ्यान अरूको भन्दा फरक छ । त्यसभित्र जिमखाना पनि छ । उनको भ्यान देख्नेहरूले त्यसलाई ‘स्ट्ेरन्ज लुकिङ’ वा ‘बियर्ड भ्यान’ भन्ने गरेका छन् ।

प्रकाशित : फाल्गुन २८, २०७४ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?