कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

‘दर्शकको उत्साह अनपेक्षित’

धरान — कुनै समय पूर्वको रंगमञ्चीय राजधानी मानिन्थ्यो धरानलाई । बिस्तारै यो सेलायो । छिटफुटबाहेक यहाँ रंगमञ्चीय गतिविधि हुन छाडे । मुलुक संघीयता कार्यान्वयनतिर तीव्र रूपमा लम्किरहेको बेला रंगभूमि एकेडेमीले धरानमा रंगमञ्च ब्यँुताउने सानो प्रयास गरेको छ ।

‘दर्शकको उत्साह अनपेक्षित’

लिम्बू समुदायको सामाजिक परिवेश र आसपासको समाज समेटेर तयार पारेको नाटक ‘इङघङ’ (सन्देश) यहाँ एक साता चल्यो । दर्शकको मनग्गे साथले निर्देशक विष्णु मोक्तान तामाङ मुग्ध बने । ‘दर्शकको यति राम्रो साथ पाउँछ भन्ने सोचेकै थिएनौं,’ तामाङले आइतबार मञ्चन सकिएको नाटकको अनुभव सुनाए, ‘पूर्वमा रंगमञ्चको राम्रो सम्भावना छ भन्ने यसले पनि पुष्टि गर्छ ।’

धरान सभागृहको हलमा माघ ९ देखि नाटक लगातार मञ्चनमा थियो । गाउँले परिवेशमा तयार पारिएको नाटकमा दर्शकहरू घरी हाँस्थे, घरी गम्भीर बन्थे । पूर्वेली लवज, संस्कृति र भेषभूषाको प्रयोग नाटकको मौलिक पक्ष थियो । एक घण्टा ४५ मिनेटको नाटकले अशिक्षा, अन्धविश्वास र छुवाछुत जस्ता घटनालाई विषयवस्तु बनाएको थियो । साथसाथै, पछिल्लो समय आधुनिक सूचना प्रविधिले नयाँ पुस्तामा पारेको सकारात्मक र नकारात्मक दुवै असरलाई नाटकले केलाउने कोसिस गरेको थियो भने लिम्बू समुदाय र आसपासका अन्य समुदायबीचको सांस्कृतिक सामाजिक सम्बन्धलाई पनि यसले पर्गेल्ने प्रयास गरेको थियो । ‘मौलिक संस्कृतिको जगेर्ना गर्नुपर्छ भन्ने सन्देशलाई फरक ढंगले उठाउने कोसिस गरेका हौं,’ निर्देशक तामाङले भने ।

निर्देशक स्वयंसहित नाटकमा दीपेन्द्रसिंह दर्नाल, प्रेसिका निरौला, हरि इवाहाङ लिम्बू, तुलसा थापा, शंकर थापा, कुमारी राई, गेभी लिम्बू, मिलन राई, निश्चल कुलुङ, उदित इवाहाङ लिम्बूले अभिनय गरेका थिए ।

‘अढाइ दशकअघि नेपाली रंगमञ्चमा धरानको चम्किलो नाम थियो,’ नाटक लेखनसमेत गरेका तामाङले भने, ‘५० को दशकदेखि खडेरी सुरु भयो । यो खडेरीलाई हटाउन रंगभूमि एकेडेमीमार्फत सानो थालनी गरेका हौं ।’

प्रकाशित : माघ १६, २०७४ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?